gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी अस्पताल निर्माणको २० प्रतिशत काम सकियाे, भारतीय प्राविधिक टोलीले गर्‍याे अनुगमन

टोपलाल अर्याल
गुल्मी, पुष ०६ । गुल्मी अस्पताल तम्घासको निर्माणकार्य २० प्रतिशत सकिएको छ । निर्माणाधीन अस्पतालको भारतीय प्राविधिक टोलीले समेत अनुगमन गरेको छ । भारतीय सरकारको पूर्ण अनुदानमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ पाल्पामार्फत आयोजना कार्यान्वयन भइरहेको छ । सोमबार भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट अजयकुमार हजारीका, हिमान्सु शर्मा र घनश्याम मित्तलसहितको टोलीले आयोजनाको अनुगमन गरेकाे छ ।

टोलीले कामको प्रगति र गुणस्तरको विषयमा प्रशंसा गरेको छ । अस्पताल निर्माणका लागि स्वच्छन्द–बानियाँ जेभी मकवानपुर हेटौँडाले निर्माणको सम्झौता गरेको छ । अस्पतालको काम दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण सुरु भएको साढे पाँच महिनामा अहिलेसम्म २०.२ प्रतिशत काम सकिएको सुपरिवेक्षण गरिरहेका भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट (कन्स्ट्रक्सन सुपरभिजन एक्सपर्ट) इन्जिनियर अजयकुमार गुप्ताले जानकारी दिए ।

२५ करोड ४१ लाखमा निर्माण सम्झौता

अहिले अस्पतालको राफ्ट फाउन्डेसनको ढलानको काम सकिएको छ भने सियरवाल र पिल्लर निर्माणको काम भइरहेको छ । स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार ९ सय ६४ रुपैयाँको लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ । सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने विश्वास निर्माण कम्पनीले लिएको छ ।

कम्पनीका साइड इन्चार्ज कृष्ण घिमिरेले सम्झौताको समयअगावै सबै काम सक्ने गरी धमाधम काम भइरहेको बताए । उनले जिल्लाको सबैभन्दा ठूलो अस्पतालसँग जनताको आशा र विश्वास भएकाले रातदिन गरेर काम भइरहेको बताए । ‘हामीले अरू योजनाको काम पनि समयमै गरिरहेका छौँ । गुल्मी अस्पताल सम्झौता नसकिँदै निर्माण गरेर देखाउँछौँ,’ घिमिरेले भने, ‘काममा तीव्रता र गुणस्तरीयतामा पनि ध्यान पुर्‍याएका छौँ ।’

गुल्मी अस्पताल ०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको हो । तर, भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन । यस अस्पतालमा उपचार गर्न गुल्मीसहित अर्घाखाँची र बाग्लुङका नागरिकसमेत आउने गर्छन् ।

लामो समयपछि जिल्लामा सुविधासम्पन्न आधुनिक अस्पताल निर्माणको कामले सार्थकता पाएको छ । प्रदेश स्तरको साढे ५ तल्लाको नयाँ भवनमा आइसियू, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था हुनेछ । त्यस्तै भवन निर्माणपश्चात् प्रसूति, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछ ।

गुल्मी अस्पतालमा अहिले अत्याधुनिक भवन मात्रै निर्माण भइरहेको छैन, आइसियू, एचडियू र अक्सिजन प्लान्टलगायतका महत्वपूर्ण सेवा विस्तारको काम पनि भइरहेकाले नागरिकमा स्वास्थ्यप्रतिको आशा बढेको युवा नेता ओम कार्कीले बताए ।

अस्पतालको नयाँ संरचना र सेवा विस्तारले उपचारकै कारण बसाइँ सर्ने र केही जटिल समस्या आउनेबित्तिकै पाल्पा, बुटवल र काठमाडाैं दौडनुपर्ने बाध्यतामा केही हदसम्म कमी आउनेमा गुल्मेली नागरिक आशावादी छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D