gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी अस्पतालमै एच.आई.भी.संक्रमितको भाइरल लोडको नमुना संकलन हुने

टोपलाल अर्याल
गुल्मी, २२ बैशाख । गुल्मी अस्पतालले एचआईभी र एड्स रोगबाट संक्रमित बिरामीहरुले भोगिरहेको कठिनाईलाई मध्येनजर गर्दै गुल्मी अस्पतालको प्रयोगशालामै संक्रमित बिरामीहरुको लागि भाईरल लोड परीक्षण नमूना संकलन कार्यको सुरुवात गरेको छ । जिल्लाभरका एचआईभी संक्रमितलाई परामर्श तथा उपचारको लागि गुल्मी अस्पतालमा छुट्टै ART (Antiretroviral Therapy) सेन्टर रहेको छ ।

संक्रमित बिरामीहरूले ART सेन्टरबाट एचआईभी प्रतिरोधात्मक औषधी सेवन गरेपश्चात औषधिले सकारात्मक प्रभाव कायम गरे वा नगरेको थाहा पाउन भाईरल लोड परीक्षण गर्ने गरिन्छ । भाईरल लोड परीक्षण गराउनकै लागि रगतको नमूना दिन संक्रमित बिरामीहरू जिल्लादेखि बुटवल पुग्नुपर्ने बाध्यता रहेको थियो । बुटवलमा नमुना संकलन गरेपछि परीक्षणको लागि सो नमूना काठमाडौँ पठाईने गर्दथ्यो । जिल्लामा रहेका बिरामीहरूको भौगोलिक विकटता, विपन्नता, संक्रमित खुल्न नचाहने लगायतका कारण तथा बुटवल आवत–जावतमा लाग्ने समय, यातायात तथा होटल बसोबास खर्च लगायतका कारणले लागत वृद्धि भई उपचारमा असर परिरहेको थियो । जसका कारण जिल्लामा नमुना संकलन थालिएको गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

सुविधा पाउँदा नी परिक्षण गर्दैनन्

विभिन्न संघसंस्थाहरुले एचआईभी भाईरल लोड परीक्षण प्रयोजनार्थ संक्रमित बिरामीलाई आउने–जाने खर्च, होटल र बसोबास खर्च लगायत सुबिधा उपलब्ध गराउदा पनि संक्रमित बिरामीहरु परीक्षण नमुना दिन बुटवल जाँदैनन् । जसका कारण बिरामीहरुको एचआईभी भाईरसको भार अनुरुपको उचित उपचार विधि र अन्य परीक्षण अबलम्बन गर्न समस्या सिर्जना भैरहेको गुल्मी अस्पताmका प्रमुख डाक्टर पच्याले बताए । अब जिल्ला अस्पतालमै सो सुबिधा उपलब्ध भएकोले संक्रमित विरामीहरुलाई सहज भएको छ । जसका कारण उपचारको प्रभावकारिता पनि बढेको छ । एचआईभीर एड्स संक्रमितलाई उचित औषधोपचारको व्यवस्था गरी संक्रमितको मृत्युदर अपेक्षित रुपमा घटाउनु यो परीक्षणको मुख्य लक्ष्य रहेको अस्पतालले जनाएको छ ।

प्रथम चरणको नतिजा सतप्रतिशत

गुल्मी अस्पतालले एचआईभीको क्षेत्रमा कार्य गर्ने जिवन प्लस संस्थासंगको सहकार्यमा हाल गुल्मी अस्पताल प्रयोगशालामा एचआईभी संक्रमित बिरामीहरुको सही विधिवाट नमूना संकलन गरी भाईरल लोड परीक्षण प्रयोजनार्थ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने ब्यवस्था मिलाएको अस्पतालको प्रयोगशाला प्रमुख लक्ष्मण पन्थीले जानकारी दिए । गत ९ मङ्सिरमा ट्रायलको रुपमा ३६ जना एचआईभी संक्रमित बिरामीहरुको नमूना संकलन गरि गुल्मी अस्पताल प्रयोगशालाले यो सेवाको सुरुवात गरेको थियो । प्रथम चरणको नतिजा सतप्रतिशत उपलब्धीमुलक आएपछि यो सेवालाई प्रयोगशालाले निरन्तरता दिएको पन्थीले बताए । २०७८ मङ्सिर महिनादेखि हालसम्म गुल्मी अस्पतालबाट एक सय ३६ जना एचआईभी संक्रमितले यो सुविधा लिएका छन् ।

उपचार र परीक्षणमा चुनौती

जिल्लामा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय, विभिन्न सरकारी तथा सामुदायिक संघ–संस्थाहरुले संक्रमितको उपचार र परिक्षणको लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता देखिएको छ । जसमा जोखिमपूर्ण क्षेत्र, समूह र उनीहरुको सम्बन्ध रहेकाहरूमा एचआईभी जोखिम न्यूनीकरण गराउने, पहिचान हुन नसकेको संक्रमितहरुको पहिचान गर्ने, प्रचारात्मक र प्रवद्र्धधनात्मक तथा निरोधात्मक कार्यहरुबाट एचआईभी र एड्सको रोकथाम गर्ने, एचआईभी संक्रमितको पहिचानको लागी सघन स्क्रिनिंग टेष्टको व्यवस्था गर्नुपर्ने एचआइभीको क्षेत्रमा काम गरिरहेको हाम्रो जीवन प्लसको प्रमुख सावित्रा ज्ञवालीले जोड दिइन् । संक्रमितको पहिचान गर्ने, क्षयरोग र हेपाटाइटिस जस्ता रोगहरुसंग एचआईभीको सहसंक्रमण पहिचान, परीक्षण उपचार र पोषणमा पहुँच बढाउने, यौनजन्य एचआईभी संक्रमण विस्तार रोक्नुपर्ने उनले बताइन् ।

समुदायमा खुल्न चाहँदैनन संक्रमित

एचआईभी उपचारमा प्रभावकारीता कायम गर्ने, संक्रमित आमाबाट नवजात शिशुमा संक्रमण हुन नदिन पि.एम.टी.सिटी र प्रोफाल्याक्सिस सेवा प्रदान गरिरहेता पनि एचआईभी संक्रमित तथा अन्य क्षेत्रमा संक्रमितप्रतिको नकारात्मक धारणामा अपेक्षित सुधार आउन सकेको छैन । जसका कारण संक्रमितहरु समाजमा खुल्न नचाहने लगायतका कारणले गर्दा अझैपनि केही एचआईभी र एड्स संक्रमितलाई नियमित एन्टी रेट्रोभाईरलथेरापी र भाईरल लोड परीक्षणमा ल्याउनु चुनौतीपूर्ण रहेको गुल्मी अस्पतालका एआरटी काउन्सिलर पुष्कर घिमिरेले बताए ।

आर्थिक अभावले गर्दा केही एचआईभी र एड्स संक्रमित बिरामीहरू जिल्लामै परीक्षण सुबिधा तथा उपचारको उपलब्धता भएपनि एआरटी सेन्टर सम्म पुग्न सकेका छैनन । यस विषयमा सम्बन्धित स्थानीय तहले बिशेष चासो दिनुपर्ने घिमिरेको भनाई छ । घिमिरेका अनुसार गुल्मी अस्पतालले एचआईभी संक्रमितलाई निशुल्क क्षयरोग, हेपाटाइटिस लगायत अन्य रोगसंग हुने सहसंक्रमण पहिचानको लागि आवश्यक परीक्षण र संक्रमण देखिएमा उपचारको उचित व्यवस्था समेत मिलाएको छ । प्रयोगशालाले एचआईभी संक्रमित बिरामीहरुमा हेपाटाइटिस–सीको सहसंक्रमण देखिएमा एआरटी सेन्टरसंग समन्वय गरी निशुल्क हेपाटाइटिस–सीको भाईरल लोड परीक्षणका लागि टेकुमा पठाउने ब्यवस्था गरीएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D