Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा: ३ बर्षमा २ सय ४९ आत्महत्या - Gulminews

गुल्मीमा: ३ बर्षमा २ सय ४९ आत्महत्या

कहिले गम्भिर बन्छन्, गुल्मीका स्थानीय सरकार

टोपलाल अर्याल
गुल्मी, २ असोज । गुल्मीको इस्मा गाउँपालिका ४ कल्यारका नौ बर्षीय बालक संगम खड्काले बिहिबार बेलुका आत्महत्या गरे । बेलुकाको खानापछि संगम सुत्न गए । परिवार छोरा सुत्न गएकोमा ढुक्क थिए । तर, छोरा झुण्डिएका रहेछन् । बुबा–आमा झुण्डिएकोे देख्ने बित्तिकै पासो काटेपछि बचाउन सकेनन् । हुर्किएको एक्लो छोरा झुण्डिएला भनेर परिवारले कल्पना गर्न कुरै भएन । अपत्यारिलो दुखद घटनाले खड्का परिवार शोकमा डुवेको छ । ‘बिहानैबाट अलिअलि रिसाएको रैछ । त्यो केटाकेटीको सामान्य बानीनै भयो,’बुबा नारायण खड्काले भने,‘एक्कासी सुत्न कोठामा पुग्दा झुण्डिएको देँखे ।’ गत ९ भदौमा रेसुंगा नगरपालिका १ की १३ बर्षीया रेजिना कुवंरले पनि घरमै झुण्डिएर आत्महत्या गरिन् । सामान्य बिबाद थेग्न नसकेपछि भएको आत्महत्याले परिवार बिक्षिप्त छ ।

आत्महत्या गर्ने यी दुई बालबालिका गुल्मीका पछिल्लो उदाहरण हुन् । गुल्मीमा तीन बर्षमा एक सय ७३ पुरुष र ७६ महिला गरेर दुई सय ४९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांक सवै भन्दा बढि आर्थिक बर्ष ०७७÷०७८ सालमा ६९ पुरुष र ३० महिला गरेर ९९ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष ०७६÷०७७ मा पुरुष ५० र २९ महिला गरेर ७९ जनाले आत्महत्या गरेको पाइएको छ । गत बर्ष ५४ पुरुष र १७ महिला गरेर ७१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । झुण्डी आत्महत्या, आत्महत्या दुरुत्साहन, विष सेवन गरेर, पानीमा डुबेर र हाम फालेर मानिसहरुले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै तीन बर्षमा दुई सय ११ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

पालिका अनुसार आत्महत्याको स्थिती

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सवैभन्दा बढि आत्महत्या भएको पाइएको छ । तीन बर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । त्यस्तै रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवति र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६ र कालिगण्डकी गाउँपालिकामा सात जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।

बृद्ध पुरुषको मृत्यु बढि देखियो

गत १० साउनमा मालिका गाउँपालिका ८ का ७१ बर्षीय अमृत बहादुर कामीले घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे । कालिगण्डकी गाउँपालिका ५ का बृद्ध दम्पतीले केहि समय अगाडी नयाँ वर्षकै दिन एउटै पासोमा झुण्डिएर आत्महत्या गरे । फोक्सिङका ७० वर्षीय ओमबहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले आत्महत्या गरेका हुन् । दुवैजना घरनजिकैको खनियाँको रुखमा ओमबहादुरले प्रयोग गर्ने गलबन्दीमा झुन्डिएर आत्महत्या गरेका थिए । खास कारण पत्ता लगाउने तर्फ कोहि लागेनन् । गुल्मी प्रहरीले दिएको तीन बर्षे आत्महत्याको तथ्यांकका आधारमा सवैभन्दा बढि पुरुषले आत्महत्या गर्ने गरेको पाइएको छ । महिला भन्दा तीन गुणाबढि पुरुषले आत्महत्या गरेका छन् । त्यसमा पनि ६० बर्ष माथिका बृद्ध पुरुषले बढि आत्महत्या गरेका छन् । तीन बर्षे तथ्यांक हेर्दा ६० बर्ष माथिका ४२ पुरुष र नौ महिलाले आत्महत्या गरेका छन् । ५० बर्षदेखि ६० बर्ष उमेर समुहका ३६ पुरुष र नौ महिला, ४० देखि ५० उमेर समुहमा २४ पुरुष र छ महिला, ३० देखि ४० उमेर समुहका २२ पुरुष र १० महिलाले आत्महत्या गरेका छन् । त्यस्तै २० देखि ३० बर्षका २८ पुरुष र १७ महिला तथा २० बर्षसम्मको उमेर समुहमा पुरुषभन्दा बढि महिलाले आत्महत्या गरेको पाइएको छ । यो उमेर समुहका २१ पुरुष र २५ महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।

बिचमै सेलाउँछन्, अभियान

दुई बर्ष अगाडी जिल्ला प्रशासन कार्यालय गुल्मीले आत्महत्या रोकथामको प्रयास थाले पनि निरन्तरता पाएन । तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीको संयोजकत्वमा, प्रहरी, नागरिक समाज, नगरपालिका, गैरसरकारी संस्थाका प्रतिनिधीसहितको समिति बनाएर आत्महत्याको पालिकागत तथ्यांक संकलन र बिश्लेषणको कामको योजना बनाए पनि शर्माको सरुवासंगै कामले निरन्तरता पाएन । समितिका सदस्य तथा रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकर प्रसाद गौतमले आफुले नगरको अवस्था बुझाएपनि अरु पालिकाको कारण अभियान रोकिएको बताए ।

सिडिओको सरुवापछि केहि काम नभएका कारण आफुले पनि कुनै वास्था नगरेको गौतमले बताए । जिल्लामा आत्महत्याको अवस्था विकराल बन्दा स्थानीय सरकार मौन छन् । संख्याका दृष्टिकोणले आत्महत्या गर्नेहरुको अवस्था निकै भयाबह बनिरहेका छ । तर, स्थानीय सरकारका नीति तथा कार्यक्रमले यो अवस्था देखेको छैन् । नेता र कार्यालय प्रमुखहरुको मुडले हुने कार्यक्रमहरुले निरन्तरता पाउन गाह्रो छ । कार्यालय प्रमुख फेँरिदा वा नेतृत्व परिवर्तनसंगै अर्कोले अभियानलाई निरन्तरता नदिने समस्या नेपालमा पहिलो होइन । जिल्ला प्रहरी कार्यालयको एक्लो प्रयासले मात्रै कार्यक्रम फलदायी नहुने भएकाले नागरिक अभियान तथा स्थानीय तहका योजना र बजेट जोडिनु आवश्यक रहेको नागरिक अगुवा गुणानिधी शर्माले बताए ।

मानसिक स्वास्थ्य सचेतनाको खाँचो

लुम्बिनी प्रादेशिक अस्पतालका मनोरोग बिशेषज्ञ डाक्टर असिम रेग्मीले आत्महत्या रोकथाम गर्न मानसिक स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । उनले आत्महत्याको ७० प्रतिशत कारण मानसिक समस्या भएकाले घटना हुँदाको एक कारणले मात्रै आत्महत्या नहुने बताए । केहि समय पहिलेसम्म मानसिक रोगको बेलैमा पहिचान र उपचार नहुने तथा दिर्घ रोगका आत्महत्या गर्नेहरु बढ्ने गरेको भएपछि समय अनुसार प्रवृति परिवर्तन हुँदै गएको रेग्मीले बताए । पहिले मानसिक समस्या उमेर ढल्किएपछि हुने भएपनि अहिले कम उमेरकै पनि डिप्रेशनमा हुने भएकाले उमेर र रोग मात्रै हेरेर आत्महत्याको बिश्लेषण नहुने मनोरोग बिशेषज्ञ रेग्मीको भनाई छ । उनले मानसिक स्वास्थ्य सचेतना, बालबालिको आनाबानीमा बिचार गर्ने र निराश कम भए आत्महत्याकाको समस्याबाट जोगिन सकिने बताए ।

प्रहरीको सचेतना अभियान

जिल्ला प्रहरी कार्यालय गुल्मीले तम्घासमा बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा जिल्ला जिल्ला प्रशासन कार्यालयसहितका कार्यालय, सुरक्षा निकाय, बिद्यालय तथा क्याम्पस, नागरिक समाज, महिला संजाल र पत्रकारहरुको उपस्थितीमा प्रभातफेरि तथा जनचेतनामुलक प्रशिक्षण सभा सम्पन्न भएको थियो । तम्घासको बालमन्दिरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्डबिक्रम पौडेलले मुुल्यवान जीवनको सदुपयोगको लागि कसैले पनि आत्महत्या गर्न नहुनेमा जोड दिए । उनले एकजनाले आत्महत्या गर्दा परिवार, समुदायसंगै राज्यलाई समेत घाटा लाग्ने भएकाले आत्महत्याको समस्या न्यूनिकरणमा सवैको पहल र सहयोग आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहालले अहिले फ्रन्ट लाइनमा प्रहरी देखिएपनि सवैलाई अभियानको अपनत्व महसुस हुनुपर्नेमा जोड दिए । आत्महत्याका लागि विभिन्न तत्वहरुको आफ्नै भुमिका हुने भएकाले रोकथामको लागि गाउँगाउँमा जनचेनामुलक अभियान संचालन गर्ने दाहालले बताए । कार्यक्रममा रेसुंगा नगरपालिका ४ का वडाध्यक्ष लिलाधार आचार्यले प्रहरीको आत्महत्या रोकथामको अभियानमा नगरपालिकाको पूर्ण सर्मथन र सहयोग हुने बताए । कार्यक्रममा गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले आत्महत्या रोकथामको उपाय र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले आत्महत्याको विश्व, नेपाल र गुल्मीका अवस्थाको बारेमा सरोकारवालालाई जानकारी गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D