अनिल खत्री
६ पुस, गुल्मी । गुल्मी जिल्लामा बिद्यार्थीलाई कोरोना कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
जिल्ला स्थित १२ वटा स्थानीय तहको समन्वयमा तोकिएको खोप केन्द्रमा लक्षीत उमेर समूहका बालबालिकालाई कोरोनाबिरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताए । जिल्लामा हाल ३० हजार डोज खोप लक्षीत उमेर समूहका बालबालिकालाई आएको आचार्यले बताए ।
जिल्ला भर लक्षीत उमेर समूहका बिद्यार्थीहरु ३३ हजार रहेका छन् । कोरोनाविरुद्धको खोप लगाउन पाउदा बिद्यार्थीहरु उत्साहित भएका छन् । लामो समयको प्रतिक्षा पछि खोप लगाउन पाउदा बिद्यार्थीहरुले पठनपाठनमा सहजता हुने बिद्यार्थीहरको भनाई छ । बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप पुस ८ गतेसम्म दिइने भएको छ ।
पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइनेछ । जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाकाले बजार भित्रका बिद्यालयहरुलाई हाट बजारको भवनमा खोप लगाउने व्यवस्था मिलाएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए ।
बजार बाहिरका बिद्यालयहरुमा भने नजिकैको तोकिएको खोप केन्द्रहरुबाट खेप दिने व्यवस्था मिलाइएको छ । जिल्लामा हालसम्म बिभिन्न चरणमा पहिलो मात्राको खोप लाउने संख्या १ लाख ३५ हजार ६४६ रहेको छ । दोस्रो मात्राको खोप लगाउनेको संख्या ६२ हजार ४२१ रहेको छ । हाल जिल्लामा ८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।