सन्तोष महतारा
गुल्मी, १२ माघ । गुल्मीमा सिटामाेल लगायतका औषधीकाे अभाव नभएको पाइएको छ । काेराेना भाइरसकाे संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर बुधबार गुल्मीमा निजि औषधी पसलहरुकाे अनुगमन गर्ने क्रममा सिटामाेल लगायतका औषधीकाे अभाव नभएको पाइएको हो ।
जिल्लास्थित निजि औषधी पसलहरुकाे प्रतिनिधि रुपमा गरिएको अनुगमनमा सिटामाेल लगायतका औषधीहरुकाे अभाव नभएको पाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पाैडेलले बताए । अनुगमन गरिएका औषधी पसलहरुमा औषधीहरुकाे अभाव नभएको प्रमुख जिल्ला अधिकारी पाैडेलले जानकारी दिए । आउने दिनमा सिटामाेल लगायतका औषधीहरुकाे अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गरेर जिल्लास्थित औषधी व्यवसायी संघसँग समन्वय भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका छन् ।
गुल्मी अस्पतालमा पनि कुनै औषधीकाे अभाव नभएको अस्पतालका डाक्टर उत्तम पच्याले प्रमुख जिल्ला अधिकारी पाैडेललाई जानकारी गराएका थिए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गाेपाल बहादुर कार्कीले जिल्लामा औषधी अभाव नदेखिएको बताए । अनुगमनको क्रममा औषधीहरुकाे अभाव नदेखिए पनि जिल्लामा पर्याप्त मात्रामा औषधी भने नभएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी कार्कीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पाैडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गाेपालचन्द्र भट्टराई, गुल्मी अस्पतालका डाक्टर उत्तम पच्या, जिल्ला जनस्वास्थ्य कार्यालयका गाेपाल बहादुर कार्की र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु सहितको समूहद्वारा जिल्ला स्थित निजि औषधी पसलमा अनुगमन गरिएको हो ।
गुल्मीमा निरन्तर काेराेनाकाे संक्रमण दर बढिरहेको छ । बुधवार मात्र १ सय १५ जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन् । जिल्लामा ४ सय ७६ जना काेराेना सक्रिय संक्रमित पुगेका छन् । जिल्लामा बुधबार परिक्षण गरिएका मध्ये झण्डै ६४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।