सन्तोष महतारा
गुल्मी, २५ पुष । लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे कार्यालय उद्घाटन गरेकी छन् ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकाे कार्यालय गुल्मीको सदरमुकाम तम्घासमा मन्त्री रायमाझीले कार्यालय तम्घासमा उद्घाटन गरेकी हुन् ।
कार्यालयकाे उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री रायमाझीले कृषक र पशुपालककाे चाहाना अनुरुप आफुहरुले कार्यक्रम अगाडि बढाउने बताइन् । “सरकारले काम गरेन भनेर टिप्पणी गर्नुको सट्टा सरकारले यस्ता काम गर्नुपर्छ भनेर सुझाव दिनुस् ।” मन्त्री रायमाझीले भनिन्, “हामी सधैं कृषक र पशुपालककाे साथमा छौं ।”
कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले कृषकहरुलाई उत्पादन गर्न आग्रह गर्दै बजारीकरणकाे कुनै समस्या नहुने बताए । कृषि र पशुका विभिन्न कार्यक्रम प्रदेश आफैंले छुट्टाउने कुरामा असन्तुष्टि जनाउँदै नगरप्रमुख भुसालले स्थानीय तह हुनुकाे अर्थकाे लागि स्थानीय स्तरबाटै याेजना बाँडफाँड गर्न आवश्यक रहेको बताए ।
नगरपालिका प्रमुख भुसालले कृषि र पशु सम्बन्धि विज्ञ कर्मचारी भएमा मात्र कार्यालय स्थापनाले सार्थकता पाउने उनले बताए ।
कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाैडेलले कृषि र पशुपालन नेपालको मुख्य आधार भएको बताए । स्थानीय तहसँग र त्यहाँ भएका प्राविधिक सँग मिलेर काम गर्न कार्यालयलाई आग्रह गरे । सरकारी कार्यालयकाे निरिक्षण गर्दा पहिलेकाे तुलनामा केही सुधार भएपनि कार्यालयबाट जनमूखी, जनमैत्री र पारदर्शिता ढङ्गबाट हुनुपर्ने प्रमुख जिल्ला अधिकारी पाैडलले बताए । उनले उत्पादन गर्नेलाई मात्र अनुदान दिन आग्रह समेत गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अशाेक थापाले आफुहरुले निकै लामाे प्रयासपछि मात्र कार्यालय गुल्मीमा स्थापना गर्न सफल रहेको बताए । थापाले कृषक र पशुपालकहरु सानो याेजनाकाे लागि पनि पाल्पा पुग्नुपर्ने बाध्यता रहेकोमा त्यसलाई अन्त्य गर्न गरेको अथक प्रयासले केही ढिला भएपनि सार्थकता पाएकोमा सबै कृषक र पशुपालकलाई बधाई दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका सह-सचिव छवि पाण्डेले तल्लो तहका कृषक र पशुपालकलाई घरदैलोमा पुगेर सेवा दिएमा मात्र संघीयताको अर्थ हुने बताए । कार्यक्रममा अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पनि मनतब्य राखेका थिए ।
यसअघि पाल्पाबाट सेवा दिदै आएको उक्त कार्यालय गुल्मीमा स्थापना भएपछि अब गुल्मीका कृषक र पशुपालक लाभान्वित हुने छन् । यसवर्ष यश कार्यालयबाट करिब ७ करोड रुपैयाँ बराबरकाे बजेटमा प्रशासनिक, कृषि र पशु सम्बन्धि कार्यक्रम हुने छन् । गुल्मीमा कार्यालय स्थापना कार्यक्रमकाे अध्यक्षता जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख लक्ष्मण पराजुलीकाे रहेको थियोे । गुल्मीमा यस कार्यालय स्थापना भएपछि अब पशु सम्बन्धिकाे कामको लागि पाल्पा जानुपर्ने बाध्यताकाे अन्त्य भएको छ । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित सराेकारवालाहरुकाे उपस्थिति रहेको थियो ।
लुम्बिनी प्रदेशका तीन जिल्ला बाहेक अनेत्र जिल्लामा अहिले विज्ञ केन्द्रकाे कार्यालय स्थापना भइसकेको छ ।