gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा पछिल्लो ८ महिनामै झन्डै १०० जना हराए, ७८ जना अझै भेटिएनन्

हुमाकान्त पोखरेल
०९ चैत, गुल्मी । रेसुङ्गा नगरपालिका १२ की २७ बर्षिया सकुन्तला घर्तीका श्रीमान रोजगारीका लागि विदेशमा छन् । भएका एक छोरालाई पनि घरमै छोडी फागुन १४ गते सकुन्तला घरबाट हिडिन् । परिवारका सदस्यहरु २ दिनसम्म पनि उनको आशामा बस्दा समेत सकुन्तला आइनन् । अन्तत देवर राम बहादुर घर्तीले चैत १६ गते प्रहरीमा भाउजु हराएको उजुरी दिए ।

रुरु गाउँपालिका ५ बम्घाकी २७ बर्षिया हेमा राना चैत १ गते कपडा धुन भन्दै घरबाट हिडिन् । हेमा आउने आशामा परिवारका सबै सदस्यहरु पर्खेर बसे तर न उनी आइन, नत कपडा नै आए । अन्तत ४ दिनपछि उनकी सासुआमा यममाया रानाले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएको उजुरी दिइन् । रेसुङ्गा नगरपालिका ८ का १५ बर्षिया दिपक खनाल पुस २५ गते घरबाटै हराए । सोहि दिन नै आमा पार्वती खनालले जिल्ला प्रहरी चौकिमा छोरा हराएकोले खोजि गरिदिन भन्दै उजुरी दिइन् ।

साउनदेखि फागुनसम्म मात्रै ९८ जना हराए
जिल्ला प्रहरी कार्यालय गुल्मीमा यसैगरि मानिस हराएका उजुरीमा बृद्धि हुदँै गएको छ । आर्थिक बर्ष २०७४÷७५ को पछिल्लो आठ महिनामा मात्रै ९८ जना हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हराएकाहरुमध्ये सबैभन्दा धेरै महिला ६८ जना छन् । जुन कुल सङ्ख्याको ६९.३८ प्रतिशत हो । बालक सात जना र बालिका १५ जना रहेको महिला तथा बालबालिका सेलकी झरना परियारले जानकारी दिइन् ।

त्यस्तै पुरुष नौ जना हराएका छन् । हराएका कुल ९८ जनामध्ये २० जना फेला परिसकेका छन् भने ७८ जना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हराएकामध्ये सबैभन्दा धेरै महिला ६८ जना छन् । ति मध्ये पनि १२ जना फेला परेको र अझै ५४ जना पत्ता लाग्न नसकेको महिला तथा बालबालिका सेलकी परियारले बताइन् ।

त्यस्तै साउनदेखि फागुनसम्म सातजना बालक हराएका छन् । जसमध्ये एकजना फेला परेका छन् भने छ जना सम्पर्कमा आउन सकेका छैनन् । बालिका पनि १५ जना हराएको तथ्याङ्क प्रहरी कार्यालयमा छ । जसमध्ये ५ जना भेटिएको र १० जना सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै साउन महिनामा १९ हराएका छन् । जसमध्ये महिला नौ जना, बालक चार जना, बालिका र पुरुष तिन÷तिनजना रहेका छन् । हराएकामध्ये हालसम्म महिला एक र बालक एक गरी दुईजना मात्र भेटिएका छन् । बाँकी १७ जना सम्पर्क बाहिर छन् । सबैभन्दा थोरै पुष महिनामा छ जना हराएका छन् । हराएका सबै महिला छन् । जसमध्ये एकजना भेटिएको बाँकि पाचँजना सम्पर्क बाहिर छन् । त्यस्तै भदौमा १० जना हराएकोमा दुईजना मात्र भेटिएका छन् । बाँकि आठजना अझैसम्म पनि भेटिएका छैनन् ।

असौजमा नौ महिला, तिन बालिका र एक पुरुष गरी १३ जना हराएका छन् । जसमध्ये पाचँ महिला र एक बालिका भेटिएका छन् भने सातजना अझै हराइरहेका छन् । कार्तिकमा छ महिला, तिन पुरुष, बालक र बालिका एक÷एकजना गरी ११ जना हराएका छन् । तिमध्ये एकजना सम्पर्कमा आएको र बाँकि १२ जना सम्पर्कबिहिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंसिरमा नौ जना महिला र एक पुरुष गरी १० जना हराए । जसमध्ये पुरुष र महिला एक÷ एकजना भेटिए भने बाँकि आठजना अझै हराइरहेका छन् ।

माघ महिनामा १२ जना महिला, दुई बालिका र एक बालक गरी १५ जना हराए । जसमध्ये महिला र बालक एक÷एक जना भेटिए भने १३ जना अझैसम्म पनि सम्पर्कमा छैनन् । त्यस्तै फागनुमा १० जना महिला, बालिका तिनजना र बालक एकजना गरी १४ जना हराए । जसमध्ये बालिका दुई र महिला एकजना भेटिएपनि बाँकि ११ जना अझैसम्म पनि सम्पर्कमा नआएको महिला तथा बालबालिका सेलकी झरना परियारले बताइन् । पुष, माघ र फागुन महिनामा एउटा पनि पुरुष हराएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छैन् ।

०७२÷७३ मा ७९ र ०७३÷०७४ मा ९० जना हराए
आर्थिक बर्ष ०७२÷७३ मा कुल ७९ जना मानिस हराएका छन् । जसमध्ये महिला ६२ जना, बालक ११ जना र बालिका छ जना छन् । हराएकामध्ये महिला २५, बालक र बालिका पाचँ÷पाचँ जना गरी ३५ जना सम्पर्कमा आएका छन् भने ४४ जना सम्पर्कबाहिर छन् । हराउनेहरुको सङ्ख्या आर्थिक बर्ष ०७३÷७४ मा बृद्धि भई ९० पुगेको छ । जन अघिल्लो आर्थिक बर्षको भन्दा ११ ले बढी हो । ०७३÷७४ मा महिला ७०, बालिका ११ र बालक नौ जना हराएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । जसध्ये महिला १२, बालिका पाँच र बालक चार जनामात्रै भेटिएका छन् । बाँकि ७९ जना अझैसम्म पनि सम्पर्कबाहिर रहेको परियारले बताइन् ।

महिलाहरु १६ देखि २५ बर्षसम्मका बढी हराए
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी महिला हराएका छन् । तिमध्ये १६ देखि २५ बर्ष उमेर समूहका सबभन्दा बढी हराउने गरेको पाइएको छ । विवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनु महिला हराउनुको प्रमुख कारण बनेको प्रहरी सहायक निरिक्षक सत्य यादवले बताए । त्यस्तै अधिकाशं पुरुषहरु रोजगारीको लागि विभिन्न ठाँउमा जाने र श्रीमती अर्कैसँग जानुले पनि महिला हराउनेको सङ्ख्यामा बृद्धि भएको हो । त्यसभन्दा बाहिर शारीरिक अपाङ्ग, मानसिक असन्तुलन, घरपरिवारको झगडा, सामाजिक अपहेलना आदि कारणले गर्दा पनि मानिसहरु हराउने यादवले बताए ।

भेटिएको जानकारी प्रहरीमा आउदैन
मानिस हराएको उजुरी प्रहरीमा आएपनि भेटिएपछि भने कुनै जानकारी नआउनुले पनि हराउनेहरुको सङ्ख्यामा बृद्धि भएको प्रहरीको निष्कर्ष छ । अहिले प्रहरी कार्यालयमा भागि विवाह, श्रीमान–श्रीमतीको झगडा लगायतका कारणले घर छोडेपछि पनि हराएको भन्दै उजुरी आउछन् । तर मानिस भेटिएपछि त्यसको सूचना प्रहरीमा आउदैनन् । ‘प्रक्रिया र ब्यवहारिकता हेरेर आएका निवेदन प्रहरीले दर्ता गर्नैपर्छ ।’ जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर डाक्टर प्रसाद चौधरीले भने, ‘हराएकामध्ये धेरै भेटिएका छन्, तर प्रहरीमा जानकारी नहुँदा समस्या परेको छ ।’

सबैमा राष्ट्रियताको भाव जागृत गराउनुपर्छ
रेसुङ्गा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख हरी बहादुर खत्रीले हराउने मानिसहरुको सङ्ख्यामा कम गर्न चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्वदेशमै रोजगारको सिर्जना र जनतामा राष्ट्रियताको भाव जागृत गराउन सकेमा पनि बैदेशिक रोजगार कम हुने र त्यसले हराउने मानिसको सङ्ख्यामा कम हुने उनको भनाई छ । ‘स्वदेशी उत्पादनलाई बढावा दिने, सरकारी निकयाबाट कृषि जस्ता शिर्षकमा अनुदान र प्रोत्साहनको ब्यवस्था, जनचेतामा बृद्धि आदि जस्ता काम गरेमा रोजगारी सिर्जना हुन्छ ।’ उनले भने, ‘यसो भएसँगै परिवारमा मेलमिलाप हुन्छ र हराउनेहरुको सङ्ख्यालाई कम गर्न सकिन्छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D