अनिल खत्री
२२ जेठ, गुल्मी । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढदै गएको छ । भारतबाट आउनेहरुलाई तत्कालै आफनो घरमा जान नदिई बिभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइनमा १४ दिन बिताएपछि मात्रै आफनो घरमा जान पाइने नियम बनाइएको छ ।
भारतबाट आउनेको संख्या बृद्धिसँगै जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको सर्तकतालाई मध्यनजर राखेर क्वारेन्टाइनमा बसेर कतिपयले बिभिन्न ज्ञानगुनका कितावहरु पढने, कतिपयले खेलकुदहरु गर्ने जस्ता कार्य गरेर समय बिताउने गरेका छन् ।
तर गुल्मी एउटा स्थानीय तहको क्वारेन्टाइनमा बसेका युवाहरुले क्वारेन्टाइनमै दोहोरी गाएर समय बिताएर छन् । जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर –४ दोहली स्थित रामराज्य मा.वि. क्वारेन्टाइनमा बसेका युवाहरुले दिउसको खाली समयलाई सदुपयोग गर्दै दोहोरी गाएका हुन् ।
क्वारेन्टाइनमा बसेका युवाहरु मिलेर मादलको साहारा लिदै युवाहरुले दोहोरी गाएर रमाइलो गरेका थिए । सामाजिक संजाल मार्फत लिइएको भिडियो युवाहरुले ‘गोर्खा मनकामना’ भन्ने गीतमा दोहोरी गाएर रमाएका थिए ।
गाउँपालिकाको वडा नम्बर –४ दोहली स्थित रामराज्य मा.वि. क्वारेन्टाइनमा भारतबाट आएका ६५ जना युवाहरु राखिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । ९० जनाको क्षमताको बनाइएको क्वारेन्टाइनमा भारतबाट आएकहरुलाई मात्रै राखिएको छ ।
क्वारेन्टाइनमा बस्दा समय कटाउन गाहे भयो भनेर युवाहरुले दिउसको समयमा सामान्य रमाइलो गछौं भनेकाले अनुमती दिइएको उपाध्यक्ष खत्रीले बताइन् । युवाहरुको स्वास्थ्य अबस्था हेरेर क्वारेन्टाइनमा बस्दा समय कटाउनको निम्ति रमाइलो गर्ने माध्यम खोजेकाले उनुमती दिएको खत्रीको भनाई छ ।
इस्मा गाउँपालिका भर रहेका क्वारेन्टाइनमा ५५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । जसमध्ये ४८७ जना पुरुष र ६४ जना महिला रहेका छन् । गाउँपालिकामा हाल ८३ जनाको मात्रै आरडिटि चेक गरिएको छ ।
प्रत्येक स्थानीय तहमा कम्तिमा एक हजार नागरिक भारतबाट आउने प्रारम्भिक अनुमान गरिएको छ । भारतबाट आउनेहरुको दैनिक बृद्धि भइरहेकोले पालिका भित्रका सम्पूर्ण सरकारी तथा सामुदायिक भवनहरुमा उनीहरुको व्यावस्थापन गरिएको छ ।
जिल्लामा भारतबाट लगायतका मुलुकहरुबाट आएका ३ हजार ७ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा हाल ६७ वेडको आइसुलेसन तयार गरिएको छ । जसमा १ जना महिला र ५ जना पुरुष गरि ६ जना व्यक्तिको उपचार भइरहेको छ ।
४ हजार ५ सय ६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । कोरोना परिक्षणको लागि हालसम्म जिल्ला भर ५४६ आरडिटी परिक्षण ३५३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
(फोटो सामाजिक संजालबाट )