गुल्मी, २२ मंसिर । कृषि र पशुपालनको माध्यमबाट नागरिकको जिविकोपार्जनमा टेवा पुराउने उदेश्यले जिल्लाको गुल्मीदरबार गाउँपालिकाले उद्यमशिलता विकास परियोजना संचालन गर्ने भएको छ । गाउँपालिकाले गैर–सरकारी संस्था तथा नीजि क्षेत्रको सहकार्यमा गरिबी निवारणका लागि दिर्घकालिन परियोजना संचालन गर्न हेफरसंग चार करोडको परियोजना संचालन सम्झौता गरेको हो ।
गुल्मीदरबार गाउँपालिका र हेफर प्रोजेक्ट नेपालबीचको समझदारी पत्रमा गुल्मीदरबार गाउँपाालिकाको तर्फबाट कार्यबहाक अध्यक्ष मिना भण्डारीले हस्ताक्षर गरेकी छन् । रुपन्देहीको बुटवलमा आयोजित परियोजना सम्झौता कार्यक्रममा हेफर इन्टरनेशनलका निर्देशक अलिया मार्कर, डाक्टर महेन्द्र लोहनी हेफर प्रोजेक्ट नेपालका अध्यक्ष डाक्टर शुभ नारायण महतो लगायत विभिन्न ८ वटा देशका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।
सम्झौता भएको मंसिर २१ गतेलाई गाउँपालिकाले ऐतिहासिक दिनको रुपमा लिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उनले नेपालको ४६ औं स्थानीय तहको रुपमा गुल्मीदरबार गाउँपालिकामा परियोजना सुरु भएको बताए । यो परियोजन गाउँपालिकामा ल्याउन स्वर्गीय गाउँपालिका अध्यक्ष अशोक कुमार थापा लगायतले बिशेष भुमिका खेलेका थिए ।
पाण्डेयका अनुसार परियोजनाका मुख्य उद्देश्य लक्षित परिवारहरुको आर्थिक सामाजिक स्थितीमा सुधार गर्नु हो । जसका लागि उद्यमशिलता मार्फत वार्षिक आम्दानीमा वृद्धि गरी जिविकोपार्जनमा टेवा पुग्ने छ । अहिले पनि गाउँपालिकाले भुमि बैंक स्थापना गरेर बाँझो जग्गा उपयोगमा प्रोत्साहन गर्ने थुप्रै अनुदानका कार्यक्रम संचालन गरिरहेको पाण्डेयले बताए । त्योसंगै परियोजना मार्फत समुहमा आवद्ध लाभग्राहीहरुलाई स्वाबलम्बी समूहहरु र सहकारीमा आवद्ध गर्दै सामाजिक पूँजीको अभिवृद्धि गर्नु, व्यवसायीक कृषि तथा तरकारी उपजहरुको उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि गर्नु तथा बजार व्यवस्थापनमा सुधार गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुशरणबाट बाख्राको उत्पादन, उत्पादकत्व एवं उद्यमशिलता अभिवृद्धि गरी बजार व्यवस्थापनमा सुधार गर्नु परियोजनाको उदेश्य रहेको छ ।
पहाडी जिल्लाहरुमा स्थानीय तहको समृद्धिको आधार कृषि र पर्यटन हो । स्थानीय तहले पर्यटनका संरचनागत विकासमा ठुलो फड्को मार्न सकेका छैनन् । तर, कृषि क्षेत्रमा युवा आर्कषण बढाएका छन् । जसका कारण कृषि र पशुका ठुला परियोजना मार्फत आर्थिक सामाजिक सशक्तिकरणको अभियान सुरु गरिएको गाउँपालिकाको कार्यबहाक अध्यक्ष मिना भण्डारीले बताइन् । परियोजनामा महिला आवद्धता ठुलो हुने भएकाले उद्यम मार्फत आर्थिक समृद्धिसंगै सशक्तिकरणको अपेक्षा गरिएको भण्डारीको भनाई छ ।