गुल्मीन्युज
गुल्मी, साउन २९ । गुल्मी जिल्लाको रिडी-रुद्रबेणी-वामी सडक खण्ड अन्तर्गत पर्ने उल्लिखोला नजिकैको स्थानमा पटकपटक सडक अवरुद्द हुने गरेको छ । विशेष गरी वर्षायाम शुरु भए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था अत्यन्तै जिर्ण भएकोले सवारी तथा यात्रीहरुले सास्ती भोग्नुपरेको छ ।
सत्यवती गाउँपालिका स्थित उल्लिखोला नजिकै डहरे खोलाले बाटो बगाएर सडक अवरुद्द हुने समस्या त छँदै छ त्यही नजिको उकालोमा भलले सडक भत्काउने समस्याले सवारी चालक तथा यात्रुहरु थप समस्यामा परेका छन् । अझ बाँकी रहेको थोरै सडक पनि हिलोको दलदल भएर गाडी अड्किने स्थानिय सवारीधनी गोपाल भण्डारी बताउँछन् ।
गाउँपालिका अध्यक्ष पारिश्वर ढकालका मुल सडक अन्तर्गतको डुवानमा परेको खण्डको निर्माणको काम ठेकेदार तथा सडक डिभिजन कार्यालय, पाल्पाको सहि समन्वय नहुँदा अफ्ठ्यारोमा परेको हो । “पहिले यो सडक मदन भण्डारी परियोजनाले हेर्ने गरेको थियो”, अध्यक्ष ढकालले गुल्मीन्युजसँग भने, “पछि शिवपुर-गोह्रुसिंगे सडक डिभिजनले ठेक्काको केहि काम हेर्ने र अहिले पाल्पाले हेर्ने गर्दा परियोजनाले स्थाई रुपमा गती लिन नसकेको हो ।” यसलाई हेर्ने निकाय, स्थानिय तह र ठेकेदार बिचको राम्रो समन्वय नहुँदा ठेक्काको कामले सहि गति लिन नसकेको पनि उनले बताए ।
ढकालका अनुसार ठेकेदार दधि पाण्डेले उक्त क्षेत्रमा काम गर्ने ठेक्का पाएको तर वर्षा र कोभिड महामारीको कारण समयमै काम शुरु हुन सकेको छैन । सडक डिभिजनले बाटोको नक्सांकन गरेपछि निर्माणको काम शुरु हुनेछ र तत्कालको लागि गाउँपालिकाले नै सहायक सडकको मर्मत गरिरहेको छ । यसै सम्बन्धमा उक्त क्षेत्रमा चल्ने यात्रु तथा सवारीचालकहरुले सडक डिभिजन तथा गाउँपालिकाले उचित ध्यान नदिदा बेलाबेलामा आफ्नै खर्चमा डोजर लगाएको र कहिले रातभर पनि बाटोमै बिताउनु परेको गुनासो गर्ने गरेका छन् ।
सडक डिभिजन कार्यालय, पाल्पाका इन्जिनियर राम बिहारी चौधरीले सो सडक निर्माणको लागि रेसुङ्गा कन्ट्रक्सनलाई १ करोड रुपैँयाको ठेक्का दिइएको र केहि समयमा काम शुरु हुने बताए । “पटक लेते खोलाले दुख दिने भएकोले पक्कि पुल नै दिर्घकालिन समाधान हो ।”, चौधरीले भने, “पक्की पुलको लागि डिभिजन कार्यालयले सिफारिस गरिसकेको छ ।”
यसै क्षेत्रका संघिय सांसद प्रदिप ज्ञवाली तथा प्रदेश सांसद सुदर्शन बराल दुबै मन्त्री पदमा रहेको भए पनि सडकको हालत यस्तो हुनु दु:खद रहेको एक स्थानियले बताए ।
(महाशर्मा भण्डारीको सहयोगमा)