gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको भार्सेमा डेढ करोडको लागतमा बौद्ध स्तुपा निर्माण गरिँदै

टोपलाल अर्याल
गुल्मी, फागुन १९ । पर्यटक प्रवर्द्धनमा टेवा पुयाउने उद्देश्यले गुल्मीको भार्सेमा डेढ करोडको बौद्ध स्तुपा निर्माण सुरु गरिएको छ । सत्यवती गाउँपालिका– ८ भार्सेको देउराली डाँडामा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ । स्तुपा निर्माणको काम असार मसान्तसम्म सम्पन्न हुने भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए ।

स्तुपा समुद्री सतहबाट दुई हजार एक सय ८० मिटर उचाइमा निर्माण हुँदै छ । भार्सेमा सबैभन्दा बढी मगर समुदायको बसोवास रहेको छ । प्राकृतिक तथा कला संस्कृतिले भरिपूर्ण भार्सेमा थपिएका धार्मिक एवं पर्यटकीय संरचनाले स्थानीय मात्रै खुसी छैनन् । भार्से आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य बन्नेमा दुईमत नरहेको स्थानीय तथा लुम्बिनी प्रादेशिक अस्पतालका रेडियोलोजिस्ट डाक्टर नेत्र रानाले बताए । उनले सामाजिक विकासका कार्यमा स्थानीय नागरिकको सोच र प्रवासीहरूको आर्थिक सहयोग निकै महत्वपूर्ण रहेको बताए ।

लुम्बिनी र श्रीलंकाका बौद्ध गुरुद्वारा शिलान्यास

स्तुपाको १३ फागुनमा शिलान्यास भएको छ । लुम्बिनीबाट चार र श्रीलंकाबाट एकजना बौद्ध गुरु आएर शिलान्यास गरिएको छ । स्तुपा निर्माणको नेतृत्व भार्सेली समाज हङकङका अध्यक्षसमेत रहेका कुलबहादुर बुढाथोकीले गरेका छन् ।
उनले स्तुपा निर्माणका लागि भार्सेली समाज हङकङसहित भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौं र छिमेकी गाउँहरूका प्रवासीसँग आर्थिक अभियान सञ्चालन गरिरहेका छन् ।

५५ लाख रकम संकलन, तर पालिकाले आर्थिक सहयोग गरेन

अहिलेसम्म करिब ५५ लाख रकम संकलन भएको बुढाथोकीले जानकारी दिए । ठूलो धार्मिक एवं पर्यटकीय संरचना निर्माणमा स्थानीय तहको भने उदासीनता देखिएको छ । गत वर्ष वडाको बजेटबाट पाँच लाख स्तुपाको लागि विनियोजन गरिएको छ ।

त्यसबाहेक एक रुपैयाँ पालिकाले सहयोग नगरेकाले स्वदेश तथा विदेशमा सहयोग संकलन गरिएको निर्माण समितिले जनाएको छ । भार्सेबाट काठमाडाैंमा बसोवास गर्ने सिद्धार्थ डिजाइनर्सको टोलीले स्तुपा र फनपार्कको डिजाइन गरेकाे छ ।

पर्यटक आकर्षित गर्न फनपार्क

बौद्ध स्तुपासँगै पर्यटकलाई थप आकर्षित गर्न नजिकै फनपार्क निर्माण गरिएको छ । पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेलगायतका मनमोह हिमशृंखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङजाका महत्वपूर्ण दृश्यावलोक गर्न सकिन्छ ।

जसका कारण स्तुपा र फनपार्कले आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्य भार्से बन्नेमा दुईमत नरहेको भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका कोषाध्यक्ष सुजन गलामीले बताए । पार्कमा अहिले टिकटक, लभ र चन्द्रमा बनाइएको छ । केही समयमा पिकनिकस्थल बनाउने उद्देश्य रहेको गलामीले जानकारी दिए ।

तामाखानी र थाप्लेसम्म पदमार्ग

जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको नजिक बौद्ध स्तुपा निर्माण गरिएको छ । स्तुपा र फन पार्कसँग थाप्ले लेकलाई जोड्न पदमार्ग निर्माणको योजना रहेको छ । त्यस्तै, नजिकै तामाखानी छ । भार्सेमा तामा, सिसा र फलाम खानीहरू छन् । यद्यपि अहिले सञ्चालनमा छैनन् । देउरालीनजिकै २० मिटर लामा सुरुङहरू भएकाले पर्यटकलाई खानीसम्म पुर्‍याउन पार्क र होर्डिङबोर्ड राखिने सत्यवती गाउँपालिका– ८ का वडाध्यक्ष सन्तबहादुर थापाले जानकारी दिए ।

उनले स्तुपा र पार्कसँग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान रामपाइलालाई जोडेर पर्यटकीय विकास, संरक्षण र प्रचारप्रसार अगाडि बढाउने लक्ष्य रहेको बताए । धेरै पर्यटकीय क्षेत्रमा सडक राम्रो छैन । भार्सेका सरोकारवाला सडकको विषयमा गम्भीर छन् । तर, तीनवटै तहका सरकार वास्ता गर्दैनन् । रिडी–रुद्रवेणी–वामी राष्ट्रिय राजमार्ग हो । जुहाङदेखि भार्से देउरालीसम्मको सडक स्तरवृद्धि गर्नुपर्ने आवश्यकता छ । देउरालीसम्मको सडक र खानेपानीको सहज आपूर्ति नै आफूहरूको प्रमुख चुनौती रहेको वडाध्यक्ष थापाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D