सन्जु काउछा
गुल्मी, चैत २९ । गुल्मीको एक बिद्यालयमा सिंगापुर गोर्खा पुलिस, गुल्मी समाजले अक्षयकोष स्थापना गरेको छ । पुलिसले मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोट स्थित श्री पशुपती निम्न माद्यमिक बिद्यालयमा सो कोष स्थापना गरेको हो ।
बिहीवार दजाकोटमा एक कार्यक्रमको आयोजना गरी सिंगापुर गोर्खा पुलिसका तर्फबाट राजकुमार पुनले बिद्यालयका प्राधानाध्यापक जुक्त बहादुर छन्तेल र शिक्षक अभिभावक संघका अध्यक्ष देब बहादुर दर्लामीलाई संयुक्त रुपमा ३ लाख ६५ हजार ४ सय २५ रुपैँया रकम हस्तान्तरण गर्नुभएको थियो ।
कोषको वार्षिक ब्याजबाट आउने रकमबाट बिद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीको लागि छात्रबृत्ती प्रदान गर्नुका साथै निजी स्रोतका शिक्षक/शिक्षिकाहरुलाई तलब खुवाईने शिक्षक अभिभावक संघका अध्यक्ष देव बहादुर दर्लामीले गुल्मीन्युजलाई बताउनुभयो ।
“बिदेशमा रहेर पनि गुल्मीको गाउँको बिद्यालयसम्म यस्तो खालको सहयोग पुर्याईदिनुभएकोमा सिंगापुर पुलिसका सम्पूर्ण सहयोगीहातहरु प्रती हामी एकदमै कृतज्ञ छौ”, प्रअ छन्तेलले भन्नुभयो, “यो सहयोगले यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई थप हौसल मिल्ने कुरामा आशाबादी छौ ।”
त्यस्तै सहयोग रकम हस्तान्तरण गर्दै सिंगापुर गोर्खा पुलिसका प्रतिनिधी राजकुमार पुनले आफुहरुले शिक्षा क्षेत्रमा सानै भएपनी सहयोग गर्न पाउँदा सम्पूर्ण सिंगापुर गोर्खा पुलिस टिम नै गौरवान्वित भएको बताउनुभयो । साथै उहाँले उक्त अक्षयकोषले त्यस भेगको शिक्षा क्षेत्र थप योगदान पुर्याउने आशा गरेको पनि बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष देब बहादुर दर्लामीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक दुर्गा बहादुर राकसकोटीले गर्नुभएको थियो । नेपाल मगर संघका जिल्ला कमिटी सदस्य कमल थापाको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सोम बहादुर पेमिले स्वागत मन्तब्य राख्नुभएको थियो ।
२०७२ बैशाख १८ मा भिषण आगलगी भएको स्थान दजाकोटमा आगलागिबाट अंशिक र पूर्ण गरी ७० वटा घरमा क्षती पुगेको थियो । ५६ वटा घरमा पूर्ण रुपमा क्षती पुगेको दजाकोटका अधिकांश अग्निपीडितका बालबच्चाहरु सो बिद्यालयमा अधयनरत छन् ।