टोपलाल अर्याल
गुल्मी, २० चैत। बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि इस्माली समाज काठमाण्डौले गाउँपालिकालाई सहयोग गरेको छ । समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीको लागि आवश्यक पिपिइ लगायतका स्वास्थ्य सामग्री गाउँपालिकालाई प्रदान गरेको इस्माली समाज काठमाण्डौका अध्यक्ष दामोेदर भण्डारीले बताए । समाजको सहयोगले कोरोना संक्रमणको उच्च जोखिम रहेका इस्मा गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्यकर्मीहरुलाई काममा उत्प्रेरित गरेको छ ।
समाजका कोषाध्यक्ष शिव बहादुर खड्काले गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला खत्री लगायतको उपस्थितीमा पिपिइ १३ थान, सेनिटाइजर आठ थान र मास्क ५० थान प्रदान गरे । साथै गाउँपालिकाको आग्रह अनुसार आवश्यक थप सामग्रीको लागि पहल भइरहेको कोषाध्यक्ष खड्काले बताए । यो महा बिपद्मा समाजले गाउँप्रति देखाएको सद्भावप्रति गाउँपालिका प्रमुख बिष्ट र उपप्रमुख खत्रीले उच्च मुल्याङकन गरे । इस्माली समाज काठमाण्डौले बिगत लामो समयदेखि इस्मा क्षेत्रको शैक्षिक विकासमा विभिन्न रचनात्मक एवं सृजनात्मक काम गर्दै आएको छ । इस्माली समाज काठमाण्डौ इस्मा गाउँपालिका भित्रबाट विभिन्न सन्दर्भमा काठमाण्डौमा बस्नेहरुको व्यक्तिहरुले स्थापना गरेको संस्था हो ।