टोपलाल अर्याल
गुल्मी, १९ चैत। केहि दिनअघि गुल्मी दरवार गाउँपालिका ५ का एक युवा ज्वरोले थलिए । परिवारले एम्बुलेन्सलाई खबर गरे तर चालक आउन मानेनन् । एकपछि अर्काे एम्बुलेन्सलाई बोलाउँदा सबै चालकहरु ज्वरोको विरामी भएकाले कोरोना भाइरसको आशंका गर्दै तर्किए । अन्तिममा नेपाल रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक लाल बहादुर खत्री चारपाला पुगे । खत्रीकाअनुसार ती बिरामी युवालाई गाउँका कसैले छोएनन् । खत्रीले मन थाम्न सकेनन्, आफैले एम्बुलेन्समा बसालेर एक्लै बुटवल पु¥याए ।
‘बिरामी परीक्षण गर्ने डाक्टरले पिपिई पाए तर तीनै बिरामी बोक्ने चालकलाई कसैले सोचेनन् । माक्सको भरमा कसरी जोखिम मोल्ने ?’
पछि मात्रै अरु चालक तर्किएको पत्तो पाए । त्यसपछि बल्ल झसङ्ग भएको खत्रीले बताए । ‘ज्यानको माया सवैलाई छ पहिले पत्तो पाएको भए म पनि पुग्दैनथेँ,’उनले भने,‘माक्सको भरमा कसैले ज्यान फाल्न सक्दैन ।’ खत्रीले लामो समयदेखि रेडक्रस गुल्मीले संचालन गरेको एम्बुलेन्स चलाउँदै आएका छन् । आफुलाई संस्थाले सेनिटाइजरबाहेक केहि नदिएकाले अहिलेकै अवस्थामा काम गर्न मुस्किल परेको खत्रीको गुनासो छ ।
संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले आफुहरुको कुरा कसैले नसुनेपछि एम्बुलेन्स रोकेर घर गएको बताए । ‘बिरामी परीक्षण गर्ने डाक्टरले पिपिई पाए तर तीनै बिरामी बोक्ने चालकलाई कसैले सोचेनन्,’ बस्नेतले भने, ‘माक्सको भरमा कसरी जोखिम मोल्ने ?’ ८ बर्षदेखि जिल्लामा एम्बुलेन्स चलाउँदै आएका बस्नेतले बिरामीको चाप बढेकाले चार रात नसुतेर पनि बिरामी बोकेको बताउँदै भने, ‘अव चाहिं सकिदैन ।’
जिल्लामा संयुक्त एम्बुलेन्स चालक संघमा आवद्ध ४२ वटा एम्बुलेन्स छन् । तर, कसैले पनि आफु सुरक्षित भएको महसुस गर्न नपाएको बस्नेतले बताए । समिति आफै पनि जिल्लामा क्रियाशिल नभएका कारण आवाज कमजोर भएको उनको भनाई छ । गुल्मीमा ४२ वटा एम्बुलेन्समध्ये ११ वटा भारतीय राजदुतावास र २० वटा सरकारी स्वास्थ्य संस्थाका छन् । त्यस्तै ब्रिटिस वेल फेयर, गुल्मेली समाज युके, गुल्मी केयर विश्व संजाल, जापान सेवा समाज वामी, नेपाल रेडक्रस सोसाइटी तथा स्वदेशी एवं विदेशी संघ÷संस्था र स्थानीयको सहयोगमा पनि एम्बुलेन्स संचालनमा छन् ।
पुर्वी रुकुममा एम्बुलेन्स नै छैनन् । त्यहाँ सिस्ने, भुमे र पुथा उत्तरगंगा गरेर तीन स्थानीय तह छन् । गाउँमा कोहि बिरामी परे निजी गाडी रिर्जभ गर्नुको विकल्प नै छैन । कोरोना संक्रमणको जोखिम पुर्वी रुकुममा पनि उत्तिकै छ । काम गर्न स्वदेशका विभिन्न शहर र भारत तथा अन्य मुलुक गएका व्यक्ति गाउँ आएका छन् । अहिले ३३ जनालाई क्वारेन्टाइनमा राखिएको सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल गौतमले बताइन् । अहिले रुकुमकोटबाट प्राइभेट एम्बुलेन्स सम्पर्कमा राखिएको गौतमले जानकारी दिइन् ।
पुर्वी रुकुमका गाउँ–गाउँमा पुग्ने एम्बुलेन्स चालक पनि त्रासमै छन् । तीन बर्षदेखि रुकुमकोटमा कुमार थापा क्षेत्री कल्याण समितिको एम्बुलेन्स चलाउँदै आएका देव बहादुर बिसीले माक्सको भरमा पुर्वी रुकुमका गाउँबाट बिरामी ल्याएर नेपालगञ्ज र बुटवल पु¥याउने गरेको बताए । राज्य र संचालकहरुले आफुहरुको सुरक्षाको बिषयमा कुनै चासो नदिएको आरोप पनि बिसीले लगाए । ‘निद्रा र भोक छोडेर दिन र रात नभनी बिरामीसंगै कुद्ने एम्बुलेन्स चालक जोखिममा परे,’ उनले भने, ‘महसुस गरेर पनि दबाबमा काम गर्नुपरेको छ ।’
दुर्गमका एम्बुलेन्स चालकको मात्रै यो पीडा होइन । सुगमकै चालकहरु पनि काम गर्ने वा छोड्ने दोहोरो चपेटामा परेका छन् । देवदह नगरपालिका ७ खैरेनीका सोम प्रसाद डुम्रेले एम्बुलेन्स चलाउन थालेको ६ बर्ष भयो । अहिले कोलिय सामुदायिक विकास केन्द्रको एम्बुलेन्स चलाउँदै आएका छन् । माक्स र ग्लोब्सबाहेक आफुहरुसँग अर्को कुनै बिकल्प नभएको डुम्रेले बताए । उनले आफुहरु चालक मात्रै नभएर अभिभावक समेत भएकाले बिरामी चढाउने, ओराल्ने र अस्पतालको सम्बन्धित वार्डसम्म पु¥याउनुपर्ने बाध्यताकोबीच संक्रमणको उच्च जोखिम रहेको बताए । साथै उनले गन्तव्यमा पुग्न अन्य व्यक्तिहरुले बिरामी भनेर फोन गरेर समेत दुख दिने गरेको गुनासो गरे । ‘गाउँबाट बिरामी भनेर फोन गरेपछि नजाने कुरै भएन, धेरैले बहाना बनाएर पनि दुख दिए,’ उनले भने, ‘आफुहरुले सवै पहिचान गर्ने कुरा पनि भएन ।’
अर्घाखाँचीमा पनि सुरक्षित हुने कुनै उपाय नभएपछि एम्बुलेन्स चालकहरुले त्रासमै काम गरिरहेका छन् । संयुक्त एम्बुलेन्स चालक संघका अनुसार अर्घाखाँचीमा १७ वटा एम्बुलेन्स दर्ता भएका छन् । सवै संघसंस्थाका एम्बुलेन्स चालकसंग आफैले किनेको माक्स र ग्लोब्सबाहेक अरु केही नभएको अर्घाखाँची हस्पिटल प्रालीका एम्बुलेन्स चालक दिपक बहादुर गाहाले बताए । उनले आफुहरुले प्रहरी, प्रशासन र हस्पिटलमा आफ्नो सुरक्षाको बिषयमा जानकारी गराएपनि कतैबाट चासो नदिएको गुनासो गरे ।
अर्घाखाँचीको अधिकांश एम्बुलेन्स चालकले बिरामीबाट केहि भएपनि सुरक्षित हुने हिसाबले चालक र बिरामीको बीचमा काठको पाता (प्लाई) ठोकेर पाटेशन गरेका छन् । ‘बिरामीको अत्यन्तै चाप बढ्यो, आफु जे भएपनि अरु कसैलाई मर्न दिन सकिएन त्यसैले पाटेशन गरेका छौ,’ संयुक्त एम्बुलेन्स चालक संघ अर्घाखाँचीका सचिव समेत रहेका गाहाले भने, ‘यो अवस्था कसले बुझ्ने ?’ अर्घाखाँचीमा सात सरकारी स्वास्थ्य संस्था र अन्य १० वटा गैरसरकारी संस्थाका एम्बुलेन्स संचालनमा छन् ।
एम्बुलेन्स संचालकहरु पनि चालकको सुरक्षाको बिषयमा गम्भीर छैनन् । इस्मा स्वास्थ्यचौकी एम्बुलेन्स संचालक समिति अध्यक्ष नारायण पैयाँनीले संक्रमणको उच्च जोखिममा चालकहरु भएपनि आफुले केहि सोच्न नसकेको स्वीकार गरे । उनले अहिले एम्बुलेन्स गाउँपालिकाले प्रयोग गरिरहेकाले आफुहरुको खासै चासो नदेखिएको बताउँदै उनीहरुको संरक्षण र सुरक्षाको दायित्वबाट भने आफुहरु उम्कन नहुने बताए ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टे«ड युनियन महासंघका केन्द्रिय महासचिव मुक्ति काफ्लेका अनुसार प्रदेश ५ मा चार सय पाँच एम्बुलेन्स संचालनमा रहेका छन् । काफ्लेका अनुसार रुपन्देहीमा ८४, गुल्मीमा ४२, पाल्पामा २२, अर्घाखाँचीमा १७, पश्चिम नवलपरासीमा २२, बाँकेमा ४५, बर्दियामा २५, दाङमा ८०, कपिलवस्तुमा २६, प्युठानमा २३ र रोल्पामा १२ वटा एम्बुलेन्स रहेका छन् । पुर्वी रुकुममा एम्बुलेन्स छैनन् । तर, पश्चिम रुकुमको खलङ्गाबाट आवश्यकताको आधारमा ७ वटा एम्बुलेन्स पुर्वी रुकुम पुग्ने गरेको महासचिव काफ्लेले जानकारी दिए ।
पाल्पामा चैत १६ गते सम्पन्न सर्वदलिय तथा सर्वपक्षिय बैठकले एम्बुलेन्स चालकको सुरक्षाको बिषयमा चासो देखाएको छ । तर, अहिलेसम्म ठोस योजना भने बनेको छैन । बैठकले चालकलाई सुरक्षित र तयारी अवस्थामा बस्न आग्रह ग¥योे । तर, एम्बुलेन्स चालकहरु माक्सको भरमा बिरामी बोकिरहेका छन् । छहरा स्वास्थ्यचौकीको एम्बुलेन्स चालक मोहन घिमिरे क्षेत्रीले कार्यालयले दिएका दुईवटा माक्सले काम चलाएको बताए । सुरक्षाको अरु कुनै उपाय नभएपछि एम्बुलेन्समा काठको पाताले पार्टेशन गर्न थालेको बताए । साथै प्रदेश नं ५ को मन्त्रीपरिषद बैठकले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म कुनै पनि जिल्लाले चालकहरुलाई पिपिई वितरण गर्न सकेका छैनन् ।