gulminews logo
शनिबार, २०८१ बैशाख ८

कुलचन्द्र गौतमको गाउँले परोपकार, भन्छन् : खुसी मेरो सम्पति हो

टोपलाल अर्याल
गुल्मी, १५ फागुन। अम्मरपुरकी ६१ बर्षीया हरिकला कुमालका तीन बर्षदेखि दुवै आँखा बन्द छन् । त्यो माथी हातखुट्टा दुख्ने समस्या थपियो । गाउँमै शिविर पुग्यो । निशुल्क हाडजोर्नी बिशेषज्ञ मार्फत स्वास्थ्य परिक्षण गरेर औषधी लगिन् । आँखाको अप्रेसन गर्न डाक्टरहरुले सुझाव पाइन् । स्थानीय लाल बहादुर महत पनि ढाड दुख्ने समस्याले पीडित थिए । सदरमुकाम वा बुटवल काठमाण्डौ पुग्नुपर्ने झन्झट भएन् । गाउँमै बिशेषज्ञ डाक्टरसंग उपचार गर्न पाएकोमा खुसी छन् । मालिका गाउँपालिका ५ की ४० बर्षिया बालकुमारी अर्याललाई छाती दुख्न थालेका थुप्रै भएका थिए । मनमा अनेकौ प्रश्न उब्जन्थे । त्यसैले शिविरमा आएर इसिजि गरिन् । मुटुमा कुनै समस्या नभएको डाक्टरले बताएपछि ढुक्कको सास फेर्न पाएको उनी बताउँछिन् । ‘रातिमा दुख्दा त अन्तिम दिन रहेछ भनेर सम्झन्थे, गाउँमै डाक्टरलाई देखाउँन पाउँदा ढुक्क र खुसी भएँ,’उनले भनिन,‘कुलचन्द्र जी म जस्ता कैयनको भगवान हो ।’

अम्मरपुर कुमाल समुदायका बाहुल्यता भएको ठाउँ हो । प्रत्येक बर्ष हिमा गौतम स्कृति कोषको मार्फत बिशेषज्ञसहितको बृहत निशुल्क शिविर भएका छन् । यो समान्य कुरा पक्कै छैन् । अहिले शिविरनै कुलचन्द्र गौतमको गाउँले भेट्ने माध्यम बनेको छ । शिविरमा आउने अधिकांश कुमाल र दलित समुदाय छन् । शिविरको उदेश्य पनि आर्थिक अभावको कारण स्वास्थ्य सेवाको पहँुचबाट टाढा भएकाहरुको निशुल्क उपचार गर्ने हो । यो परोपकारी कामले असाहय परिवारको जीवनमा खुसी मिलेको वडाध्यक्ष हिरा जिसीले बताए ।

बेसहारा लक्ष्मीको खुसी

मालिका गाउँपालिका ६ अर्जेकी ७५ बर्षिया लक्ष्मी मुखिया । ६० बर्षदेखि शाहारा बिहिन छन् । १२ बर्षमा बिहे गरेकी । १५ बर्षमै दुई सन्तान भए । तर तीन बर्ष नपुग्दै छोरी सुमित्रा बितिन् । त्यो बेला लक्ष्मी दुई जिउकी थिइन् । श्रीमान नरसिंह मुखियाको पनि मृत्यु भयो । बाबु बितेको तीन दिनमा छोरा जन्मिए । उनले बल्लतल्ल क्रिया उम्काइन् । मेलापात गरेर छोरालाई आठ महिनाको बनाइन् । तर छोरा पनि बँचेनन् । न घर न माइत १५ बर्षदेखि एक्लो जीवन बिताएकी छन् । अहिले खाना रुच्दैन । निद्रा पर्न छोडेका महिनौ भए । औषधी उपचार गर्ने उपाय छैन् । सोमबार हिमा गौतम स्मृति कोषले अमरपुर स्वास्थ्यचौकीमा संचालन गरेको स्वास्थ्य शिविरमा लक्ष्मीले उपचार गराइन् । ‘पैसा भए उपचार गर्न सदरमुकाम पुग्थे उपाय नभएर रोएरै बसेँ,’मुखियाले भनिन,‘गाउँमै डाक्टर आएको पत्तो पाएर बिहानै आएँ, औषधी पाएँ खुसी छु ।’
बिपन्न र महिला बढि लाभाम्बित

झण्डै एक हजारको स्वास्थ्योपचार

सोमबार र मंगलबार संचालन भएको शिविरमा इसिजि, भिडियो एक्सरेसहितको मुटु, स्त्री रोग, हाडजोर्नी तथा नशा र अन्य बिभिन्न रोगका दुई सय ८२ पुरुष र छ सय ९८ महिलाले उपचार गराएको हिमा गौतम स्मृति कोषका सदस्य सुजनचन्द्र गौतमले जानकारी दिए । शिविरमा सवैभन्दा बढि हाडजोर्नीका दुई सय ५० जना बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । गाउँमा उमेर ढल्के पनि काम बढि गर्ने तर आराम र खानपानमा ख्याल नगरेका कारण हाडजोर्नीको समस्या बढि रहेको उपचारमा संलग्न डाक्टर उत्तम पच्याले बताए । सरसफाइ र सचेतनाको अभावमा पाठेघरको संक्रमण भएका ६० महिला र पाठेघरनै खसेका १३ महिलाको स्वास्थ्य परिक्षणसंगै औषधी वितरण गरिएको जानकारी दिए । गत बर्ष संचालन भएको शिविरमा पाँच सय ५३ पुरुष र सात सय ४४ जना नागरिकले स्वास्थ्य सेवा लिएका थिए ।

खुसी हेर्न गाउँ

संयुक्त राष्ट्रसंघमा पुर्व सहायक महासचिव कुलचन्द्र गौतम । संयुक्त राष्ट्रसंघको उच्च ओहदामा पुग्ने पहिलो नेपाली हुन् । उनको घर इस्मा गाउँपालिका ६ अम्मरपुर हो । कर्मले गाउँ छोडेको बर्षौ भए । पद र प्रतिष्ठासंगै गाउँ छोडेपछि फर्केर नआएका कैयन छन् । तर गौतमले जन्मथलो प्रतिको माया कहिल्यै भुलेनन् । सेवा निवृत भएपछि कम्तीमा बर्षको एक पटक गाउँ आउँछन् । उनले गाउँको शिक्षा क्षेत्रमा सहयोग पुराउँदै आएका बर्षौ भए । त्यो बाहेक तीन बर्षदेखि बिशेषज्ञसहितको बृहत निशुल्क स्वास्थ्य शिविर लिएर गौतम गाउँ आइरहेका छन् । प्रत्येकसंग सन्चो बिसन्चो र शिविरबाट प्राप्त सन्तुष्टि सोध्छन् । निराश अनुहारमा उत्प्रेरणा थप्छन् । खुसी अनुहारसंग आर्शिवाद माग्छन् । उनका बालबच्चा र परिवार गाउँमा छैनन् । तर बिपन्न र गरिव परिवारको स्वास्थ्य र शिक्षामा चासो दिएका छन् । ‘मेरो सम्पति गाउँका बाबाआमाका अनुहारमा देखिएको खुसी हो,’उनले भने,‘मैले सकेको गरिरहेको छु ।’

शिविर क्षणिक हुन् : गौतम

हिमा गौैतम स्मृति कोषका अध्यक्ष समेत रहेका कुलचन्द्र गौतमले राज्यको स्वास्थ्य संयन्त्र कम्जोर भएका कारण शिविरहरु आवश्यक रहेको बताए । शिविर क्षणिक समाधान मात्रै भएकाले समुदायको समस्या पुरा गर्न राज्यले स्तरिय स्वास्थ्य सेवा र संरचना बनाउनुपर्नेमा गौतमले जोड दिए । उनले दश जनशक्ति र युवा बिदेश पलायन भएकाले गाउँ समुदाय बिराना भएको बताउँदै राज्यले बेलैमा बिचार पुराउनुपर्ने बताए । ‘गाउँ जेष्ठ नागरिक र महिलाको काँधमा छन्, शिविरमै पुरुषभन्दा तीन गुणा बढि महिलाले स्वास्थ्य परिक्षण गरे,’उनले भने,‘विभिन्न सीमाहरुको कारण सोचे अनुसारको प्रतिफल देखिएको छैन् ।’ कोषले शिविर मात्रै नभएर अमरपुर स्वास्थ्यचौकीको चारकोठे भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको छ । स्वास्थ्यचौकीको स्तरउन्नतीसंगै आवश्यक पाँच रोपनी जग्गा समेत गौतमले आफैले उपलब्ध गराए । त्यो बाहेक कोषकै संस्थापक सदस्य तथा गौतमकी बहिनी सावित्रा गौतमले स्वास्थ्यचौकीलाई ४० वाटको सोलार सेट, सुत्केरी गराउन आवश्यक पर्ने टेवल, गर्भमा रहेको शिशुको मुटुको धडकन नाप्ने डोप्लर, भ्याकुम सेट, भोटो टोपी, स्याचुरेशन मेसिन, तौलने मेसिन तथा रक्तचाप जाँच्ने मेसिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।

प्रगतीशिल सोचकी हिमा……………..

कुलचन्द्र गौतमकी आमा हिमा पनि प्रगतीशिल बिचार भएकी थिइन् । गाउँको शिक्षाको र स्वास्थ्यको क्षेत्रमा आमाको चासो र उदेश्य पुरा गर्न पछि गौतम परिवारले कोषको समेत स्थापना गरे । त्यहि कोष मार्फत अहिले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम भइरहेको छ । त्यो समयमा छोरीहरु पढाउन र विपन्न एवं असाहय व्यक्तिहरुको उपचारमा हिमाले प्रयास थालेकी थिइन् । विस २०५३ सालमा उनको मृत्यु भयोे । अहिले हिमा गौतम स्मृति कोषले बिद्यालयमा बिशेष गरेर छात्रा र बिपन्न बालबालिकाको भर्नादर बृद्धि गर्न निशुल्क कापी कलम, पोशाक वितरण गरिदै आएको छ । अहिले सरकारले संचालन गरेको प्राविका बालबालिकालाई निशुल्क खाजाको व्यावस्था हिमा स्मृति कोषले एक दशक अघिनै अमरपुर ओम प्रसाद गौतम माविमा सुरु गरेको स्थानीय तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए । उत्कृष्ट पुरस्कारको व्यावस्था गरेर बिद्यार्थीहरुलाई शिक्षामा आकर्षण गर्नुका साथै १५ लाखको अक्षय कोषको स्थापना गरि अमरपुर माविलाई ओम प्रसाद गौतम मावि नामकरण गरिएको छ । त्यो बाहेक अन्य भौतिक संरचना निर्माण, खानेपानी टयाङकी तथा धारा निर्माण, मञ्च निर्माण लगायत शिक्षाको क्षेत्रमा मात्रै झण्डै एक एक करोड लगानी कोषले गरेका पराजुलीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D