टोपलाल अर्याल
गुल्मी, ३ चैत । कोरोनाको संक्रमणबाट बच्न इस्मा गाउँपालिकाले एसइई परिक्षाभर हेल्प डेस्क संचालन गर्ने भएको छ । इस्मा गाउँपालिकाका दुई परिक्षा केन्द्र हस्चिौरको हिमालय मावि र दोहलीको रामराज्य माविका हेल्प डेस्क राख्ने निर्णय गरिएको स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए ।
हेल्प डेस्कको लागि आवश्यक औषधी र सामग्रीको प्रबन्ध गाउँपालिकाले मिलाउने छ । त्यस्तै प्रत्येक वडाहरुमा कोरानाको बिषयमा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ । जसका लागि वडा स्तरमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी र आमा समुहहरुले संयुक्त रुपमा टोलटोलमा पुगेर कार्यक्रम गर्ने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । अहिले सामाजिक सुरक्षा वितरणको काम भइरहेको छ । सोहि कार्यक्रममा पनि सम्बन्धित वडाका स्वास्थ्य संस्था प्रमुखहरुले सामाजिक सुरक्षा भत्ता बुझन आउनेहरुलाई प्रशिक्षित गर्ने खत्रीले बताइन् ।
सोमबार इस्मा गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरिय कोरोना सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई कोरोनाको बिषयमा जनस्वास्थ्य कार्यालय गुल्मीका सुपरभाइजर लक्ष्मण पन्थी र गोपाल कार्कीले सहजीकरण गरेका थिए ।