हुमाकान्त पोखरेल
गुल्मी, २८ साउन । २०६६ साल बैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको हस्तिचौर गाविस वडा नं ३ का रामलाल घिमिरे, अमर बहादुर कंवर, देबकली खत्री, सिता कुंवर र धनकली खत्रीले ज्यान गुमाए । ०६६ सालमा साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक बनमा आगो निभाउने क्रममा बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो ।
०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साविकको मलायगिरी गाबिस वडा नं १ का कमल खड्काको ज्यान गयो । यस्तै ०७३ साल बैशाख १७ गते साविकको दोहोली गाबिस जलुकी खोला बनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी लामा गुरुङ र वडा नं ६ कालोक बहादुर गुरुङको ज्यान गयो । भने ०७३ साल बैशाख १८ गते वडागाउँ गाबिस वडा नं १ को कर्लाम सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको छ ।
आश्वासनबाहेक केहि पाएनौँ, दुख थपिदैँ गएको छ
यसरी बिभिन्न सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा १० जनाले ज्यान गुमाए । तर सरकारी निकायबाट उनीहरुका परिवारले केहि राहात पाउन सकेका छैनन । बनमा आगो लागे स्थानीयहरु मिलेर आगो निभाउ भन्दै जिल्ला बन कार्यलयले संचार माध्यमहरुवाट सुचना प्रशारण गर्छ । जनचेतनामुलक पर्चा–पम्प्लेटहरु बितरण गर्छ । विद्यालयमा समेत जनचेतनामुलक कक्षा संचालन गर्छ । तर आगो निभाउने क्रममा ज्यान गुमाएकाहरुका लागि हालसम्म कुनै राहतको ब्यबस्था भने गरिएको छैन ।
‘अन्य पिडितहरुले त राहात पाउछन्, तर आगलागीमा परि ज्यान गुमाएका परिवारले राहातको आश्वासनबाहेक बाहेक केहि पाएनौँ ।’ साविकको बडागाउँ ८ का गोपालकी श्रीमती इन्द्रमाया सुनारले भनिन्, ‘श्रीमानको मृत्युपछि दुख थपिदैँ गएको छ ।’ राहातका लागि पटक–पटक जिल्ला बन कार्यालय धाउदा पनि खर्च मात्र भएको तर केहि राहात नपाएको उनको गुनासो छ । उनको परिवारमा अहिले एउटा छोराले भर्खर एसइई दिएका छन । भने एउटा १५ बर्षको छोरी र अर्को १३ बर्षको बौद्धिक अपाङ्ग भएको छोरा छन् ।
कार्यालय चिठिमा सिमित
जिल्ला बन कार्यलय बनमा लागेको आगो निभाउने क्रममा ज्यान गएका ब्याक्तिहरुका परिवारका लागि०७३ बैशाख २९ गते नामावली सहित बिभागमा पत्र पठाएको कार्यालयका नायब सुब्बा नविन पन्थीले बताए । तर पिडित परिवारले भने अझैसम्म पनि केही राहत पाउन सकेका छैनन् ।
के भन्छन स्थानीय तह
साबिबकको वडागाउँ गाबिस अहिले मुसीकोट नगरपालिकामा पर्छ । नगरपालिकाको तर्फबाट पनि उनीहरुलाई केहि भएको छैन । नगरप्रमुख मेयर सोमनाथ सापकोटाले नगरपालिकाबाट अहिलेसम्म केही राहत नदिएको स्वीकार गरे । उहाँहरुले केही राहत कतै बाट नपाएको खण्डमा अहिले नगरपालिकाबाट दिन सक्ने राहततर्फ भने आफूहरुको ध्यान गएको उनको भनाई छ । गाउँपालिकाका प्रमुख लक्षमण बिष्टले राज्यबाट कुनै सहयोग नभएकोले गाउँपालिकाले उनीहरुलाई दीर्घकालिन रुपमा हुने गरि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।







