gulminews logo
मंगलवार, २०८१ बैशाख ११

किन पूरा भएन रेसुंगा विमानस्थल? कुरो यस्तो रहेछ …..

दसैंमा धुले उडान हुने खबरले उत्साहित बनेका गुल्मेली जनता यतिखेर निरास छन् । रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माणाधीन रेसुंगा विमानस्थलमा दसैंमा धुले उडान भर्ने योजना पूरा हुन नसकेपछि जिल्लावासी निरास भएका हुन् ।
resunga airport

एक दशकदेखि भइरहेको विमानस्थलको निर्माणले अपेक्षाकृत गति लिन सकेको छैन । जहाजमा उड्ने सपना बोकेका जिल्लावासीका लागि विमानस्थल निर्माण पनि सपनाजस्तै बनेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले असोजसम्म धुले उडान गर्ने गरी काम अघि बढाएको जानकारी गराएको थियो । विमानस्थल सञ्चालन हुने खबरलगत्तै जिल्लाका उद्योगी, व्यवसायी एवं सर्वसाधारण हर्षित भएका थिए । नियमित विमानस्थल सञ्चालन भए जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने अपेक्षा लिइएको थियो ।

‘यसपालि दसैंमा जहाज उड्ने सुनेका थियौं’, रेसुंगा नगरपालिका ११ स्थित सिमिचौरकी रविना थापाले भनिन्, ‘जहाज चढ्ने कुरा सपनाजस्तै भयो ।’ हिजोआज विमानस्थल निर्माणको काम नभएको उनले बताइन् । ‘चुनावमा पनि नेताहरूले विमानस्थल चल्छ भन्थे’, उनले भनिन् । निर्वाचित जनप्रतिनिधिले यसतर्फ चासो दिन उनले आग्रह गरिन् । ‘भोट दिएर नेता चुनेका छौं’, उनी भन्छिन्, ‘विकास गर्नेतर्फ उहाँहरूले चासो दिनुपर्छ ।’
विमानस्थल सञ्चालन भए गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, बागलुङ, पाल्पा र स्याङजाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । दसैंमा जिल्लाबाटै जहाजमा उडेर आवतजावत गर्न पाइने खबरले हर्षित भएको रेसुंगा नगरपालिका-१ की चन्दा घिमेरेको भनाइ छ । ‘आफ्नै जिल्लाबाट हवाईजहाजमा काठमाडौं जान÷आउन पाइने सुन्दा खुसी लागेको थियो’, उनले भनिन्, ‘अहिले निरास छौं ।’ जिल्लाबाट बसमा लामो यात्रा गरेर काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएपछि धेरैमा खुसी छाएको उनले स्मरण गराइन् ।

६ सय १० मिटर लम्बाइ भएको धावनमार्ग ३० मिटर चौडा छ । विमानस्थल प्रभावित क्षेत्रका घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ ।

दसैंमा सञ्चालन गर्ने योजना भए पनि विविध समस्याले पूरा गर्न नसकिएको रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष एवं छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी गराए । ‘निर्माण सकिने बेला स्थानीय चुनावले पनि समस्या भयो’, उनले भने, ‘निर्माणको काम छिट्टै सुरु गर्छौं ।’
विमानस्थल निर्माणको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ । ६ सय १० मिटर लम्बाइ भएको धावनमार्ग ३० मिटर चौडा रहेको निर्माण सेवाका नारायण पोखरेलले जानकारी दिए । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ ।

विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ । ४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको अध्यक्ष पन्तले बताए । यसअघि मुआब्जामा विवाद हुँदा निर्माण प्रभावित भएको उनको भनाइ छ । निर्माणकै क्रममा हालसम्म पाँच हजारदेखि १७ लाख रुपैयाँसम्म मुआब्जा वितरण गरिएको छ । पन्तका अनुसार ४६ घरपरिवारलाई हालसम्म ८५ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ । विमानस्थल निर्माणका लागि हालसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

विमानस्थल सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको भनाइ छ । ‘पर्यटनका हिसाबले गुल्मी धेरै अगाडि छ’, उनले भने, ‘हवाईमार्ग सुरुभएपछि देश विदेशबाट पर्यटक भित्रिनेछन् ।’ तम्घास सदरमुकाममाथि डाँडामा अवस्थित रेसुंगामा बर्सेनि सयौं पर्यटक आउने गरेको र विमानस्थल निर्माणपछि थप पर्यटक भित्रिने उनले उल्लेख गरे ।

जिल्लामा उत्पादन हुने विभिन्न सामग्रीको बजारीकरणमा यसले मद्दत पुर्‍याउने जिल्लाका उद्योगी व्यवसायीले आशा गरेका छन् । जिल्लाकै ‘चिनारी’का रूपमा रहेको कफी, बलेटक्सारमा उत्पादित गुड, भार्सेको ‘ग्राउन्ड एप्पल’ विभिन्न गाउँमा उत्पादन हुने लिचीसहित घरेलु वस्तुको बजारीकरणमा मद्दत पुग्नेछ ।

स्रोत अन्नपुर्ण पोस्ट

 

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D