अनिल खत्री
१७ चैत, गुल्मी । गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उदघाटन गरेका छन् । बिहिबार अक्सिजन प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए ।
नेकपा एमालेका उपमहासचिव समेत रहेका नेता ज्ञवालीले पूर्ववर्ती सरकारले नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा र पालिका–पालिकामा आभारभूत स्वास्थ्य अस्पतालहरुलाई जोड दिएको उल्लेख गरे । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजि क्षेत्र प्रवेश ग¥र्यो ।
एक किसिमको निजिकरण भयो ।’ ज्ञवालीले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रको संलग्नताका थुप्रै खालका विकृति भइरहेका छन् ।’
निजि क्षेत्रका अस्पतालमा सर्वसाधरण नागरिकको पहुँचमा नभएको बताउँदै पूर्ववर्ती सरकारले अघि सारेको प्रत्येक पालिका–पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउँने कार्य अहिले पनि भइरहेको बताएका छन् । गुल्मी अस्पतालमा पनि आफु सरकारमा रहँदा बजेट बिनियोजन गरि ५० बेडको अस्पताल निर्माणको कार्य भइरहेको उल्लेख गर्दै केही समयपछि यस अस्पताल आधारभूत स्वास्थ्य सेवाका लागि प्रभावकारी गन्तव्य बन्ने उल्लेख गरे ।
राजनिति भनेको एक जनाको ज्यान कसरी जोगाउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । जिल्लामा सबै राजनितिक दलहरुमा त्यो सेवा भाव रहेको बताए ।
राजनिति गर्ने क्षेत्रमा राजनिति भएपनि मावन सेवामा जिल्ला वासी सबै एकै ठाउँमा भएर सेवाको भाव देखाउने गरेको ज्ञवालीले बताए । नागरिक स्तरबाट सुरु गरिएको अक्सिजन प्लान्टमा राज्यबाट पनि लगानी गरेर सार्थकता पाएको उल्लेख गरे ।
राज्यबाट अक्सिजन प्लान्ट निर्माणका निम्ति बजेट बिनियोजन भएपनि धेरै ठाउँमा काम नभएको ज्ञवालीले बताए । तर जिल्लामा अस्पताल प्रशासनको सक्रियता र नागरिकको खबदारीका कारण प्लान्ट सञ्चालनमा आउन सफल भएको बताए ।
उनले दिर्घकालीन रुपमा प्लान्टले फाइदा दिने उल्लेख गरे । गुल्मी अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको छ ।
प्लान्टबाट जिल्लामै अहिले दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन क्षमता रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको थियो ।
प्लान्ट सञ्चालनमा आएको केहि महिना भएपनि बिधिवत रुपमा उद्घाटन गरिएको हो । अहिले गुल्मी अस्पतालमा प्रतिदिन १० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ ।
त्यो मागलाई प्लान्टबाट खपत हुँदै आएको छ । प्लान्ट निर्माणसँगै अस्पतालमा पनि अक्सिजनको निम्ति सहज भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए ।
प्लान्ट उद्घाटन कार्याक्रममा डाक्टर पच्याले अस्पतालको पछिल्लो अवस्था र भएका कामहरुको बारेमा जानकारी गराएका थिए । जिल्लामै अक्सिजन उत्पदानका निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिक र राज्यको लगानीमा जिल्लामा उदाहरणिय काम भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याले बताए ।
नागरिक स्तरबाट चौरासी पुजाको खर्च कटाएर प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको आज सपना पूरा भएको अर्यालले बताए । प्लान्ट उद्घाटन कार्यक्रममा प्लान्ट निर्माणमा सहयोग गर्ने र गुल्मी अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताए ।
अस्पतालमा सेवामा महत्वपूर्ण योगदान गर्ने कर्मचारी स्वास्थ्य कर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्ने हौसला दिलाउनको निम्ति सम्मान गरिएको पाण्डेको भनाई छ ।
अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको थियो । गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको छ ।
प्लान्ट निर्माणको लागि गुल्मी उद्योग वाणिज्य संघले भवन निर्माण गरिदिएको थियो । गत वैशाख–जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । तर अब भने जिल्लामा अब अक्सिनको अभाव नहुने अपेक्षा लिइएको छ ।