जिल्ला समाचार

१ करोड ३३ लाख लगानीमा संचालन गरिएको हाटबजार ६ महिना नपुग्दै बन्द

सन्तोष महतारा
गुल्मी, १९ साउन । गुल्मीमा बर्खा लागे कै कारण हाटबजार बन्द भएको छ । जिल्लाको सदरमुकाम रेसुङ्गा नगरपालिकाको वडा नम्बर ९ चारीखोलामा संचालित हाटबजार बर्खा लागेसँगै
बन्द भएको हो । गएको कार्तिक महिनाको २३ गतेदेखी संचालनमा आएको उक्त हाटबजार गएको चैत्र महिनादेखी बन्द अवस्थामा रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को समस्याका कारण भएको लकडाउनले गर्दा बन्द भएको उक्त हाटबजार अहिलेसम्म संचालनमा आउन नसकेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । करिब डेढ करोड लगानीमा संचालन गरिएको हाटबजार गतबर्षको कार्तिकदेखी चैत्रसम्म मात्रै ६ महिना पनि चल्न सकेन ।

“गएको चैत्र महिनाबाट लकडाउनको कारणले हाटबजार बन्द भएको हो । तर अहिलेसम्म खुल्न नसक्नुको कारण बर्खा नै हो । तरकारी तथा कृषि उपज संकलनको लागि गाउँ पुग्नुपर्ने भएकोले यातायातको समस्याका कारण अहिलेसम्म हाटबजार बन्द नै छ ।” रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिले भने ।

मानिसको दैनिक जिवनसँग जोडिएको आधारभूत आवश्यकता अन्र्तगतको तरकारी तथा कृषि उपजहरुको विक्री केन्द्र अहिलेसम्म संचालनमा नआउनाले तम्घासका स्थानियहरु आक्रोशित बनेका छन् ।

नगरपालिकाले आफै संचालन गरेको उक्त हाटबजार प्रभावकारी हुन नसकेको र बर्खापछि यातायातको असुविधासँगै तरकारीको अभाव भएका कारण हाटबजारलाई तत्काल संचालनमा ल्याउन नसकिने रेसुङ्गा नगरपालिकाले जनाएको छ । हाटबजारमा केही भौतिक संरचनाहरु पनि व्यवस्थित गर्न लागिएको छ । “अब नगरपालिकाले कुनै सहकारी तथा इच्छाएको व्याक्ति सँग समन्वय गरेर हाटबजार संचालन गर्ने खाका तयार गर्दै छ । समूह , सहकारी तथा इच्छाएको व्याक्तिले नगरपालिकाले तोकेको मुल्यमा तरकारी तथा कृषि उपज बेच्नुपर्ने हुन्छ । जसलाई नगरपालिकाले अनुगमन तथा मुल्यांकन गर्ने छ ।” प्रमुख प्रशासकीय अधिकृत मरासिनिले भने ।

समूह सहकारीले हाटबजारमा सहकार्य गरेपनि उनीहरुले चाहेको मुल्यमा भने विक्री गर्न पाउने छैनन् । कृषकसँगको निर्यात रकममा यातायातको शुल्क मात्रै जोडेर व्यवस्थापन गर्न लागिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । करिब डेढ करोड रुपैँया खर्च गरेर शित भण्डार सहित नगरपालिकाले संचालनमा ल्याएको उक्त हाटबजार ६ महिना नपुग्दै बन्द हुनु र नगरपालिकाले नै प्रभावकारी भएन भन्दै पन्छिन् खोज्नुले नगरपालिकामाथि प्रश्न उठाएको छ । १ करोड ३३ लाख ५० हजार लगानीमा शित भण्डार सहित संचालन गरिएको हाटबजार ६ महिना नपुग्दै बन्द हुनु नगरपालिकाको लापर्वाही नै हो ।

हाटबजार संचालन नहुनाले सदरमुकाम तम्घासका उपभोक्ताहरु बाहिरी बजारमा चर्को मुल्य तिर्न बाध्य बनेका छन् । तम्घासमा अहिले टमाटर प्रति केजी १२०, प्याज ४५, भेन्डी ९०, तितो करेला १००, काँक्रो ५०, घिरौला १०० , लौका ७०, सिम्ला मिर्च १५०, खुर्सानी १२० , सानो सिमी १४० , फूल गोभी १५०, वन्दा ७०, सिमी १३०, अदुवा १८०, लसुन ३००, कागती १८० रुपैयाँ मुल्य रहेको छ । हाटबजारमा भने बाहिरी बजारमा भन्दा तरकारी तथा कृषि उपजको मुल्य ३५ प्रतिशत सस्तो थियो ।

हाटबजार भाद्र १५ भन्दा अघि संचालन हुने सम्भावना नरहेको नगरपालिकाले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D