जिल्ला समाचारमुख्य हेडलाईन

हिम्मतवाली गंगा दिदि, दुवै खुट्टा बिनै संसार चिहाइन….

टोपलाल अर्याल
गुल्मी, २५ फागुन। गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेकी ३४ बर्षीया गंगा रायमाझी । कहिले अग्ली कहिले आधा मात्रै । झट्ट देख्दा कसैले पत्याउँदैनन् । सधै मन्द मुस्कान । जीवनको कुनै पश्च्याताप छैन् । गंगा ०४२ सालमा जन्मिएकी । ६ सन्तान मध्येकी माइली तर पहिलो छोरी । गंगाको आगमनले परिवार खुसी नहुने कुरै भएन् । आमा सुत्केरी बस्न मामाघर गइन् । गाउँमा न्यानोका हिसाबले अगेना छेउँमै सुत्ने चलन । आमासंगै सुतेकी गंगा राति एक्कासी आगोमा परिन् । त्यति बेला गंगा तीन महिनाकी थिइन् ।

गाउँमा राम्रो उपचार थिएन् । परिवारले बोकेर सदरमुकाम तम्घास ल्याए । तीन महिना तम्घासमै राखेर जमना अनुसारको उपचार पनि गरे । घाउ निको हुनुको सट्टा बिग्रदै गयो । परिवारले गाउँ फर्काए । बिस्तारै दुवै खुट्टा खसे । गंगाले जन्मिएर बालापनको सुखद क्षण तातेतातेनै गर्न पाइनन् । विकट गाउँ । सुख र सुविधा थिएन । अनेक सामाजिक सोचकाबीच गाउँमा दुवै खुट्टा बिनाको २० बर्षे जीवन । गंगाले दुई खुट्टाले टेकेर संसार चिहाउने कल्पना समेत गरेकी थिइनन् । तर संघर्षकै कारण गंगा अहिले थुप्रै अपाङ्गहरुको अध्याँरो भित्रको आशा बनेकी छन् ।

‘रब’ संगको संयोग

गंगाले बिद्यालय नजिक पर्ने भएकाले १० बर्षसम्म मामाघर बसेर अर्जे माविबाट ०५९ सालमा एसएलसी दिइन् । त्यसपछि गंगा खुट्टाको अप्रेशन गर्न पोखराको हरियोखर्क पुगिन् । त्यो बेला गंगालाई न्युजिरल्याण्डका नागरिक ‘रब’ ले देखे । अस्पतालमा कृत्रिम खुट्टा बनाउने हरि बानियाँ मार्फत उनको सवै कुरा रबले पत्तो पाए । गंगाको भविष्यको योजना सोधे । गंगाले सिएमए पढ्ने र जागिर समाज सेवा गर्ने सपना रहेको सुनाइन् । अपाङ्गताभित्र गंगामा भरिएको त्यो उर्जाले रब प्रभावित भए । गंगालाई हौसला थप्दै सहयोग गर्ने बचन दिए । रबकै सहयोगमा गंगाले सिएमए पढिन् । ६ बर्ष अस्पताल विकास समितिमा समेत जागिरे बनिन् ।

कल्याणकारी सोँच

रबले गंगालाई मात्रै सक्षम बनाएनन् । अरु अपाङ्गता भएका व्यक्तिहरुको समेत कल्याण सोचे । गंगाको समाजसेवा गर्ने बाल्यकालकै सपना पुरा गर्न रबले संस्था स्थापनाको परिकल्पना गरे । थुप्रै सोचहरुकाबीच रब, गंगा र दान बहादुर केसीको पहलमा ०६३ सालमा आशा अपाङ्ग केन्द्र स्थापना गरियो । गंगाले स्वयसेवी रुपमा काम अगाडी बढाइन् । अहिले संस्थाले १४ बर्षमा पाइला टेकेको छ । उनी केन्द्रको उपाध्यक्ष समेत छन् । गंगाले थुप्रै अपाङ्ग व्यक्तिको जीवनको नयाँ इट्टा भरेकी छन् । सदरमुकाम मात्रै नभएर गाउँ–गाउँमा पुगेर अपाङ्गहरु उद्धार र पुर्नस्थापना गरेकी छन् । मान्छेमा सोच बदलेकी छन् । ओछ्यानकै पशु सरह बाँचेका कैयन पात्रहरुको भरोसाकी पात्र गंगा बनेकी छन् । रब, गंगा र नेपाली तथा गैर–नेपाली व्यक्ति र संघसंस्थाहरुको सहयोगमा थुप्रै अपाङ्गहरुको उपचार तथा पुर्नस्थापना संस्थाले गरिरहेको छ ।

गंगाको बिदेश भ्रमण

गंगाले स्वदेश तथा विदेशमा समेत माया पाएकी छन् । न्युजरल्याडका नागरिक रब र प्रवासी नेपालीहरुको सहयोगमा अमेरिका, बेलायत र न्युजरल्याण्ड र जर्मनको भ्रमण गरेकी छन् । लण्डनको उल्वेज लोटर्स क्लवमा नेपालका अपाङ्गहरुको अवस्था बारे प्रतिवेदन समेत पेश गरेकी छन् । भने न्युजरल्याण्डको रोटरी क्लवमा स्पिच र नृत्य प्रस्तुत गरिन् । क्लवमा संकलित रकमले आशा अपाङ्ग केन्द्रको एक तल्ले भवन निर्माण गरिएको गंगाले बताइन् ।

‘आशा’ संगैका सारथीहरु

गुल्मी जिल्ला समाज युकेले अहिलेसम्म एम्बुलेन्ससहित करिव ४४ लाख सहयोग गरेको छ । अमेरिकी संस्था अलेक्टु स्टाण्र्ड वनले बार्षिक ३५ लाखसम्मका महङ्गा कृत्रिम अंग र ह्विलचियर लगायतका सामग्री र पाँचदेखि सात लाख आर्थिक सहयोग गर्दै आएको आशा अपाङ्ग केन्द्रका लेखा प्रमुख सुरेश श्रेष्टले बताए । त्यस्तै न्युजरल्याण्डका नागरिक रबको संस्था मेण्डले बार्षिक चार लाख तथा क्यानेडियन नागरिक गेलेण्ड गोण्डले व्यक्तिगत रुपमा बार्षिक १० लाख रुपैयाँ सहयोग गर्ने श्रेष्टले बताए । साथै तीन वटै सरकारले थोरै धेरै सहयोग गरिरहेको केन्द्रले जनाएको छ । जसका कारण अहिलेसम्म केन्द्रले एक करोडको संरचना निर्माण गरेको छ । गंगाकै मावली रेसुङ्गा नगरपालिका २ का बल बहादुर थापाले भवन निर्माणको लागि निशुल्क जग्गा प्रदान गरे ।

सीपदेखि रोजगार र पुर्नस्थापना

आशा अपाङ्ग केन्द्रले फिजियोथेरापीसहित स्वास्थ्य जाँच र परामर्श, शिक्षा र व्यावसायीक तालिम प्रदान गरि पुर्नस्थापना गर्ने कार्य गर्दै आएको छ । केन्द्रमा अहिले १२ जना अपाङ्ग व्यक्तिहरु बस्दै आएका छन् । केन्द्रमै अपाङ्ग ६ जनाले जागिर गर्दै आएका छन् । दुई सपाङ्ग र ६ अपाङ्ग कर्मचारी नियुक्ति गरेर संस्था संचालन भएको आशा अपाङ्ग केन्द्रका अध्यक्ष जर्नादन घिमिरे बताए । केन्द्रले आर्थिक बर्ष ०७५÷०७६ मा २४ जनाको स्वास्थ्योपचार, ४८ जनाको फिजियोथेरापी, ३४ जनालाई कृत्रिम हातखुट्टा वितरण गरेको छ । भने २१ जना अपाङ्गता भएका व्यक्तिलाई आवासिय सेवासहित अध्ययन, शिक्षा सामग्री वितरण तथा नगद सहयोग गर्दै आएको अध्यक्ष घिमिरेले बताए । उनले करिव दुई सय जना अपाङ्गहरुको लागि व्यावसायीक सीप विकास तालिम र १६ जनालाई अपाङ्गमैत्री शौचालय र आगन निर्माण गरिदिएको जानकारी दिए ।

तर, राज्यको दृष्टिकोण फेरिएन

गाउँमा अपाङ्गहरु पशु सरह दाम्लोमा छन् । अपाङ्गमैत्री सोच र संरचनाको कमी छ । चन्दा संकलन गरेर स्थापना गरेका संस्थाहरु पनि व्यावस्थापनमा मुस्किल परेका छ । आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष समेत रहेकी गंगा रायमाझीले राज्य स्तरबाटै अपाङ्गहरुको संरक्षण हुनुपर्नेमा जोड दिइन् । ‘यो क्षेत्रमा स्थानीय तहमा कुनै योजना छैन, ठुलो समस्या तर थोरै बजेट छ,’उनले भनिन,‘ अपाङ्गहरुलाई पैसाभन्दा सीप दिन जरुरी छ ।’ उनले आशा जस्ता संस्थाहरु अब सरकारद्धारा संचालन गर्नुको बिकल्प नभएको समेत बताइन् । अपाङ्गहरुद्धारा उत्पादित सामग्रीको बजारिकरणमा समेत समस्या रहेको उनले बताइन् । आशा अपाङ्ग केन्द्रमा निर्माण गरिएका गुडिया, फुलहरु, लेवण्टी र अगरवत्ति लगायतका सामग्रीले बजार नपाइको रायमाझीले गुनासो गरिन् । उनले नबिकेकै कारण मैनबत्तिको उत्पादन बन्द गरेको बताइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D