gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

स्थानीय तहमा वडासचिव अभाव: ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता र कोठाभाडा दिँदा पनि आकर्षण भएन

टोपलाल अर्याल
गुल्मी, चैत २८ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा आठ वडा छन्। जसमध्ये दुई वडामा मात्र सचिव छन्। वडा नम्बर २ का सचिव दुर्गाप्रसाद शर्मा हुन्। शर्माले वडा नम्बर १ को काम पनि गर्दै आएका छन्। वडा नम्बर ८ मा लक्ष्मी अर्याल कार्यरत छिन् भने वडा नम्बर ३, ४, ५, ६ र ७ मा वडासचिव छैनन्।

गाउँपालिकाको असिस्टेन्ट सबइन्जिनियर राधा खत्री हुन्। उनले वडा नम्बर ३ को वडासचिवको कामसमेत हेर्दै आएकी छिन्। दीपक गौतमले प्रशासन, जिन्सी शाखा र वडा नम्बर ४ को वडासचिवको काम गरिरहेका चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। असिस्टेन्ट सबइन्जिनियर लीलबहादुर कालाले पनि वडा ५ को सचिव र ६ को प्राविधिकको काम गरिरहेका छन्। हरेवा स्वास्थ्यचौकीका सिनियर अहेब (छैटाैँ) ललित थापाले पनि वडा नम्बर ६ को वडा सचिवको काम गरिरहेका छन्। यमकुमारी रानाले पालिकाको महिला विकास र प्रशासनसहित वडा नम्बर ७ को वडासचिवको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए।

प्राविधिकलाई वडासचिवको भार

चन्द्रकोट गाउँपालिकामा ११ प्राविधिकको दरबन्दी छ। तीमध्ये पाँचजना स्थायी प्राविधिक छन्। गाउँपालिकाले इन्जिनियरसहितका प्राविधिक करारमा भर्ना गरेर काम गरिरहेको छ। एकातिर वडामा सचिव नहुँदा प्राविधिकले पञ्जीकरणको काम पनि गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर एक प्राविधिकले चार वडाको काम गर्नुपर्ने अवस्था छ। गाउँपालिकामा अहिलेसम्म साढे ४ सय योजना सम्झौता भएका छन्। तीनवटा आय ठेक्कासम्बन्धी छन्। तर, प्राविधिकले आफ्नो कामसँगै पञ्जीकरणको पनि बोझ बोकिरहेका छन्।

विवेक भण्डारी गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर हुन्। उनले अहिले गाउँपालिकाका १, २, ७ र ८ वडामा प्राविधिकको काम गरिरहेका छन्। चारवटै वडामा काम गर्नुपर्ने भएकाले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन नसक्दा छिटो काम सम्पन्न गर्न दवाब आउने गरको प्रतिक्रिया दिए।

करार कर्मचारीको भरमा वडा प्रशासन

मालिका गाउँपालिकाका अधिकांश वडामा अस्थायी कर्मचारीले वडासचिवको काम गरिरहेका छन्। गाउँपालिकाको वडा नम्बर ६ र वडा नम्बर ७ मा मात्र सचिव छन्। वडा नम्बर ४ मा स्थायी वडा सहायकले सचिवको काम गरिरहेका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए। उनका अनुसार मालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा करार कर्मचारीले वडा सचिवको रूपमा पञ्जीकरणको काम गरिरहेका छन्। नागरिकलाई पञ्जीकरणको सुविधाबाट वञ्चित गर्न नहुने भएपछि कार्यपालिकाको निर्णयअनुसार करार कर्मचारीलाई पञ्जीकरणको काम दिएको गिरीको भनाइ छ।

धुर्कोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमलाल खनालका अनुसार वडा २, ३ र ६ वडा कार्यालयमा लामो समयदेखि करारका कर्मचारीले पञ्जीकरणको काम गरिरहेका छन्। सत्यवती गाउँपालिकाको चार वडामा सचिव छैनन्। वडा नम्बर ५, ६, ७ र ८ बाहेकका वडामा करार कर्मचारीमार्फत वडासचिवको काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र रेग्मीले बताए।

चन्द्रकोट गाउँपालिकाका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार घर पायक वा भूगोलकेन्द्रित कर्मचारी नहुँदा जति सुविधा दिए पनि सरुवा हुने गरेका छन्। २५ देखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता, बाहिरबाट आउनेको हकमा कोठाभाडा, खाजालगायतका सुविधा दिए पनि कर्मचारीलाई आकर्षित गर्न नसकिएको उनले बताए।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D