जिल्ला समाचार

सात बर्षपछि पुन हाटबजार संचालन: किसान खुसी, व्यावसायी निराश

टोपलाल अर्याल
गुल्मी, २३ कार्तिक। जिल्लाको सदरमुकाम तम्घासमा सात बर्षपछि हाट बजार संचालनमा आएको छ । कृषि तथा पशु उपज संकलन तथा शितभण्डारसहितको हाट बजार संचालनमा आएको हो । हाट बजारको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले उद्घाटन गरे । रेसुङ्गा नगरपालिकाले एक करोड ३३ लाखको लागतमा हाट बजार संचालन गरेको छ । अहिले संचालनमा आएको हाटबजार अत्याधुनिक शितभण्डारसहितको रहेको रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बताए । यो अत्याधुनिक शित भण्डारको क्षमता पाँच टन रहेको छ । कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यावस्था मिलाइएको गौतमले बताए ।

मुल्यमा जुहारी : व्यावसायी निराश

हाटबजारको कृषि उपजहरु बजारकोभन्दा करिव ३५ प्रतिशत सस्तो रहेको नगरपालिकाको दावी छ । नगरपालिकालका पशु प्राविधीक पशुपति मरासिनीले धेरै पटक छलफल र बहसपछि मात्रै कृषक र नगरपालिकाको सहमतिमा मुल्य निर्धारण भएको बताए । उनले उत्पादकले उत्पादनको सहि मुल्य पाउने र उपभोक्ता कम मुल्यमा गुणस्तरिय वस्तुको उपभोग गर्ने गरि हाटबजार संचालन गरिएको बताए । तर तरकारी व्यावसायी भने बजार मुल्यमा सन्तुष्ट छैनन् । उनीहरुले आफुहरुलाई बिचौलियाको दृष्टिकोणले हेरेर मात्रै हाटबजार संचालन गरिए दिगो नहुने बताए । धन बहादुर राना तरकारी व्यावसायी हुन् । उनले व्यावसाय संचालन गरेका बर्षौ भए । हाटबजारबाट कृषक मात्र खुसी बनाएर नहुनेमा रानाको जोड छ । ‘शनिबार हाटबजारमा तोकिएको र बाहिरी बजारको मुल्यमा केहि फरक छैन,’उनले भने,‘मुल्यको जोखिम नगरपालिकाले मोलेर व्यावसायीलाई बिचौलिया भन्न पाइदैन् ।’ शुक्रबार रानाले नगरपालिकालाई ३५ रुपैयाँको फुल गोपी दिएको बताए । तर नगरपालिकाकै हाटबजारमा शनिबार ६० रुपैयाँ गोपीको मल्य देखेर अचम्ममा परेको रानाले बताए ।

किसान खुसी : उचिल मुल्य

हाटबजारमा उत्पादक किसानले पहिलो दिन शनिबार मात्रै तरकारी बेचे । अब हाटबजारमा नगरपालिकाकै कर्मचारी हुनेछन् । कृषक र नगरपालिकाले कृषि उपजहरुको खुद्रा मुल्य निर्धारण गरेको छ । नगरपालिकाले किसानको कृषि उपज निश्चित मुल्यमा खरिद गरेर उपभोक्तालाई बिक्री गर्ने योजना बनाएको छ । जसका कारण किसानहरु उत्साहित छन् । रेसुङ्गा नगरपालिका १० सिमिचौरका बिनोद कुवंरले किसानले मुल्य पाउने कुरामा नगरपालिकाका नयाँ कामको सुरुवात गरेको बताए । उनले किसानसंगै व्यावसायीहरुसंग पनि समन्वय आवश्यक रहेको बताए । उत्पादन गर्न सके डोको बोकेर किसान पसल चहार्नु पर्ने बाध्यताको अन्त्य भएको कुवरले बताए । उनले किसानहरु आफु बेच्न सक्ने अवस्था नहुने भएकाले निरन्तरता पाए नगरपालिकाले गरेको काम प्रसंसनीय रहेको बताए ।

तीन चरणमा हाटबजार संचालन

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले तीन चरणमा हाटबजारलाई अगाडी बढाउने बताए । पहिलो चरणमा नगरपालिकाले किसानको उत्पादन खरिद गरेर हाटबजारबाट बिक्री गर्ने, दोस्रो चरणमा किसानको फर्ममै पुगेर उत्पादन खरिद गर्ने तथा तेस्रो चरणमा किसानहरु हाटबजारको सवै प्रक्रियामा आएपछि किसान समुह वा सहकारीलाई हाटबजारको व्यावस्थापकीय पक्ष हस्तान्तरण गर्ने योजना रहेको मरासिनीले जानकारी दिए । यो हाटबजार दैनिक खुल्ला रहने छ । कृषि उत्पादनको होलसेल र खुद्रा मुल्य फरक राखिएको छ । शनिबार पहिलो दिन ८० हजार बराबरको खरिद बिक्री गरिएको नगरपालिकाले जनाएको छ ।

चुनौति मिलेर सामाना गरौ

सात बर्षपछि संचालन भएको हाटबजारको चुनौति अझै पनि धेरै छन् । त्यसैले पनि थुप्रै शंका उपशंकाहरु भइरहेका छन् । चुनौतिको मिलेर सामाना गर्न जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले अनुरोध गरे । ‘जहाँ अप्ठ्यारो त्यहाँ सफलता चुनौति भनेर कति दिन बस्ने,’उनले भने,‘अव सवै मिलेर सफल बनाउने हो ।’ उत्पादनको मुल्यको जोखिम नगरपालिकाले व्यहोरेको छ । त्यसको अर्थ किसानहरुको अधिकतम उत्पादन हाटबजारसम्म ल्याउन उत्प्रेरणा थप्ने हो । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले अव किसानले उचित मुल्य र उपभोक्ताले सस्तोमा गुणस्तरिय तरकारी पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कृषक बिनोद कुवंर, नागरिक समाजको तर्फबाट गुणनिधी शर्मा, उद्योग बाणिज्यसंघका रामप्रसाद पन्थी, वडाध्यक्षहरुको तर्फबाट पदम अर्याल, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोख्रेल, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको स्वागत मन्तव्य तथा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D