जिल्ला समाचार

समुदाय–प्रहरी साझेदारी गाउँगाउँमा, जनप्रतिनिधी भन्छन् : भोटसंग अपराध सम्झौता गर्दैनौ

टोपलाल अर्याल
गुल्मी, १५ मंसिर। इश्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले भोटसंग समाजको अपराध सम्झौत गर्न नसकिने बताए । उनले भोट दिएका कारण कार्यकर्ताले जे गरेपनि स्थानीय सरकार आँखा पट्टी बाँधेर बस्न नसक्ने बताए । ‘दैनिक घटने घटनाले इश्माको नागरिक भन्न लाज मान्नु पर्ने अवस्था आइसक्यो,’उनले भने,‘भोट दिएको नाममा पछि पर्दैनौ ।’ त्यस्तै गाउँपालिका उपप्रमुख बिमला खत्रीले पनि केहि रचनात्मक र सृजनात्मक काम गर्न खोजे कार्यकर्ता र केहि नेताहरुले नै भोटलाई जोडेर मनोवल गिराउने काम गरेको बताइन् । ‘भर्खरै बजार अनुगमन ग¥यौ, धेरैको स्यावासी पाएपनि केहिले चोकचोकमा भोटको धम्की दिन्छन,’उनले भनिन,‘सभ्य समाज निर्माण गर्दा पछि परे फरक पदैन् ।’ इश्मा गाउँपालिकाका वडा नं ५ का कार्यबहाक अध्यक्ष नारायण पैयानीले आफुहरुले पटक पटक कार्यकर्ताबाट भोटको धम्की आउने गरेको बताए । उनले समाज सुधार र विकासका काममा आफुहरुले केहि जोखिम उठाउन खोजे कार्यकर्ताले भोट दिएको वा भोली उठ्ने कुरालाई भोटको संंज्ञा दिएर चेतावनी दिने गरेको बताए ।

अभिभावक भन्छन् : मदिरा नियन्त्रण हैन, निषेध गरौ

इश्मा गाउँपालिकामा मदिराका कारण अपराधका घटना बढ्दै जान थालेपछि अभिभावहरु समेत चिन्तित छन् । नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्र बहादुर महतले मदिरालाई निषेध गर्नु पर्नेमा जोड दिएका छन् । उनले मदिरा नियन्त्रण गर्दै निषेध नै गर्न असम्भव भए एकल व्यावसाय बनाउन आग्रह गरे । ‘समाजमै घटना घटदा समाजले नै लुकाउने भएकाले समुदाय–प्रहरी साझेदारी आवश्यक रहेकाले सवै जुटे अपराध न्यूनिकरण गर्न सकिने बताए । इश्मा गाउँपालिका ४ की बाल कुमारी अधिकारीले अहिले घरेलु मदिरासंगै ७० युपिको रक्सीका कारण समस्या भैरहेको बताइन् ।

इश्मा गाउँपालिका ५ का छविलाल अधिकारीले अहिले रक्सी नदिए काम गर्ने खेतला पाउन समेत मुस्किल पर्ने अवस्था रहेको बताए । ‘मदिरा नियन्त्रण गर्ने अभियान धेरै आए कार्यन्वयनमा समस्या रह्यो नियन्त्रण हैन निषेध गरौ,‘उनले भने,‘म दिलो ज्यान दिएर लाग्न आतुर छु ।’ त्यस्तै इश्मा गाउँपालिकाका स्रोत व्यक्ति लाल बहादुर कुवंरले बालबालिकालाई पैसाको लोभ देखाएर लागु पदार्थ ओसार पसारको माध्यम बनाउने र सार्वजनिक क्षेत्रको नजिक रहेका मदिरा पसल र बिक्री वितरणको बिषयमा गाउँपालिका र सरोकारवाला सचेत बन्नुपर्नेमा जोड दिए । त्यस्तै उनले पछिल्लो समय बालबालिका बनभोज जाने र लठ्ठिएर फर्किने प्रवृति तर्फ सवै अभिभावक सचेत रहनुपर्नेमा जोड दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले भर्खरै मदिरा नियन्त्रणका बिषयमा गाउँ कार्यपलिकाले केहि महत्वपूर्ण निणर्य गरेको बताउँदै कार्यविधी मार्फत नियमन गरिने बताए ।
समुदाय–प्रहरी साझेदारी मार्र्फत गाउँगाउँमा सचेतना

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका छन् । प्रहरीमा आउने घटनाको आधारमा अरु स्थानीय तह मध्ये इश्मा गाउँपालिकामा अपराधका घटना धेरै छन् । मदिराका कारण अपराधका घटनामा बृद्धि हुँदै गएपछि समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरी र स्थानीय सरकार टोलटोलमा पुगेर सचेत बनाउन थालेको छ । शुक्रबार गुल्मीका प्रहरी प्रमुख एसपी दिपक बस्नेत र इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टसहितको टोली बुल्मको कुमाल गाउँ पुगेर सचेतना कक्षा र इश्मा गाउँपालिका ४ को दोहलीमा अभिभावसंग अन्तरक्रिया गरेको छ । बुल्मका करिव डेढ सय कुमाल समुदाय र दोहलीका करिव दुई सय अभिभावको उपस्थितीमा प्रहरी प्रमुख बस्नेतले मदिरा सेवनका कारण इश्मामा घटेका हत्या, बलात्कार, आत्म हत्या लगायतका घटना र मुद्धाको बारेमा जानकारी दिएका थिए । उनले सवै घटनाको अन्तिम कारण मदिरा भएकाले नियन्त्रण, उत्पादन र बिक्रि वितरणमा गाउँपालिका र प्रहरीको सक्रियतामा चाहिने बताए । ‘अहिलेको पुस्ता र समुदायलाई मदिराबाट टाढा बनाउन नसके १५ बर्षपछिको समाज अपराधीहरुको मात्रै हुनेछ,’उनले भने,‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम सक्रिय बनाए, न्यूनिकरण सम्भव छ ।’

इश्मामा बलात्कार र आत्महत्या दर बढ्दै

जिल्ला प्रहरी कार्यालय गुल्मीको तीन बर्षे तथ्याङ्कको आधारमा इश्मा गाउँपालिकामा बलात्कार र आत्महत्याको दर बढ्दै गएको छ । आर्थिक बर्ष ०७३÷०७४ मा एउटा बलात्कार भएको थियो । त्यो अवस्था आर्थिक बर्ष ०७४÷०७५ मा बढेर तीन पुग्यो । यो आर्थिक बर्षको अहिलेसम्म चार वटा बलात्कारका घटना इश्मा गाउँपालिकाका विभिन्न स्थानमा घटेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन खड्काले बताए । त्यो सवैको कारण मदिरानै भएको खड्काले बताए । त्यस्तै इश्मा गाउँपालिकामा तीन बर्ष भित्र २१ जनाले आत्म हत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ । आर्थिक बर्ष ०७३÷०७४ मा पाँच, ०७४÷०७५ मा सात र यो आर्थिक बर्षको अहिलेसम्म नौ जनाले आत्म हत्या गरेका छन् । अनुसन्धान गर्दै जाँदा आत्महत्याको पनि ९५ प्रतिशत कारण मदिरा सेवननै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक बस्नेतले बताए । बाल बिबाह, बहुबिबाह, मानव बेचबिखन, केहि सामाजिक अपराध र धेरै घरेलुहिंसाका घटना इश्मा गाउँपालिकाका छन् ।

दलित र जनजातिमा अपराध मौलाउँदै

जिल्लाका सवैभन्दा धेरै कुमाल परिवार भएको गाउँपालिका इश्मा हो । गाउँपालिकाको वडा नं ६ अम्मरपुरको बुल्म, वडा नं ५ को हुलाके, वडा नं ३ को खहेरा र वडा नं २ को पालुखा र रातचौर कुमाल समुदायको मुख्य बसोबास हो । त्यस्तै इश्मा गाउँपालिकामा कुमालसंगै गुरुङ्ग र मगर लगायतका जनजाति र दलित समुदाय पनि उत्तिकै छन् । सवैमा बिपन्नता छ । अधिकांशका छोराछोरी सदरमुकाम र देशका साना ठुला शहरका होटलहरुमा भाँडा माझ्ने गर्छन् । यो समस्या गुरुङ्ग मगरमाभन्दा दलित र कुमाल समुदायमा बढि छ । यो समुदायको आम्दानीको स्रोत मजदुरी नै हो । शिक्षाको उज्यालोबाट दलित र जनजाति समुदायको पुरानो पुस्ता पछाडी छ । भने नयाँ पुस्तालाई उचित वातारण र संरक्षण छैन् । धेरै परिवारमा श्रीमान श्रीमतिनै मदिरा सेवन गर्छन् । जसका कारण यो समुदायमा हत्या, बलात्कार र घरेलुहिंसाका घटना भैरहेका छन् । गुल्मीका १२ स्थानीय तह मध्ये अहिले इश्मा गाउँपालिका अपराधको रेड जोन बनेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D