जिल्ला समाचार

सत्यवति गाउँपालिकाको झण्डै ३४ करोड बजेट

अनिल खत्री
३१ असार गुल्मी । गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाको गाउँसभाले आ.ब. ०७५ र ०७६ को वार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाको उपाध्यक्ष सुवर्ण शाही शेरचनले प्रस्तुत गर्नुभएको वार्षिक आय व्ययको विवरण बजेटको कुल सिलिङ रु.३३ करोड ९७ लाख १९ हजार ९ सय ५० मध्ये संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त बजेट रु.१७ करोड ४ लाख रहेको छ ।
विकास र पूँजिगत तर्फ रु.१० करोड ६ लाख ५ सय ८८, चालु प्रशासनिक तर्फ रु.४ करोड ८ लाख ४४ हजार ३ सय ६२ र शिक्षा, स्वास्थ्य, कृषि, पशु र महिला विकास क्षेत्रमा शिलिङबाट रु.२ करोड ७८ लाख ७५ हजार र पूँजिगत बजेट बाट समेत उल्लेख्य बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
बजेटमा भौतिक पुर्वाधार, आर्थिक विकास, सामाजिक विकास, संस्थागत सेवा सुधार, वातावरण र विपद व्यवस्थापन, संस्थागत विकास, सेवाप्रवाह र सुशासन अन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । यस वर्ष हाम्रो सत्यवति राम्रो सत्यवति अभियान, काठका विद्युतीय पोल विस्थापन कार्यक्रम, प्लास्टिक धुँवामुक्त गाउँपालिका योजना जस्ता योजनाहरु गाउँपालिकाले अघि सारेको छ ।
हरित सडक अभियान, एक घर एक करेसा बारी कार्यक्रम, बाँझो जमिन राख्ने प्रवृति दुरुत्साहन, एक वडा एक हाटबजार, कार्यक्रम पनि समाबेश गरेको गाउँपालिकाले जनाएको छ । एक वडा एक नमूना विद्यालय, एक घर एक धारा (केही वडा), विद्यालय सुधार अनुदान कार्यक्रम लगायतका विभिन्न नयाँ र आकर्षक अभियानात्मक कार्यक्रम तथा योजना समेत अगाडि सारेको छ । गाउँपालिकाको वार्षिक नीति कार्यक्रम तथा बजेट गाउँसभाको बहुमतद्वारा पारित भएको जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D