जिल्ला समाचार

संस्कृत शिक्षाको जर्गेना गर्न पाठशाला

टोपलाल अर्याल
गुल्मी, ९ भदौ । गाउँमै संस्कृत शिक्षाको जर्गेना गर्ने उदेश्यले धुर्कोट वस्तुमा संस्कृत पाठशाला संचालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा संस्कृत वडा नं ५ वस्तुको किराँतेश्वर महादेव मन्दिरमा पाठशाला शुरु भएको छ । सोमवार गाउँपालिका प्रमुख भुपाल पोख्रेलले सस्कृत पाठशालाको शुभारम्भ गरे । अझै पनि बहुसंख्यक जनता हिन्दु धर्ममा आस्था राख्ने र गाउँमा पुजापाठ गर्दा पण्डित पाउन मुस्किल भएकाले संस्कृत पाठशाला संचालनमा ल्याएको पोख्रेलले जानकारी दिए ।

संस्कृत पाठशाला सञ्चालन गर्नका लागि गाउँपालिकाले दुई लाख सहयोग गरेको छ । भने पाठशालामा रुद्री र कर्मकाण्ड गरेर २ कक्षा सञ्चालन भएको गाउँपालिका उपप्रमुख शिव बहादुर केसीले बताए । उनले अहिलेलाई पाठशालामा ४० जनासम्मलाई व्यावस्थापन गर्न सकिने बताए । ‘संस्कृत शिक्षा मार्फत समाजमा संचालन भएका परम्परागत धार्मिक कर्मकाण्ड संचालन गर्ने पाठशालाको उदेश्य हो,’केसीले भने,‘नैतिक शिक्षा मार्फत नागरिक तथा समुदायलाई नैतिकवान बनाउँदै लैजाने हो ।’

जातिय भेदभाव रहित पाठशाला

किरातेश्वर मन्दिर ब्यवस्थापन समितीका सचिव नन्दराम भण्डारीले संस्कृत पाठशालामा सवै जातजातीका मानिसहरु सहभागी हुन पाउने ब्यवस्था रहेको जानकारी दिए । विद्यालयमा पठनपाठन गर्ने विद्यार्र्थीहरुलाई समेत मध्येनजर गरेर विहानमा दुई घण्टा कक्षा सञ्चालन हुने भण्डारीले बताए । उनले संस्कृत भाषा लोप हुन थालेपछि समितीमा धेरै सल्लाहा गरेर गाउँपालिकाको सहयोगमा पाठशाला संचालन भएको बताए । सोमवार नै रुद्रीमा सात जना र कर्मकाण्डमा ११ जना भर्ना भएका छन । दलित युवा वावुराम सुनार समेत कर्मकाण्डमा भर्ना भए । गाउँपालिकाले निःशुल्क पठनपाठन र पुस्तकहरुको ब्यवस्था मिलाएको छ । प्रशिक्षकका रुपमा पण्डित कृष्ण प्रसाद पोखरेललाई नियुक्ती गरिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D