जिल्ला समाचार

संरक्षण अभावमा पर्यटकिय स्थल बनमाराले घेर्यो

अनिल खत्री
१९ असार गुल्मी । संरक्षण र प्रचार प्रसारको अभावमा गुल्मीको एक पर्यटकिय स्थल ओझेलमा परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ साबिकको दुबिचौर गाविस २ मा पर्ने भँगारी भवने डाँडा (दारेढुङ्गा) पिकनिक स्थल एबं पर्यटकिय क्षेत्र ओझेलमा परेको हो ।
निर्माण भएको झण्डै ६ वर्ष बितिसक्दा पनि सम्बन्धीत पक्षले ध्यान नदिँदा पर्यटकिय गन्तव्य क्षेत्र ओझेलमा पर्नुका साथै निर्माण गरिएका संरचना समेत जिर्ण बन्न थालेका छन् । ०६८ सालमा पर्यटन मन्त्रालयबाट रु १५ लाख रकम मार्फत निर्माण गरिएका बिभिन्न संरचनाहरु हाल भने जिर्ण बन्दै गएका छन् ।
तत्कालिन समयमा निकै मनमोहक दृश्य सहित निर्माण गरिएका पर्यटकिय स्थलमा दृश्यहरु हाल भने वरिपरि उम्रिएको बनमाराले झेलेपछी जिर्ण अबस्थामा पर्न थालेको छ । भँगारी भवने डाँडा (दारेढुङ्गा) पिक्निक स्थल सम्म पुग्नको लागि ०६९ सालमा रु १० लाखमा मोटर बाटो समेत लगिएको थियो ।
तत्कालिन निर्माण समितिका अध्यक्ष रामबहादुर थापाले उक्त स्थलको निर्माण गरेका थिए । निर्माण कार्य सम्पन्न पश्चात उक्त स्थलको कसैले पनि संरक्षण एबं प्रचार प्रसारमा अगाडी ल्याउन नसक्दा ओझेलमा पर्नुका साथै जिर्ण बन्दै जान थालेको हो ।
निर्माण गरिएको पर्यटकिय स्थलको लागि तत्कालिन दुबिचौर गाबिस र हालको नगरपालिका बाट पनि कुनै रचनात्मक काम भने हुँन सकेको छैन् । जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने उक्त पर्यटकिय स्थलले संरक्षण र रेखदेखको अभाव खड्किएको त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले तथा स्थानिय बासीले जोड दिएका छन् ।
जिल्लाको सदरमुकाम तम्घासबाट पूर्व तर्फ झण्डै १० किलोमिटर पक्की सडक र केहि कच्ची सडक मार्फत पर्यटकिय स्थल सम्म पुग्न सकिन्छ । पछिल्लो समय यता उक्त स्थल हुँदै रेसुङ्गा सम्म पुग्नको लागि सडक मार्गलाई थप स्तर उन्नतीको काम गरिएपनि अन्य मर्मत तथा संरक्षणको लागि भने कुनै चासो देखिएको छैन् ।
भँगारी भवने डाँडा (दारेढुङ्गा) पिक्निक पर्यटकिय स्थलमा बस्नको निम्ती बिभिन्न प्रकारका बिश्राम स्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । पर्यटकिय स्थलबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अघाखाँची,पाल्पा लगायत बिभिन्न स्थानहरु समेत देख्न सकिन्छ ।
पर्यटकिय स्थल निर्माणको लागि तत्कालिन पर्यटन मन्त्रालयका लोकबहादुर खत्रीले धेरै पहल गरेको स्थानिय वासी बताउछन् । उनि पनि दुबिचौर निवासी रहेकाले त्यस क्षेत्रमा पर्ने बिभिन्न मन्दिरहरुसँगै अरु पर्यटकिय क्षेत्रहरुमा सहयोग गरेको बताइन्छ ।
भँगारी भवने डाँडा (दारेढुङ्गा) पिक्निक पर्यटकिय स्थल केहि समय सम्म सिमानामा परेका कारण पनि संरक्षणमा केहि चासो कम रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले बताए ।
संरक्षण र प्रचार प्रसार अभावमा केहि जिर्ण बन्दै गएको छ, वडा अध्यक्ष खत्रीले भने ‘निर्वाचित भएर आएपछी अघिल्लो वर्ष केहि गर्न पाएनौं यो वर्ष ध्यान दिने सोचमा छौं ।’ रेसुङ्गा नगरपालिका मात्रै होइन यसको संरक्षण र प्रचार प्रसार गर्न सके गुल्मीकै गौरव राख्ने पर्यटकिय क्षेत्र बन्ने वडा अध्यक्ष खत्रीले बताए ।
वडा संरक्षण र प्रचार प्रसार गर्न खोजेपनि खानेपानी देखि अरु केहि मर्मत गर्नुपर्ने छ, वडा अध्यक्ष खत्रीले भने ‘वडाको सानो रकमले केहि गर्न सकिदैन् त्यसको लागि समग्र नगरकै ध्यान जान जरुरी छ ।’ पर्यटकिय क्षेत्रको प्रचार प्रसारसँगै संरचना मर्मत गरेर सञ्चालनमा ल्याउन सके पर्यटकिय गन्तव्य बन्नेमा स्थानियको भनाई छ ।
केहि वर्ष पहिले त्यस स्थानमा पुगेका सदरमुकाम तम्घासका सुजन पोखरेलले ठाउँ निकैराम्रो भएपनि अहिले भने धेरै संरचनाहरु बिग्रीएको बताए । उनले यस क्षेत्रमा ध्यान नदिदा यसको महिमा घट्नुका साथै बनमाराले घेरेर सौन्दर्यता हराउँदै जान थालेको बताए ।
सदरमुकाम तम्घासबाट उक्त स्थलमा पुगेका बिशाल नेपालीले पनि पहिला भन्दा फोहोर र बनमारा हटाएर यसको सौन्दर्यता झल्काउन तर्फ ध्यान जान जरुरी रहेको बताए । केहि छिटफुट रुपमा उक्त स्थान पुग्ने गरेपनि धेरैलाई त्यस स्थलको बारेमा समेत जानकारी नभएको स्थानिय लालबहादुर कुँवरले बताए ।
निर्माण सम्पन्न पश्चात पहिला सानो पानी पनि आउने सम्म केहि स्थानिय आउथे कुँवरले भने,‘हाल भने छिटफुट मात्रै आउने गर्छन् ।’ अहिले बनमारा र निर्माण गरिएका संरचनाहरु पनि भत्कीन तथा रङ्ग रोगन समेत हराएर जिर्ण बन्दै गएका छन् उनले भने, ‘समयमै ध्यान नगए भएका संरचना थप जिर्ण बन्नेछन् ।’
रेसुङ्गा नगर पालिका प्रमुख डिल्लीराज भुसालले नगर भित्र भएपनि निर्वाचित भएर आएपछी त्यस क्षेत्र तर्फ ध्यान जान नसकेको बताए । उनले उक्त पर्यटकिय क्षेत्रको स्थलगत अबस्था हेरे समस्या अनुसार समाधान तर्फ ध्यान दिने बताए ।
पर्यटकिय स्थलको मर्मत तथा प्रचार प्रसार गर्नु भन्दा पनि अबस्था बारे नै जानकार नभएको नगरप्रमुख भुसालले बताए । रेसुङ्गा क्षेत्रसँगै भँगारी भवने डाँडा (दारेढुङ्गा) पिकनिक पर्यटकिय स्थलको संरक्षण र रेखदेखमा नगरको तत्कालै ध्यान दिने नगरप्रमुख भुसालले बताए ।
तत्कालै त्यस स्थललाई राम्रो बनाउनको लागि केके आबश्यक पर्दछ अध्ययन गरिनेछ नगर प्रमुख भुसालले भने, ‘सानो रकमबाट गर्न सकिने भए तत्कालै गरिनेछ ।’ नगरपालिकाले नगरभित्रका पर्यटकिय स्थलहरुमा संरक्षण र प्रचार प्रसारमा ध्यान दिने नगर प्रमुख भुसालले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D