जिल्ला समाचार

व्यवसाय संचालनमा गुल्मीका व्यापारिक सँस्था नै विभाजित: एउटाले बन्द गर्नुस् भन्छ अर्कोले खोल्नुस्

हुमाकान्त पोखरेल
गुल्मी, १४ जेठ । लकडाउन कार्यान्वयन र व्यापार व्यवसाय संचालनमा गुल्मीका व्यापारिक सँस्थाहरु विभाजित देखिएका छन् । जिल्लामा क्रियाशिल उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सले जिल्लामा व्यवसाय संचालनसम्बन्धी विपरित धारणा सार्वजनिक गरेका हुन् । जसमा वाणिज्य संघ व्यापार–व्यवसाय पूर्णरुपले बन्द गर्नुपर्ने पक्षमा छ भने चेम्बर अफ कमर्स त्यसको विपरित अर्थात व्यवसाय संचालन गर्नुपर्ने पक्षमा देखिएको छ । यसभन्दा अगाडी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन बिहान ११ देखि दिउसोँ १ बजेसम्म पसलहरु खुल्न पाउने निर्णय गरेको थियो । तर वाणिज्य संघले कुनै पनि व्यवसाय संचालन नगर्न भन्दै विज्ञप्ती जारी गरेपछि व्यवसाय संचालन र खाद्यान्न आपूर्तिमा अन्योलता देखिएको छ ।

वाणिज्य सघंले मंगलबार साँझ एक विज्ञप्तिमार्फत जेठ २० गतेसम्म जिल्लामा संचालनमा रहेका सम्पूर्ण व्यवसायहरु पूर्णरुपले बन्द गरी कोरोनाविरुद्धको लडाइमा एकजुट हुन आग्रह गरेको छ । सँस्थाका अध्यक्ष श्रीप्रसाद भलामीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘गुल्मी जिल्ला कोभिड १९ को उच्च जोखिममा रहेकोले सरकारले तोकेको लकडाउन मिति ०७७ जेठ २० गते राति १२ बजेसम्मका लागि जिल्लामा संचालन हुने एम्बुलेन्सबाहेकका सबै सवारी साधन, व्यापार व्यवसाय बन्द गरि सहयोग गर्न अनुरोध गर्दछौ ।’ वाणिज्य संघले सरकारले जारी गरेको लकडाउन अफुले पूर्ण रुपले कार्यान्वयन गरेको भन्दै अन्य सबैलाई लकडाउनको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

अर्को व्यापारिक सँस्था चेम्बर अफ कमर्सले भने एक हप्ताको बन्दले यो समस्या हल नहुने भन्दै कोरोनाविरुद्धको लडाइमा हतास र हेलचक्रयाइपूर्ण निर्णयले अवान्छित परिणाम निम्त्याउने बताएको छ । उक्त सस्थाँले यो समयमा सावधानिपूर्वक संक्रमण फैलिन नदिई व्यापार–व्यवसाय पूर्ववत ढङ्गले संचालन गर्न आग्रह गरेको छ । साथै लामो समयसम्म पसलहरु नखोल्दा मानिसको दैनिकी थप कष्टकर हुने उसको ठहर रहेको छ । बुधबार बिहान सँस्थाका उपाध्यक्ष विरेन्द्र भुसालद्धारा हस्ताक्षरित विज्ञप्तिमा वाणिज्य संघको विज्ञप्तिप्रति कटाक्ष गर्दै भनिएको छ, ‘जिल्लाको विपद् व्यवस्थापन समितिमा राजनीतिक दलसहितको बैठकमा सहभागी भई सर्वसम्मत रुपमा गरेका निर्णयको खिलाफमा क्षेत्राधिकारबाट बाहिर गई आफुखुसी दैनिक जनजीवन अस्तव्यस्त बनाउने गरी कुनै निर्णय नगर्न आग्रह गर्दछौ ।’

राजनीतिक चपेटामा दुवै सँस्था

जिल्लाका दुई व्यापारिक सँस्थाहरु नै राजनीतिक चपेटामा परेका छन् । जिल्लामा वाणिज्य संघ व्यापारिहरुको साझा सँस्थाको रुपमा थियो । वाणिज्य संघका पदाधिकारीको पदावधी सकिएपछि नयाँ नेतृत्वको लागि ०७५ फागुनमा निर्वाचन भयो । त्यसबेला वाणिज्य संघका सदस्यहरु कम्युनिष्ट र काङ्ग्रेस गुटमा विभाजित भए । अन्तत: निर्वाचन पनि राजनीतिक आस्थाकै आधारमा भयो ।

चुनावमा काङ्ग्रेस निकट प्यानलका सबै उम्मेद्धारले जित हासिँल गरे । निर्वाचनमा हारेपछि कम्युनिष्ट तर्फका सदस्यहरुले जिल्लामा ‘चेम्बर अफ कमर्स’ नामको व्यापारिक सँस्था दर्ता गरे । सोहि बर्षकै चैतको अन्त्यमा चेम्बरको आयोजनामा गुल्मीमा व्यापारिक महोत्सव संचालन भयो । उक्त कार्यक्रममा वाणिज्य संघ र काङ्ग्रेसको प्रतिनिधि कोहि सहभागी भएनन् । यसरी अहिले वाणिज्य संघ काङ्ग्रेस र चेम्बर अफ कमर्स कम्युनिष्ट निकट सँस्था मानिन्छन् । ‘दुवै व्यापारिक संस्था मिल्न नसक्नु दुःखद हो ।’ नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेले भने, ‘एउटै उदेश्य बोकेका सँस्था मिल्न नसक्दा नागरिकमा गलत सुचना प्रवाह भइरहेको छ ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दुवै सँस्थाका प्रतिनिधिहरुलाई प्रशासन कार्यालयमा बोलाई एकै किसिमको धारणा बनाउने प्रयास भइरहेको बताए । ‘दुवै सँस्थाका प्रतिनिधिहरुको रोहवरमा समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ ।’ उनले भने, ‘नागरिकमा पर्न गएको भ्रमप्रति हामी गम्भिर र संवेदनशिल छौ ।’ शर्माले जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय नै आधिकारिक हुनेगरी समाधान खोजिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D