जिल्ला समाचार

विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभाम्बित, ७५ प्रतिशत मुटु र क्यान्सर पीडित

अढाई करोडको सेवा निःशुल्क, ७५ प्रतिशत मुटु र क्यान्सर पीडित

हुमाकान्त पोखरेल
गुल्मी, १३ असौज । सरकारले संचालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभाम्बित भएका छन् । जसमध्ये सबैभन्दा धेरै मुटु र क्यान्सर रोगका बिरामी रहेका छन् । गत आर्थिक बर्षको सुरुदेखि हालसम्म मुटुरोगका ९५ र क्यान्सरका ८३ गरी कुल १७८ बिरामी छन् । जुन कुल सङ्ख्याको ७५.१० प्रतिशत हो । जसध्ये पनि मुटुरोगतर्फ ४८ महिला र ४७ पुरुष तथा क्यान्सरका ५० महिला र ३३ पुरुषले सेवा पाएका छन् ।

विपन्न नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले २०६८ बाट विपन्न नागरिक सहायता कोष संचालन गरेको थियो । विपन्न नागरिकहरुको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकारले उक्त कोष संचालन गर्ने निर्णय गरेको थियो । उक्त कोषबाट गुल्मीका नागरिकले हालसम्म २ करोड ३५ लाखको सेवा निःशुल्क प्राप्त गरेका छन् ।

सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाका बिरामी रहेका छन् । धुर्कोटमा ९ महिला र ७ पुरुष गरी १६ जना मुटुरोगी र ६ महिला ३ पुरुष गरी ९ जना क्यान्सर पीडित भेटिएका छन् । रेसुगां नगरपालिकाका कुल ३३ जना बिरामीले सेवा पाएका छन् । जसमध्ये ८ महिला र ५ पुरुष गरी १३ जना मुटुरोगी र ९ महिला तथा ३ पुरुष गरी १२ जना क्यान्सर लागेका बिरामीले नागरिक सहायता कोषको सेवाको लागि सिफारिस प्रदान गरिएको छ ।

इस्मा गाउँपालिकाबाट सेवा लिएका १२ जनामध्ये मुटुरोगी र क्यान्सर लागेका ४÷४ जना छन् । जसमध्ये ३ महिला र एक पुरुषमा मुटुको समस्या देखिएको छ भने २÷२ जना महिला, पुरुषमा क्यान्सरको समस्या देखिएको छ ।

मुसिकोट नगरपालिकाबाट ५ महिला र ७ पुरुष गरी १२ जना मुटुरोगी तथा ८ महिला र ४ पुरुष गरी १२ जनाको क्यान्सरको उपचारको लागि सिफारिस प्रदान गरिएको छ । गत आर्थिक बर्षको सुरुदेखि हालसम्म नगरपालिकाका कुल २६ नागरिक लाभाम्बित भएका छन् ।

मदाने गाउँपालिकाका ५ जनाले मात्रै यो सेवा प्राप्त गरेका छन् । जसमध्ये ३ पुरुष मुटुरोगीका बिरामी छन् । छत्रकोट गाउँपालिकाका १२ जनाले विपन्न नागरिक नागरिक कोषबाट उपचार गराएका छन् । जसमध्ये ४ महिला र ३ पुरुष गरी ७ जना मुटुरोगी तथा २ महिला र ३ पुरुष गरी ५ जना क्यान्सर पीडितले औषधी गराएको स्वास्थ्य शाखा संयोजक पुण्ड्य गौतमले जानकारी दिए ।

रुरु गाउँपालिकाबाट ३ महिला र १ पुरुष गरी ४ जनाले मुटुरोग तथा ७ महिला र ६ पुरुष गरी १३ जना क्यान्सर रोगको उपचारको लागि सिफारिस प्रदान गरिएको छ ।

चन्द्रकोट गाउँपालिकाका ११ जनाले विपन्न नागरिक सहायता कोषबाट उपचार गराएका छन् । जसमध्ये ३ महिला र २ पुरुष गरी ५ जना मुटुरोग तथा ३ महिला र १ पुरुष गरी ४ जनाले क्यान्सर रोगको निदानको लागि सिफारिस बनाएको गाउँपालिकाले जनाएको छ । गुल्मीदरबार गाउँपालिकाका कुल २९ जनाले सेवा पाएका छन् । ५ पुरुष र ४ महिला गरी ९ जना मुटुरोगी तथा ३ पुरुष र ४ महिला गरी ७ जनाले क्यान्सर रोगीले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।

कालिगण्डकी गाउँपालिकाका ३ महिलाले मुटुरोगसम्बन्धि तथा महिला÷पुरुष १÷१ जना लगायत कुल ९ जनाले विपन्न नागरिक कोषको सेवा पाएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सत्यवती गाउँपालिकाका कुल ३१ जना बिरामीले सो कोषबाट सेवा पाएका छन् । जसमध्ये महिला ४ र पुरुष ९ गरी १३ जना मुटुरोगी तथा महिला ४ र पुरुष ६ गरी १० जना क्यान्सर पीडित रहेका छन् । मालिका गाउँपालिकाका ११ जनाले सेवा पाएका छन् । जसमध्ये २ महिला र ४ पुरुष गरी ६ जना मुटुरोगी तथा ४ महिला १ पुरुष गरी ५ क्यान्सर पीडित बिरामीले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

कसरी बच्न सकिन्छ ?

गुल्मी अस्पताल तम्घासका निमित्त प्रमुख डाक्टर उत्तम पच्याले स्वास्थ्यमा ख्याल गरे मुटु र क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् । नियमित शारीरिक व्यायाम, मोटोपन घटाउने, पोशिलो खाना खाने, चिल्लो र नुन कम खाने लगायतका उपाय अपनाएमा क्यान्सर र मुटुरोगबाट बच्न सकिने उनले सुझाव दिए । त्यसका साथै स्वास्थ्यमा अनियमित तरिकाले कुनै समस्या आउनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D