जिल्ला समाचार

विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

हुमाकान्त पोखरेल
गुल्मी, १६ चैत । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेको महिला स्वास्थ्य स्वयम् सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो ।

भारत वा अन्य मुलुकबाट आएका नागरिकहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकोले उनीहरुको पहिचानको लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । ‘झण्डा राखिएको घर कोहि पनि नजाने र गाउँपालिकाको समुह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौं ।’ उनले भने, ‘यसबाट अन्य तथ्याङ्क संकलनमा पनि सहज हुनेछ ।’

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गुल्मीदरबार गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्यम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम् सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।

गाउँपालिकामा एक हप्तादेखि स्वास्थ्यकर्मीहरुबीच भिडियो कन्फ्रेन्स हुँदै आएको छ । भिडियोमा दैनिक गतिविधिको समिक्षा गर्ने र योजना बनाउने गरिएको अर्यालले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D