कोरोनाजिल्ला समाचारमुख्य हेडलाईन

वास्तवमा मजदुरको सरकार, अलपत्र मजदुर उद्धार गर्दै स्थानीय तह

टोपलाल अर्याल
गुल्मी, ६ बैशाख । मालिका गाउँपलिकाले अलपत्र परेका सल्यानका मजदुरहरुको उद्धार गरेर पठाएको छ । बाग्लुङ्ग हटिया स्थित दरमखोलामा निर्माणाधिन राजा पुलमा काम गरिरहेका सल्यानका १० जना मजदुरलाई उद्धार गरेर सल्यान पठाइएको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए ।

ओखलढुङ्गा कन्स्ट्रक्सनका मजदुरहरु लकडाउनका कारण गाडी र काम बन्द भएपछि पैदल अर्खबाङ्ग आएका थिए । उमेर ढल्केका र बालकसहितका महिलाहरु भएकाले उनीहरुलाई रोकेर खाना खुवाई गाडीको व्यावस्था गरेर सल्यान सदरमुकामसम्म पठाएको थापाले जानकारी दिए । सल्यान कपुरकोट ५ का ४१ बर्षीय डम्बर बहादुर खड्का, ४५ बर्षका तिलक महतरा, ७० बर्षका रत्नलाल घर्ति, ५६ बर्षका राम बहादुर रेउले, २३ बर्षकी मोतिकला शाही, ४ बर्षका सञ्जय शाही, त्रिवेणी ५ का २७ बर्षका संगिता थापा मगर, २६ बर्षका रुपलाल थापा मगर, ५९ बर्षका शसिराम बोहोरा र ५५ बर्षका तोप बहादुर केसीको उद्धार गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

तीन दिनसम्म पैदल र असिना पानीको कुटाई सहेर अर्खबाङ्गसम्म आइपुगेको २३ बर्षीया मोतिकला शाहीले बताइन् । उनले ४ बर्षको छोरासहित बिहिबार र शुक्रबार खुल्ला आकाशमा रात काटेको बताउँदै र बोत्तलको पानीले ज्यान पाल्नु परेको बाध्यता सुनाइन् । ‘बाग्लुङ्गबाट गुल्मीको मालिका आएपछि मात्रै सरकार भेटियो,’उनले भनिन,‘स्थानीय सरकार नै मजदुरको सरकार रहेछ ।’ उद्धार गरिएका सवैलाई बाटो खर्चको समेत व्यावस्था गाउँपालिकाले गरेको छ । त्यस्तै प्यूठानका १६ जना मजदुरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्धार गरेर घर पठाएको छ । पर्वतको रानीपानीमा खानेपानी आयोजनामा काम गर्ने १६ जना मजदुर हिँड्दै धुर्कोट पुगेका थिए ।

तीन दिन हिँडेर धुर्कोट आएका उनीहरुलाई शुक्रबार साँझ गास र बासको व्यावस्था गरेर शनिबार बिहानै जीप मार्फत घर पठाएको गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले दिए । उद्धार गरिएका मजदुर मध्ये तीन जना प्युठान नगरपालिका वडा नं ५ का र १३ जना वडा नम्बर ६ का रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिका ७ की वामीकी ३० बर्षकी उर्मिला पौडेल थापाको नगरपालिकाले उद्धार गरेको छ । पाल्पाको आर्यभञ्याङ्गमा १४ बर्षको छोरासहित बिरामी भएर अलपत्र अवस्थामा रहेकी महिलाको उद्धार गरेर मिसन अस्पतालमा उपचार भइरहेको मेयर सोमनाथ सापकोटाले बताए ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले शुक्रबार शान्तिपुरबाट बाँकेका लागि हिडेका १५ जना मजदुरलाई उद्धार गरर पठाएको स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । नगरपालिकाले वडा नं १४ पराल्मीमा बेवारिसे अवस्थामा फेला परेका ५० बर्षीय भगवतसिंह नाम बताउने व्यक्तिको पनि उद्धार गरेको छ । उनलाई लामो समय क्वारेन्टाइनमा राखेर सम्पूर्ण स्वास्थ्य परिक्षणपछि रुपन्देहिको मानव सेवा आश्रममा शनिबार पठाएको अर्यालले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D