जिल्ला समाचार

लेखा परिक्षण नगर्ने बिद्यालयको खाता रोक्का: पहिलो चौमासिकदेखि शिक्षकले तलव पाएनन्

टोपलाल अर्याल
गुल्मी, ८ माघ । मदाने गाउँपालिकाले दुई बिद्यालयको खाता रोक्का गरेको छ । लामो समय बिद्यालयको लेखा परिक्षण नगरेका मदाने गाउँपालिका ३ सिर्सेनीको सिद्धार्थ प्राबि र वडा नं ५ मलागिरीको बाल कल्याण प्राविको खाता रोकिएको हो । उनीहरुले बिद्यालयको हिसाव किताव सार्वजनिक नगरेसम्म खाता संचालन नगर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

बिद्यालयले पाउने सवै निकासा खातामा पठाए पनि लेखा परिक्षण प्रतिवेदन गाउँपालिकामा नआएसम्म खाता संचालन नहुने भण्डारीले बताए । उनले बिद्यालयका प्रध्यानाध्यापक र बिद्यालय व्यवास्थापन समितिसंग पटक–पटक संवाद गर्दा समेत लेखा परिक्षण नभएकाले बाध्य भएर कार्यपालिकाकै निर्णय अनुसार खाता रोक्का गरिएको जानकारी गराए । ‘यो निर्णयले केहि शिक्षक र बिद्यार्थी प्रभावित भएको बुझेका छौ, त्यो बिषयमा गाउँपालिका भन्दा प्रअ र समिति गम्भीर बन्नुप¥यो,’ उनले भने, ‘चार-चार बर्षको लेखा परिक्षण नगर्नु लज्जाको बिषय हो ।’

चार बर्षदेखि लेखा परिक्षण छैन

मदाने गाउँपालिका ३ को सिद्धार्थ प्राविको चार बर्षदेखि लेखा परिक्षण भएको छैन् । बिद्यालय व्यावस्थापन समिति र प्रध्यानाध्यापकबीचको बिवादले लेखा परिक्षण नभएको हो । जसका कारण बिद्यालयका शिक्षकहरुको तलब, बिद्यार्थीको छात्रवृति र अन्य क्रियाकलाप प्रभावित भएको प्रध्यानाध्यापक धन बहादुर सेनले बताए । दशै खर्चसहित पहिलो चौमासिकदेखिको पैसा नपाउँदा अत्यन्तै समस्या भएको सेनले गुनासो गरे । ‘दोस्रो चौमासिकको तलव बुझने बेलासम्म पहिलोको बुझेका छैनौ’, सेनले भने, ‘अघिल्लो प्रअ र समितिको लडाँईमा अरु परिरहेका छौ ।’ बिद्यालयमा तीन जना दरबन्दी, दुई निजि स्रोत, एक बालशिक्षा, एक पिएन कार्यरत छन् । बिद्यालयमा ५१ जना बिद्यार्थी अध्ययनरत छन् ।

बिवादले प्रध्यानाध्यापकद्धारा राजिनामा

सिद्धार्थ प्रावीका प्रध्यानाध्यापक धिरेन्द्र भटराईले लेखा परिक्षण बिवादकै कारण ०७६ बैशाख २६ गते राजिनामा दिए । बिद्यालय व्यावस्थापन समितिले शान्ति मन्त्रालयबाट भवन निर्माणमा आएको आठ लाखसहित बिद्यालयको हिसाब किताव प्रध्यानाध्यापकले सार्वजनिक नगरेको आरोप लगाउँदै आएको छ । तर तत्कालिन प्रध्यानाध्यापक भटराई आफु सवै हिसाब दिने पक्षमा रहेपनि समिति बुझ्न तयार नभएको बताउँछन् । उनले आफुलाई बिद्यालय व्यावस्थापन समितिले अप्ठयारोमा पार्न खोजेको गुनासो गरे । समितिका अध्यक्ष सुर्य बहादुर केसीले प्रध्यानाध्यापक भटराईले एक लाख ५६ हजार अनावश्यक खर्च देखाएकाले आफुले स्विकार नगरेको बताए । भट्राईले आफुलाई अयोग्य भनेर राजिनामा दिन बाध्य पारिएको दावी गरे । तर समितिले भने गल्ती स्विकारर्न नसकेर आफै राजिनामा दिएको बताउँछन् ।

बिद्यालयको बचत झिकेर व्याजमा लगानी

बाल कल्याण प्रावीमा पनि प्रध्यानाध्यापक र समितिकै बीचमा बिबाद चुलिएको छ । जसका कारण लेखा परिक्षण नहुँदा बिद्यालयको खाता गाउँपालिकाले रोकेको हो । ०७० सालमा बिद्यालयको खातामा भएको करिव दुई लाख रकम झिकेर गाउँमा व्याजमा लगानी गरियो । पछि त्यसको यथेष्ट आम्दानी खर्चको विवरण बिद्यालयमा आएन । जसले प्रध्यानाध्यापक र समितिबीच बिवाद सृजना ग¥यो ।

अहिले प्रध्यानाध्यापकले दिएको हिसाव बिद्यालय व्यावस्थापन समितिले मान्दैन । समितिका अध्यक्ष खुमानसिंह खड्काले प्रध्यानाध्यापकले लगानी र खर्च मात्रै देखाएर आम्दानी स्पष्ट नपारेका कारण बिवाद भएको बताए । समितिले आम्दानीलाई मात्रै प्राथमिकता दिने तर खर्चमा असन्तुष्टि देखाउने गरेको प्रध्यानाध्यापक थापाले बताए । बिवादले ०७४÷०७५ को लेखा परिक्षण भएको छैन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D