कोरोनाजिल्ला समाचार

लकडाउनको मौकामा कमसल सामग्रीको प्रयोग

हुमाकान्त पोखरेल
गुल्मी, २७ वैशाख । कोरोना रोकथामको लागि गरिएको लकडाउनमा अधिकाशं निर्माणका काम समेत ठप्प छन् भने केहि निर्माणका काम संचालन भएका छन् । यस्तो अवस्थामा सम्बन्धित निकायबाट विकासका कामको अनुगमन पनि कमै मात्रामा हुने गरेको छ । यसैलाई मौका छोप्दै गुल्मीका निर्माण व्यवसायी कम्पनीले निर्माण कार्यमा कमसल सामग्रीको प्रयोग गरेका छन् । केहीं नागरिकहरुले सरकारले सुरुवात गरेको कोरोना राहत कोषमा रकम समेत जम्मा गरिरहेका बेला निर्माण कम्पनीले भने कमसल सामग्रीको प्रयोग गरेको पाइएको छ ।

सेउघा–सिमाघाट–पुर्कोट दह–मलागिरी अन्तरगतको सडक खण्डमा पुर्कोट दहस्थित कालिमाटी खोलामा सडकको लागि आवश्यक पर्ने पर्खाल उठाउने काम चलिरहेको छ । उक्त कार्यमा निर्माण व्यवसायी कम्पनीले गुणस्तरयुक्त बालुवा, तथा सिमेन्ट प्रयोग गरेको, पर्खालमा आवश्यक मसला नराखेको तथा सिमेन्ट र बालुवाको मात्रा नमिलाएको पाइएको हो । ‘निर्माण व्यवसायीले लकडाउनकै फाइदा उठाउदैँ कमसल सामग्रीको प्रयोग गरिरहेका छन् ।’ अनुगमन गरेपछि जिल्ला समन्वय समितिका सभापति लक्षमण पराजुलीले भने, ‘डिजाइन र अपेक्षाअनुसारको काम हुन गाहे देखिएको छ ।’

बालुवामा अधिकतम माटो र ढुङ्गा मिसिएको, सिमेन्ट र बालुवाको उचित परिणाम नमिलाएको, निर्माण सामग्रीहरुको व्यवस्थापन नभएको, कम गुणस्तर भएको ठाउँबाट बालुवा ल्याएको जस्ता कमजोरी निर्माण व्यवसायीको देखिएको पराजुलीले बताए । यसले गर्दा काम जहिले सकिएपनि गुणस्तरअनुसारको भने नहुने उनले बताए । लकडाउनले गर्दा आफुहरु पनि बाहिर हिड्न सक्ने स्थित नभएकोले निर्माण व्यवसायीले त्यहि मौका छोपेर बदमासि गरेको उनको भनाई छ । जिल्लामा सञ्चालित अन्य योजनाका कार्यहरुमा पनि यस्तै कमजोरी भएको हुनसक्ने र त्यसलाई स्थानीय नागरिक तथा स्थानीय तहले अनुगमन गर्नुपर्ने उनले बताए ।

एक करोडको काम ४५ लाखमा

गत मंसिर १० गते सम्झौता भएको उक्त सडक खण्डको काम आगामी जेठ १० गतेसम्म सकिसक्नुपर्नेछ । निर्माण कम्पनीले ५२ हजार घनमिटर बाटो चौडा बनाउने र दुई ठाउँमा हिमपाइप राख्नुपर्ने मदन भण्डारी राजमार्ग योजना कार्यालय, गुल्मीका निमित्त आयोजना प्रमुख सुमित केसीले बताए । उक्त कार्यको लागि कार्यालयले एक करोड लागतको टेन्डर आह्वान गरेको थियो । जसमा रकेट विल्टर नामको निर्माण कम्पनीले भ्याटसहित ४५ लाखमा कामको जिम्मा पाएको थियो । यसमा काम गरेबापत भ्याटबाहेक कुल ४० लाख ६७ हजार कम्पनीले प्राप्त गर्ने केसीले बताए । उक्त सडकको दायित्व पाएको कार्यालयले पनि नियमित अनुगमन गर्न सकेको छैन । जसले गर्दा निर्माण व्यवसायीले राम्रोसँग काम गरेका छैनन् । निमित्त कार्यालय प्रमुख केसीले भने एकजना सुपरभाइजरलाई प्रतिनिधिस्वरुप राखेर अनुगमन गरिरहेको दाबी गरे ।

सुस्त अनुगमन

निर्माण व्यवसायी महेन्द्र भण्डारीले आफुले गुणस्तरहिन सामग्रीहरु प्रयोग नगर्न निर्देशन दिएको बताए । कार्यालयको प्रतिनिधि समेत काम भएकै ठाउँमा भएको हुनाले काममा शंका नमान्न उनले आग्रह गरे । तर काममा केहि कमजोरी भए आफु सच्याउन तयार रहेको उनले बताए । अहिले स्थानीय तहमा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति छ । तर उक्त समितिले सम्बन्धित स्थानीय तह मातहतका योजना मात्रै अनुगमन गर्ने र अन्य योजनाहरुबारे चासो नदिने गरेको पाइएको छ । उक्त योजनामा पनि पर्खाल उठाउने काम सुरु भएदेखि गाउँपालिकाको समुह अनुगमनमा पुगेको छैन । गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक सरिता खड्काले संघ र प्रदेशबाट बजेट विनियोजन भएका आयोजनाहरुको अनुगमन गर्दा निर्माण व्यवसायीहरुलाई सँगै नलैजाने बताइन् । तर उनले आफुले गाउँपालिकाभित्रका सबै आयोजनाहरुको अनुगमन गर्ने र आवश्यक सुझाव प्रदान गरेको दाबी गरिन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D