जिल्ला समाचार

रोजगार गुमाएर गाउँ फर्कने युवालाई सहुलियत कर्जा: उद्यम गर्न चहानेलाई ७ लाख रुपैँया सम्म बिना व्याज कर्जा

सन्तोष महतारा
गुल्मी, २१ भदौ । कोभिड १९ ले रोजगारी गुमाएपछि भारत लगायत तेस्रो मुलुकमा रहेका धेरै युवाहरु गाउँ फर्किए । गएको असार मसान्तसम्म मात्रै गुल्मीको मालिका गाउँपालिकामा ५ सय ४७ जना भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपालमै पनि रोजगार गुमाएका, स्थानिय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहने युवाहरुका लागि मालिका गाउँपालिकाले स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई गाउँमै उद्यमशिल बनाउने हिसाबले एक व्यवसायी युवालाई ५० हजारदेखि ७ लाखसम्म सहुलियतपुर्ण कर्जा दिने तयारी रहेको मालिका गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले सहुलियतपुर्ण कर्जाको लागि बैंक अफ काठमाडौंसँग सहकार्य गरेको छ । उद्यम गर्न चाहने युवाले आउने आश्विन १ गतेदेखी सहुलियत ऋण पाउने छन् । उद्यम गर्न युवाले लिएको ५० हजारदेखि ७ लाख रुपैँया सम्मको व्याज तिर्न पर्ने छैन । ऋण लिएको एकवर्षभित्र उक्त रकम फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

‘युवालाई उत्पादनशिल क्षेत्रमा खटाउनको लागि यस्तो कार्यक्रम अगाडी बढाइएको हो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपाल मै पनि रोजगार गुमाएका, स्थानिय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहाने युवाहरुलाई लक्षित गर्दे सहुलियत कर्जाको कार्यक्रम ल्याएका हौं ।”

गाउँपालिकाले कृषि , पशुपालन र उद्योग क्षेत्रलाई प्राथामिकतामा राखेर सहुलियत कर्जा दिने छ । यस कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने , कृषि उपजको अभाव नहुने र सबै युवाहरु उत्पादशिल क्षेत्रमा खटिने आशा रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाई छ । “हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, औद्योगिक क्षेत्रको प्रर्बद्धन र युवालाई गाउँ मै रोजगार दिने हो ।” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ।
यस कार्यक्रममा १८ देखी ६० वर्ष उमेरसमुहलाई समेटिने छ । सबै युवाहरुलाई यस कार्यक्रममा समेट्न यसमा झन्झटिलो प्रक्रिया छैन ।
सबै युवाहरुलाई वडावडामा पुगेर यसको बारेमा सबै प्रावधान जानकारी गराएर कुनै न कुनै सजिलो मापदण्ड अपनाएर अगाडी बढ्ने मालिका गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रममा धेरै युवाहरु उत्साहित बनेका छन् । गाउापालिका यस कार्यक्रमको लागि ४ सय भन्दा बढी निवेदन आइसकेको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमले कृषिलाई व्यवसायीकरण, औद्योगिक क्षेत्रको प्रर्बद्धन , युवालाई गाउँ मै रोजगार र गाउँपालिकालाई समृद्धतर्फ लैजाने छ । युवालाई उद्यमशिल बनाउन सहुलियत कर्जा दिने गाउँपालिकाको मुख्य उद्देश्य हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D