अनिता खत्री
गुल्मी, जेठ १४ । रेसुङ्गा नगरपालिकाले विधि र प्रक्रिया बिना बजेट थपेको आरोप लागेको छ । नगरपालिकामा नेपाली कंग्रेसबाट बिजयी रेसुङ्गा नगर कार्यपालिका सदस्यहरुले आज तम्घासमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।
आर्थिक वर्ष ०७५-७६ का लागि नगर कार्यपालिकाको बैठकले १ करोड १० लाख बजेट बिनियोजन गरे पनि कार्यपालिका प्रमुखसँगको मिलोमतोमा नगरप्रमुखले बिधि र प्रक्रिया बिना रु २५ लाख रुपैँया थप गरेको बताएको हो ।
वडाअध्यक्ष तथा रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका थम्मन केशीले यसप्रति आफहरुको आपत्ति रहेको बताउनुभयो । कार्यपालिकाको निर्णय विपरित रकम एक्कासी थपिएको थाहा पाएपछि आफुहरुले जेठ १० को कार्यपालिका बैठक बहिस्कार गरेको बताउनुभयो ।
के.सीले नगरपालिका पुरै उपेक्षित गरेर बजेट बिनियोजन भएको बताउनुभयो । उहाँले कार्यपालिकाले गरेको निर्णय भन्दा बाहिरबाट निर्णय गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । तर नगरप्रमुख डिल्लीराज भुसालले भने आफु विधि र प्रक्रियाबाटै अगाडी बढेको बताउनुभएको छ । नगरप्रमुख भुसालले भन्नुभयो, ‘यतिबेला रेसुङ्गा नगरपालिकामा खानेपानीको हाहाकार छ । यसको समाधानका लागि नगरभित्रकै कार्यपालिकाबाट पारित भएका योजनाहरुमा रकम थपिएको हो ।’
“यो नितान्त विधि र प्रक्रियाबाटै भएको हो, उहाँहरुले बिरोध गरीरहनुहुन्छ मैले काम गरीरहन्छु”, भुसालले विकासका कुरामा विरोध नगर्न आग्रह गर्दै भन्नुभयो ।