जिल्ला समाचार

रुरु गाउँपालिका जिल्लामै पहिलो पटक पूर्ण भर्ना घोषणा

टोपलाल अर्याल
गुल्मी, बैशाख ३० । गुल्मीको रुरु गाउँपालिकाका सवै बिद्यालय उमेरका बालबालिका बिद्यालय भर्ना भएका छन् । रुरु गाउँपालिकाले यो शैक्षिक सत्रमा सवै बालबालिकालाई बिद्यालय भर्ना गर्ने योजना बनाएको थियो ।

सोहि कार्यक्रम अन्तरगत एक महिना गाउँ–गाउँमा भर्ना अभियान संचालन गरिएको थियो । विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालयमा भर्ना भएपछि बैशाख २९ गते पूर्ण भर्ना गाउँपालिका घोषणा गरिएको छ । गाउँ कार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिकालाई पूर्ण भर्ना गाउँपालिकाको रुपमा घोषणा गरेको गाउँपालिका प्रमुख निलकण्ठ गौतमले बताए ।

अभियान मार्फत पूर्ण भर्ना गर्ने रुरु गाउँपालिका जिल्लामा पहिलो स्थानीय तह हो । जिल्लाका दुई नगर र १० गाउँपालिका मध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख राम बहादुर थापाले बताए । प्रदेश ५ अन्तरगतका जिल्ला मध्ये गत बर्ष रुपन्देहीको सियारी गाउँपालिकाले पूर्ण भर्ना घोषणा गरेको थियो । शिक्षा निर्देशनालय प्रदेश नं ५ का शाखा अधिकृत हरि बिष्टले सियारी गाउँपालिका बाहेक अहिलेसम्म त्यस्तो कुनै सुचना कार्यालयमा नआएको बताए । रुरु गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ वटा विद्यालयमा रहेका छन् ।

नयाँ शैक्षिक सत्रसंगै रुरु गाउँपालिकाले गाउँ–गाउँमा विद्यालय उमेर समुहका बालबालिका विद्यालय बाहिर भए नभएको तथ्याङ्क संकलन गरिएको थियो । जसका लागि जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरु परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । गाउँपालिकाका स्रोत व्यक्ति बामदेव ज्ञवालीले विद्यालय उमेरका बालबालिकालाई विद्यालयभित्र ल्याउन शिक्षा समिति र गाउँपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठक गरेको र भर्ना सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट निर्णय गरी गाउँपालिकामा पठाएपछि अभियान संचालन गरिएको बताए ।

गाउँ–गाउँमा अभियान संचालन गर्दा बिद्यालयमा नियमित नआउने तथा पढ्दा–पढ्दै बिचमै बिद्यालय छाडेका बालबालिका फेला परे पनि विद्यालयनै नगएका बालबालिका नभेटिएको वडा नं ३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शेष नारायण पौडेलले बताए । अभियानकै क्रममा विद्यालय अनियमित हुने तथा बिचमै छोड्ने आठ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको पौडेलले बताए ।

यो आर्थिक बर्षमा रुरु गाउँपालिकाले झण्डै एक करोड बजेट शिक्षा क्षेत्रमा खर्च गरेको छ । बिद्यालय भर्ना अभियान, निजि स्रोत तथा बाल विकासका शिक्षकको तलव, बालप्रतिभा विकास र बिद्यालय आउन प्रोत्साहन गर्ने लगायतको क्षेत्रमा ९५ लाख ५२ हजार आठ सय बजेट खर्च गरिएको प्रवक्ता शेष नारायण पौडेलले बताए । गाउँपालिकाले निजि स्रोतबाट संचालन भएका ३४ बिद्यालयका शिक्षकलाई करिव ५० लाख वितरण गरेको छ । भने चार वटा बाल शिक्षा व्यावस्थापनमा पाँच लाख खर्चभएको पौडेलले बताए । बिद्यार्थीहरुलाई बिद्यालयमा आकर्षित गर्न पोशाक, स्टेशनरी, पाठ्यपुस्तक सहयोग गरेको छ । भने गाउँपालिकाले अग्रेजी माध्यमको पाठ्यपुस्तकका लागि पाँच लाख बजेट बिनियोजन पौडेलले बताए ।

रुरु गाउँपालिकाले सेवा अवधि र उमेर पुगेका शिक्षकहरुलाई अवकास गर्न नयाँ बिधि थालेको छ । स्थायी सेवा २५ बर्ष पुगेको र उमेर ५२ देखि साढे ५८ बर्ष पुरा भएका शिक्षकहरुलाई अवकास प्रोत्साहन उपलब्ध गराउँदै आएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि पन्थले बताइन् । अवकास रोज्ने प्रति शिक्षकले ६० हजार गाउँपालिकाले प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । यो बर्ष ६ शिक्षक अवकास गर्ने योजनाका साथ तीन लाख ६० हजार बिनियोजन गरिएको पन्थीले बताइन् । जस अनुसार राष्ट्रिय माविका बाल कृष्ण ज्ञवाली, रुरु प्राविका पदम थापा र कृष्ण प्रसाद भटराईले अवकास लिएका छन् ।

रुरु गाउँपालिकाले बिद्यालय समायोजन र दरबन्दी मिलानको काम पनि अगाडी बढाएको छ । सोहि अन्तरगत रुरु गाउँपालिका ४ को युग ज्योति प्रावि र बम्घा आधारभुत निमाविमा समायोजन गरिएको छ । त्यस्तै वडा नं १ को मनकामना प्राबिलाई थोर्गा चिउरेक निमाविमा संमायोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । वडा २ को गोबिन्द प्राविलाई पनि भरेक निमाविमा समायोजन गरिएको छ । बिद्यार्थी संख्या कम र सिकाई उपलब्धी अत्यन्तै कम भएको वडा न ४ को जनप्रिय प्रावी र वडा नं ६ को पद्यमा प्राविलाई कक्षा ४ र ५ मा पढाई संचालन नगर्न निर्देशन दिएको गिरीले बताए ।

रुरु गाउँपालिकामा जनप्रतिनिधी र सरकारी कर्मचारीका छोरा–छोरी सरकारी बिद्यालयमा फर्काउने अभियान जारी रहेको छ । केहि दिन अघि रुरु गाउँपालिकाका अनेरास्वाबियू र अनेरास्वावियू क्रान्तिकारी बिद्यार्थी संगठनले जनप्रतिनिधी र सरकारी कर्मचारीका छोरा–छोरी सरकारी बिद्यालयमा भर्ना गर्नुपर्ने माग गर्दै आन्दोलन समेत गरेका थिए । रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले बिद्यार्थीहरुको मागसहित आफुहरुले पनि कानुननै बनाउन नसक्ने भएपनि नैतिक दवाव मार्फत बिद्यार्थीहरु सरकारी विद्यालयमा फर्काउन थालिएको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D