जिल्ला समाचार

रिडीमा गाई आतङ्क: झन्डै २ सय गाईले बेच्न राखेको सामान खाईदिन्छन्, पकाएर राखेको खाना पनि बाँकी रहन दिन्नन्

हुमाकान्त पोखरेल
गुल्मी, ०१ भदौ । जिल्लाको रुरु गाउँपालिका वडा नम्बर १ रिडीबजारमा गाई आतङ्क बढेको छ । बजारमा गाउँगाउँबाट ल्याएर जथाभावि गाई छोडिदिदा स्थानीयलाई सास्ती भएको हो । बजारमा भएको गाईको सङ्ख्या यकिन नभएपनि झण्डै दुई सय गाई भएको अनुमान गरिएको छ ।

गाईले त्यहाँका होटलको खाना, नास्ता, पसलमा विक्रिका लागि राखिएका फलफुल, गुण, चामल, प्याज, दाल, नुन लगायका खाद्यान्नहरु खाइदिने गरेपछि व्यवसायी समेत हैरान भएका छन् । त्यसका साथै गाईले स्थानीयको बारीको मकै, घाँस पनि खाने गरेपछि किसानले पनि हैरानी खेप्नुपरेको छ । ‘गाईले आँखा झिमिक्क गर्न दिदैँन, खाना पकाएर खाने फुर्सद समेत हुँदैन ।’ स्थानीय फलफुल व्यवसायी ज्येष्ठ कुमारी भण्डारीले भनिन्, ‘मेरै पसलबाट स्याउ र केरा धेरैपटक खाएको छ ।’ त्यसका साथै उनले बजारामा गाईले धेरै पहिलेदेखि नै नोक्सानी गर्ने गरेतापनि पछिल्ला बर्षहरुमा बढी नै सताउन थालेको बताईन् । होटल व्यवसायी अन्जली गुरुङले गाईले गाई होटल भित्रै छिरेर पकाएको भात, तरकारी तथा रोटी खाइदिदा आफुहरुलाई समस्या पर्ने गरेको बताए ।

‘चोटपटक लाग्ने गरी धेरै पिट्न पनि भएन, सामान्य तरिकाले धपाउदाँ टेर्दैन ।’ उनले भने, ‘स्थानीय सरकारले उचित व्यवस्थापन गर्नु जरुरी छ ।’ कतिपय अवस्थामा पकाउन ल्याएको तरकारी खाइदिदा समेत आफुहरु जस्ता व्यवसायीले धेरै दुख पाएको उनले बताए ।

दुध दिन छोडेपछि बजारमा छोड्छन् गाई
व्यवसायी शैलेन्द्र दर्लामीले गाईले दुध दिदासम्म घरमा पाल्ने र दुध दिन छोडेपछि रिडी बजारमा ल्याएर छोड्ने प्रचलनका कारण रिडीमा व्यवहारिसे गाईको सङ्ख्या दिनप्रतिदिन बढीरहेको बताए । अन्य ठाउँबाट रातको समयमा ट्याक्टर वा ट्रकमा ल्याई गाई बजारमा छोड्ने प्रचलन बढेको उनले बताए । ‘दुध दिने समसम्म गाई पाल्छन्, दुध दिन छोडेपछि बुढो गाई रिडीमा छोड्छन् ।’ उनले भने, ‘मानिसमा बढ्दै गएको स्वार्थिपनाले समस्या थपिएको हो ।’ त्यसरी छोडिएका गाईको स्थानीय सरकारले गौशाला स्थापना गरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

दुर्घटना बढाउने डर
गाईले बजारका स्थानीय व्यापारी तथा किसान मात्र होइन, बाटोमा हिड्ने पैदल यात्रु र सवारी साधनलाई समेत असर पार्ने गरेका छन् । बजारमा जथाभावि गाई ओहोरदोहोर गर्ने, सडक तथा पुलको बिच भागमा बस्ने गर्दा पैदल यात्रु र सवारी साधनलाई यात्रामा अप्यारो भएको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. रिडीका इन्चार्ज ज्ञानेन्द्र रावलले रिडीमा व्यवहारिसे गाईको सङ्ख्या दिनप्रतिदिन बढीरहेकोले त्यसको उचित व्यवस्थापन नहुँदासम्म यो समस्या रहिरहने बताए । ‘कहिले पुलको बिच भागमा बस्छ त कहिले सडकमा आफ्नै तरिकाले हिडेको भेटिन्छ ।’ उनले भने, ‘गाईको कारण सडक दुर्घटनाको सम्भावना बृद्धि भएको छ ।’

स्मरण रहोस्, गत साउन २८ गते रुरु गाउँपालिका वडा नम्बर ४ मा रातको समयमा लु २ च ३३९२ नम्बरको गाडीको ठक्करबाट एउटा गाईको मृत्यु भएको थियो । गाडी चालक स्थानीय गोविन्दमान श्रेष्ठलाई पशुपक्षिंसम्बन्धी मुद्धा चलाइएकोमा अदालतको आदेशले एक लाख आठ हजार धरौटीमा रिह भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मिन घलले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D