जिल्ला समाचार

यस्तो छ गुल्मीमा कांग्रेसको गाउँ जाने अभियानमा महिला सहभागिता

रमेश विक
गुल्मी । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीको गाउँ जाने अभियानको पाचौँ हप्ता सुरु भएको छ। लैंगिक विभेदको अन्त्य गर्ने उद्देश्यले जिल्लाका मुख्य ब्यापारिक केन्द्रहरुमा हिंसाविरुद्धको कार्यक्रमको सुरुवात गरेको छ । सुरुवातको पहिलो दिन मालिका गाउँपालिका वार्ड नम्बर ८ सिमलटारीमा लैंगिक हिसांविरुद्धको कार्यक्रम गरिएको छ ।

छत्रकोट गाउँपालिकाको पिपलनेटामा महिला हिंसाविरुद्ध बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला हिंसा अन्त्य गरौँ लेखिएका ब्यानर बोकेका स्थानीय महिलाहरुले ¥यालीसहित बजार परिक्रमा गरेका थिए । परिक्रमापछि कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि काङ्ग्रेस जिल्ला सचिव विष्णु सापकोटाले अझै पनि समाजमा विकराल रुपमा लैंगिक हिंसा भइरहेको भन्दै यसलाई जरैदेखि उखेल्नुपर्ने बताइन् ।

घरमा महिलाहरु दबिएर बस्नुपरेको, छोराछोरीमै आमाबाबुले विभेद गरेको जस्ता कुप्रथा नराम्रो भएको भन्दै उनले यसलाई निर्मुल पार्न सबै जुट्नुपर्ने बताइन् । साथै उनले नेपाली काङ्ग्रेस गाउँ पस्नुको कारण र उद्देश्यबारे पनि प्रकाश पारेकी थिइन् । कार्यक्रममा धुर्कोट, मदाने, मालिका लगायतका क्षेत्रका महिलाहरुको उपस्थिति रहेको थियो ।

‘नेपाली काङ्ग्रेस गुल्मीको आह्वान, गाउँ जाऔँ, गाउँमै बसौँ, ५० दिने महाअभियान’ भन्ने मूल नारासहित काङ्ग्रेस गाउँ पसेको थियो । अभियानको क्रममा, वैशाख ४ गते चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा, ५ गते मुसिकोट नगरपालिकाको वामिटक्सारमा पनि लैगिंक हिंसाबिरुद्धको कार्यक्रम गर्ने नेपाली कांग्रेस गुल्मीको महिला विभाग प्रमुख तथा कांग्रेस गुल्मी सदस्य अमृतादेवी कुँवरले जानकारी दिइन् । त्यस्तै, ६ गते रेसुङ्गा नगरपालिकाको तम्घासमा र ७ गते सदरमुकाममै ऱ्यालीको आयोजना गरिएको नेपाल महिला संघ रेसुङ्गा नगरपालिकाका कोषाध्यक्ष निर्मला केसीले जानकारी दिइन् । पाँचौँ हप्ताको कार्यक्रमको लागि विशेष गरी महिलाहरुको नै प्रमुख भूमिका हुने उनले बताइन्।

त्यस्तै कार्यक्रममा नेपाल महिला संघ गुल्मीका अध्यक्ष लक्ष्मी र नेपाल महिला संघ रेनपा सीता पाण्डेको विशेष आतिथ्यता, राधिका न्यौपाने र तारा पौडेलको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सरिता पन्थीले गरेकी थिइन् ।

के हो महाअभियान ?

निर्वाचनमा पराजय ब्यहोरेपछि गुल्मी काङ्ग्रेसले संगठन सुदृढिकरणको लागि भन्दै ५० दिने गाउँ जाउँ अभियानको सुरु गरको हो । जसअनुसार पहिलो चरणमा तीन हप्तासम्म पार्टीका प्रतिनिधिहरु जिल्लाका ९३ वटै वडाका गरिब–दलितको घरमा एक–एक जना बसेका थिए।

दोस्रो चरणमा एक हप्तासम्म समीक्षा गरेपछि काङ्ग्रेसले तेस्रो चरणको कार्यक्रम लैंगिक हिंसासम्बन्धी गर्ने निर्णय गरेको थियो । नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गीय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामीण समस्याहरु अनुभुत समाधानको लागि पहल गर्न, छाया सरकार गठन गरी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुवात गरिएको सचिव खिलध्वज पन्थीले बताए।

आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यकर्तालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरुको सम्बर्द्धनमा सहयोग गर्ने पनि अभियानको उद्देश्य रहेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D