रमेश विश्वकर्मा
गुल्मी, जेठ २८ । रेसुङ्गा नगर कार्यपालिकाको स्थगित बैठक लामो विवाद र रस्साकस्सिपछी सोमबार सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुखले कार्यपालिकाको निर्णय बिनै आफुखुशी २५ लाख रुपैँया बाँडेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जेठ १० गतेको कार्यपालिका बैठक बहिष्कार गरेपछि स्थगित भएको थियोे ।
नगरप्रमुखले नीति नियम विपरीत कार्यपालिकाका सदस्यलाई जानकारी नै नदिइ आफुखुशी योजना छान्ने र रकम बाँड्ने काम भएपछि आफुहरुले बहिष्कार गरेको र सोमबारको छलफलमा सहमति भएपछि कार्यपालिका बैठक सम्पन्न भएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा ८ नं. वडा अध्यक्ष भरत भलामीले जानकारी दिनुभएको छ ।
नगर प्रमुख डिल्लीराज भुसाल र नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्षहरुको पटकपटकको वार्ता पछि सहमतिमा पुगेको जानकारी नेपाली कांग्रेसका जिल्ला सदस्य तथा ३ न.वडाका वडा अध्यक्ष थमन बहादुर केसीले दिनुभयो ।
सहमति अनुसार बैशाख २५ गते र जेठ १० गते कार्यपालिकाको बैठकमा एकलौटी रूपमा लेखिएका, बाँडिएका योजना र रकम सम्बन्धि सबै निर्णयहरुलाइ थपघट गरि पुर्नलेखन गर्ने सहमति भएको १३ नं. वडाका वडा अध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।
सहमती पछि एकलौटी बितरण गरिएको १८ सहित लाख र थप ९ लाख रकम सहित २७ लाख रकम बाँडफाँड भएको योजना र रकम सोमबार सम्पन्न कार्यपालिका बैठकबाट स्वीकृत गरिएको भरत भलामीले जानकारी दिनुभयो ।