टोपलाल अर्याल
काठमाण्डौ, १५ साउन । मालिका गाउँपालिकाका सरोकारवालाहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टसंग भेटघाट तथा विकास निर्माणका बिषयमा छलफल गरेका छन् । गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा, नगेन्द्र अर्याल, राजेन्द्र अर्याल, ओम बहादुर कार्की तथा अन्य सरोकारवालाले मालिकामा भएको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र बिद्युतको क्षेत्रमा भैरहेको कामको बारेमा मन्त्री बिष्टलाई जानकारी गराएका थिए ।
त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिष्टले अब गाउँको साना योजनाहरु गाउँपालिकाले, केहि ठुला योजना प्रदेश र गौरवका योजना केन्द्रबाट संचालन गरिने भएकाले सवैलाई सवै तह र जनप्रतिनिधी मिलेर काम गर्नुको बिकल्प नभएको बताए । उनले गर्न चाहे स्थानीय जनताका धेरै खाले आशा र अपेक्षा स्थानीय तहले नै पुरा गर्न सक्ने भएकाले सुक्ष्म ढंगले काम गरेर देखाउन आग्रह गरे । साथै बिष्टले आफु र मन्त्रालय अहिले एउटा गाउँपालिका, क्षेत्र र जिल्लाका लागि भन्दा समग्र देशमा कसरी रोजगारी सृजना गर्ने, बैदेशिक समस्या हल गर्ने र न्यूनतम ज्याला कसरी कार्याव्यन गर्ने भन्ने बिषयमा चिन्तित भएको बताए ।
‘धेरै घुसखोरी र ठगहरुको समस्या समाधान गर्ने मन्त्रालय समालेको छु, काम गर्न सकिलो छैन, ’उनले भने,‘ कुनै पनि हालतमा ठग प्रवृतिको अन्त्य हुन्छ, जहाँ अप्ठ्यारो छ, त्यहाँ सफलता हुन्छ ।’ उनले डेढ महिना भित्रमा सामाजिक सुरक्षा कामर्यक्रम लागु गर्ने तयारी भएको समेत बताए । त्यो कार्यक्रम लागु भएसंगै श्रमिकको घरमा स्वास्थ्य उपचारको व्यावस्था, दुर्घटना विमाको व्यावस्था र रोजगार सुरक्षाको क्षेत्रमा उल्लेखनीय प्रगती देखिने मन्त्री बिष्टले बताए । उनले यो कार्यक्रम सहि रुपमा कार्यान्वयन भए डेढदेखि दुई करोड घर परिवार लाभाम्बित हुने समेत बताए ।
यो कार्यक्रम ज्यादै नौलो र कठिन भएपनि लागु गर्ने, बैंक मार्फत ज्याला प्रदान गर्ने, संचय कोषको व्यावस्थाको बारेमा पनि निकै फरक ढंगले काम भैरहेको बिष्टको भनाई छ । उनले चौतर्फी हमला र घेराबन्दी भएपनि छ महिनामा नौला र सुखद सन्देशहरु प्राप्त गर्न सकिने बताए । कार्यक्रममा सरोकारवालाले एकिकरण पछिको संरचनाको बिषय टुंगो नलागेकाले थप अघि बढ्न समस्या भएको औल्याएका थिए । जवाफमा बिष्टले आआफ्नो क्षेत्रबाट एकिकरणको प्रक्रियाको शुरुवात गरि संरचना निर्माणमा लाग्न आग्रह गरे ।