जिल्ला समाचार

मालिकामा शुरु भयो सुरक्षित महिनावारी अभियान

गंगा खड्का
गुल्मी १२, फागुन । सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम अर्जै माध्यमिक विद्यालय मालिका गाउँपालिका ६ अर्जैमा आइतवार सम्पन्न भएको छ । मालिका गाउँपालिका गुल्मीको आयोजना र सेवा संचार, सुरक्षित महिनावारी राष्ट्रिय अभियान संजाल गुल्मीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरु सहभागी कार्यक्रममा महिनावारी किन हुन्छ ? महिनावारी भएको बेला अपनाउनुपर्ने सावधानी, सेनेटरी प्याडको प्रयोग, इन्सीनेटर सहितको छात्रा शौचालयको प्रयोगका विषयमा सुरक्षित महिनावारी अभियन्ता एवं सेवा संचार गुल्मीकी अध्यक्ष गंगा खड्काले सहजीकरण गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरीले गाउँपालिकामा संचालित निमावी र माध्यमिक विद्यालयमा सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराउनुभयो । उहाँले कार्यक्रम सम्पन्न पश्चात छिट्टै गाउँपालिकालाई नै महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालये घोषणा गर्ने तयारी रहेको बताउनुभयो । महिनावारी भएको बेला आफ्ना समस्या खुलेरै राख्न समेत उहाँले विद्यालयका छात्राहरुलाई आग्रह गर्नुभयो ।

महिनावारी भएको बेला छात्राहरुको विद्यालयमा अनुपस्थित कम हुने, बीचमै विद्यालय छाड्ने र समग्र शैक्षिक उपलव्धीलाई बाधा पुग्ने समस्या भएको विद्यालयका प्रधानाध्यापक इश्वरी अर्यालले बताउनुभएको छ । अभिमुखीकरण कार्यक्रमपछि समस्या समाधान हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय नजिकै स्वास्थ्यचौकी संचालनमा रहेकाले महिनावारी भएको बेला कुनै समस्या भएमा स्वास्थ्य संस्थामा पुगेर चेकजाँच गर्न र मनका कुरा खुलेर राख्न स्वास्थ्यचौकी इन्चार्ज खिमप्रसाद पोखरेलले आग्रह गर्नुभएको छ ।

अर्जै माध्यमिक विद्यालयबाट शुरु भएको कार्यक्रम मालिका गाउँपालिकाभरी रहेका १६ वटा विद्यालयमा संचालन गर्ने योजना रहेको वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता शोभाखर गिरीले बताउनुभएको छ । गाउँ कार्यपालिकाको कार्यालमा भएको बृहत छलफलपछि सेवा संचार गुल्मी र सुरक्षित महिनावारी अभियन्ता गंगा खड्कालाई सहजीकरणका लागि जिम्मेवारी दिने निर्णय गरिएको उहाँको भनाई छ ।

गुल्मीसहित सुर्खेत, वैतडी, पाल्पा लगाएत जिल्लामा अभियान संचालन गरेको सेवा संचारले स्कुल स्कुलमा पुगेर तिव्र रुपमा अभियान संचालन गरिरहेको छ । गुल्मीका इस्मा र मदाने गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा भइसकेका छन् । गुल्मीदरवार गाउँपालिका र छत्रकोट गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको र छिट्टै घोषणा गर्ने योजना रहेको सेवा संचारले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D