जिल्ला समाचार

मदाने गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम पारित

रमेश विश्वकर्मा
गुल्मी, असार ९ । गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर केसीले गाँउपालिकालाई सवल, समृद्घ र सुखी गाँउपालिका निर्माणका निम्ति प्रतिवद्घ हुँदै यो नीति तथा कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा अध्यक्ष केसीले गाउँपालिकाले स्थानीय तहको निर्वाचन पश्चात प्राप्त गरेका मुख्य उपलब्धी र भए गरेका विकास निर्माणका कार्यहरुको बारेमा संक्षेपमा चर्चा गर्का थिए । प्रतिफलको समान र न्यायोचित वितरण मार्फत जनतालाई परिवर्तनको प्रत्यक्ष अनुभुती दिलाउने, समग्र विकासका लागि महिला, जनजाति, दलित, अपांग, आदिवासि, अल्पसंख्यक पिछाडिएको क्षेत्रको वर्गलाई विकासको मूलधारमा ल्याउने गाउँपालिकाले नीति अगाडी सारेको पनि के.सीले बताए ।

उनले गाउँपालिकालाई आर्थिक विकासमा बलियो बनाउनका लागि कृषि तथा पशुपालनमा विशेष जोड दिने बताए । “गरौ ब्यवसायिक कृषि, यसैवाट हुन्छ मदानेको समृद्धि” भन्ने मुल नारा अहिलेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । पहिलो प्राथमिकतामा कृषि तथा पशुपालनको आधुनिकिकरण र व्यवसायिकरण गरी कृषिको उत्पादकत्व वृद्धी मार्फत गरिवी घटाउन र कृषकहरुको आयस्तरमा वृद्धी गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संगको सहकार्यमा वाख्रा विकास तथा कृषिकार्यक्रमहरु संञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै उद्योग तथा वाणिज्य र पर्यटन विकासबाट पनि गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्नेमा गाउँपालिका विश्वस्त रहेको बताईएको छ ।

“सामाजिक विकासका लागि शिक्षा तथा सञ्चारको अत्यन्तै आवश्यक पर्ने भएकोले गाउँपालिकाले विशेष महत्वका साथ हेर्नेछ”, अध्यक्ष केसीले भने । स्वास्थ्य, खानेपानी तथा सरसफाईले पनि समाज विकासमा ठुलो टेवा पुर्याउने भन्दै आधारभूत र मध्यम स्तरीय स्वास्थ्य सेवा प्रत्येक वडाहरुमा उपलब्ध हुने गरी संस्थागत सुधार र जनशक्ति व्यवस्थापन गरिने, दलित, अल्पसंख्यक समुदायका नागरिकलाई निश्चित मापदण्डका आधारमा जटिल प्रकृतिका रोगहरुको उपचारका लागि निश्चित रकम अनुदान स्वरुप उपलव्ध गराईनेछ ।

त्यस्तै पूर्बाधार विकास, वन, बातावरण तथा विपद् ब्यवस्थापन, वालवालिका, युवा, वृद्धवृद्धा तथा अपांग लक्षित कार्यक्रम वित्तिय ब्यवस्थापन, सुशासन तथा पारदर्शिता लगायतका विभिन्न कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष केसीले बताए ।

कृषि, शिक्षा, स्वास्थ्य, विज्ञान-प्रविधि, पर्यटन तथा वातावरण, उद्योग, भाषा-संस्कृति, भौतिक निर्माण तथा यातायात, जनप्रशासन, सुरक्षा लगायतका क्षेत्रहरुमा अनुसन्धान तथा विकासका लागि संवन्धित क्षेत्रका विज्ञहरुको सुझावलाई आधार बनाई कार्य योजना वनाईने गाउँपालिकाले जानकारी दिएको छ । त्यस्तै नीति तथा कार्यक्रमहरुको समयवद्ध रुपमा कार्यान्वयन गर्न समग्र क्रियाकलाप र प्रक्रिया सहितको विस्तृत कार्य योजना निर्माण गरिने पनि जनाईएको छ ।

समृद्ध मदाने, सुखी मदाने सवैको चाहना रहेको बताउँदै गाउँपालिका अध्यक्ष केसीले यस चाहनालाई साकार पार्न गाँउपालिका परिवार, राजनैतिक दल, समाजसेवी, स्थानिय लगायत सवैको सहयोग, सहकार्य र सहभागिताको महत्वपूर्ण भूमिका रहेको बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker