जिल्ला समाचार

बुटवल राजधानी र लुम्बिनी नामाकरण गर्न गुल्मेलीको माग

टोपलाल अर्याल
गुल्मी, १५ फागुन। गुल्मेलीहरुले ५ नं प्रदेशको राजधानी रुपन्देहिको वुटवल र केन्द्रको नाम लम्बिनी राख्न प्रस्ताव गरेका छन् । नामाकरण र राजधानीको बिषयमा सुझाव संकलन गर्न आएको प्रदेशको टोलीलाई यो बिषयमा बिलम्ब नगर्न गुल्मेली जनप्रतिनिधी, राजनैतिक दल र नागरिक समाजले आग्रह गरेको हो ।

अन्तरक्रियामा प्रदेश सभाको गठन भएको एक वर्ष वितिसक्दा समेत प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउन नसकेको प्रति नागरिक समाजले गुनासो पोखेका थिए । कार्यक्रममा बोल्दै नेकपाका सचिव बुद्धि जिसीले यो बिषय स्थानीय र जिल्लाकोभन्दा जिम्मेवार पदमा केन्द्रिय नेताहरुको भएको बताए । उनले प्रदेश प्रमुखसंगै, बिष्णु पौडेल, प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, बालकृष्ण खाँड, कृष्ण बहादुर महरा, टोप बहादुर रायमाझी जस्ता नेतासंग जोडिएको बिषय भएकाले दुवै बिषयमा छिटो समाधान खोजिनुपर्नेमा जोड दिए ।
इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले राजधानी र नामाकरणका बिषयमा छिटो निकास नआए संघियतानै कम्जोर बन्ने बताए । उनले केन्द्र र नामाकरणको बिषयमा स्पष्ट व्यावस्था र जनादेश भएकाले बिलम्ब नगर्न आग्रह गरे । त्यस्तै मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले नेताहरुको बैचारिक लडाईभन्दा जनताको मनोबैज्ञानिक भावनाको सम्मान हुने गरि केन्द्रको टुङ्गो लगाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति सदस्य चेतन बस्नेतले ठुला नेताहरुले केन्द्र र राजधानीको भन्दा भोट र भविष्य सोचेका कारण समस्या भएको आरोप लगाए ।

सुझाब संकलनका लागि गुल्मी आएका प्रदेश सभा सदस्य बाबुराम गौतमले छलफलमा उठेका सुझाव आफुहरुले जस्ताको त्यस्तै लगेर जाने बताए । कार्यक्रममा गुल्मी जिल्लाका प्रदेश सभा सदस्यहरु कमलराज श्रेष्ठ, खडग केसी, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D