जिल्ला समाचारमुख्य हेडलाईन

बिपन्न परिवारको पीडा : टीन पाउने आसमा थाल थाप्नुपर्ने बाध्यता, प्रक्रियामै अल्झिए स्थानीय तह

टोपलाल अर्याल
गुल्मी, २३ चैत। “खरका छाना मुक्त” यो २०७४ सालका तीन वटै चुनावको प्रमुख एजेण्डा हो । त्यहि भजन गाएरै विपन्न परिवारसंग भोट माग्नेहरु अहिले जनप्रतिनिधी र सांसद समेत भए । पुरा भए विपन्न परिवारका लागि यो गत्तिलै उपहार हो । तर निर्वाचित भएकै थुप्रै समयसम्म पनि कामले गति लिन नसक्दा नागरिकमा निराशा छाएको छ । भोट राख्दा चैत बैशाखसम्म टीनले छाएको घरमुनी बसेको कल्पना गर्नेहरु पानी परेर थाल थाप्नुपर्ने अवस्था आएपछि अन्यौलमा छन् । भने भाषणलाई व्यावहारमा प्रयोग गर्न नसकेका जनप्रतिनिधी पनि टीन खरिद गर्ने प्रक्रियामा अल्मलिएका छन् ।

टीन पाउने प्रतिक्षामा १ इस्मा गाउँपालिका ६ अम्मरपुरका रविलाल कुमाल

बिपन्न परिवारको आसैआसमा बर्ष बित्यो

पानी परे इस्मा गाउँपालिका ६ अम्मरपुरका ७२ बर्षिय रविलाल कुमालको चुलो पानीले जलमग्न हुन्छ । डेढ बर्षदेखि नछाएको घर । जोडले हावा लागे पनि कसरी जोगाउने उनलाई मुस्किल पर्छ । रविलाल यो बर्ष जसोतसो घर छाउने योजनामा थिए । संयोग गएको स्थानीय तहको चुनावमा नेताहरुले खरको छाना बिस्थापनलाई प्रमुख नारा बनाए । चुनाव प्रचारका लागि कुमाल बस्तीमा पुगेका सवै नेताका आश्वासन उनले पनि पाए । चुनावमा गएर भोट पनि राखे । त्यसपछिको प्रतिनिधी र प्रदेश सभा चुनावमा पनि उनले घर छाइदिने आश्वासननै पाए । तर अहिले उनको आश निराशामा परिणत बन्न थालेको छ । ‘बर्खा लाग्न थाल्यो, भर्खरैको पानीले घरभित्र पसिसक्नु छैन्,’रविलालले भने,‘टीन पाइने आसमा खर पनि काटिएन, घर पनि छाइएन् ।’ पानी परे सोहि स्थानकी रामकली कुमाललाई पनि भएको अन्नपात कता थन्क्याउने भन्ने चिन्ताले पिरोल्छ । ‘नेताले घर नछाउनुस टीनका पाता घरमै ल्याइदिन्छौ भने आसैआसमा एक बर्ष बित्न थाले,’रामकलीले भनिन,‘नाम टिपेर गएको पनि थुप्रो भए ।’ सानो घर झुपडी उनले प्रत्येक बर्ष जेनतेन छाउँदै आएकी थिइन् । तर बिपन्न परिवारले अहिलेसम्म न टीन न खरले घर छाउन पाएका छन् ।

आश्वासन नदिएको भए जेनतेन घर छाउँथ्यौ

टीन पाउने प्रतिक्षामा २ इस्मा गाउँपालिका ६ की रामकली कुमाल

पटक–पटक आश्वासन पाएकाले विश्वासमा बसेकाले अहिले धोका हुने देखिएको मालिका गाउँपालिका ५ छापका बोम बहादुर विकले बताए । ‘दुई पटकको चुनावमा आस देखाए, नत्र क्रृणधन गरेर छाउँथ्यौ,’उनले भने,‘अहिले पानी परे थाल थाप्छौ ।’ मालिका गाउँपालिका ६ अर्जैकै बालकुमारी विक अचेल आकाश हेरेर ओछ्यान लगाउँछिन् । उनलाई पनि स्थानीय तहको चुनावमा घरघरमै नेता आएर टीनले घर छाइदिन्छौ भन्दा अहिले टीने घरमै बस्छु भन्ने थियो । तर अर्को बर्खा लाग्दा समेत कुनै सुरसार नदेखेपछि बालकुमारी अन्यौलमा छन् । मदाने गाउँपालिका ३ सिर्सेनीकी ७३ बर्षिया पुतली विक पनि पानी पानी आए छिमेकीकोमा ओत लाग्न पुग्छिन् । सडकको कारण घर समेत जोखिममा परेकोकाले उनलाई तलबाट पहिरोको र घर छाउन नपाएकाले माथीबाट पानीको डर छ । नेताले न सन्धीखर्च–ढोरपाटन सडकको जोखिममा परेका दलित समुदायलाई व्यावस्थापन गरे न टीन दिए ।

प्रक्रियामा अल्झिए स्थानीय तह र जनप्रतिनिधी

इस्मा गाउँपालिकाले ‘जनतालाई हाम्रो भर : विपन्नलाइ सुरक्षित घर’ अभियान अन्तरगत यस बर्ष चार सय घरमा खरका छाना विस्थापित गर्न एक करोड विनियोजन गरेको छ । भने धुर्कोट गाउँपालिकाले पनि यो बर्ष खरका छाना बिस्थान गर्ने कार्यक्रमका लागि एक करोड पचास लाख बिनियोजन गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । मदाने गाउँपालिका र मालिका गाउँपालिकाले पनि जनता आवास कार्यक्रम अन्तरगत खरका छाना बिस्थापन गर्न एक÷एक करोड गाउँसभाबाट बिनियोजन गरेका छन् । रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका लगायतका अरु स्थानीय तहहरुले यो बर्ष मात्रै २० लाखदेखि डेढ करोडसम्म बजेट बिनियोजन गरेका छन् । तर सवै स्थानीय तहहरुले प्रक्रियामै लामो समय खर्चेकाले विपन्न परिवारलाई समयमै राहत दिन सकिराखेका छैनन् । तथ्याङ्क संकलन गरेर टेण्डर प्रक्रियामा रहेकाले केहि समयमै चुनावी प्रतिबद्धता पुरा गरिने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टका अनुसार टीन खरिदका लागि टेण्डर आब्हान गरेपनि एक जनाले मात्रै ओवर रेटमा टेण्डर हालेकाले पुनः टेण्डर खोलिएको बताए ।

उपभोक्ता समिति मार्फत टीन बिवतरणको माग

स्थानीय तहहरुले टेण्डर मार्फत सवै बिपन्न परिवारलाई एउटै गुणस्तर र रंगका टीन वितरण गर्ने योजनामा छन । स्थानीय र केहि वडाअध्यक्षहरुले भने उपभोक्ता समिति मार्फत टीन बितरण गर्न माग गर्दै आएका छन् । ‘वडाअध्यक्षहरुले पहिले देखिनै उपभोक्ता समिति मार्फत टीन बितरणको माग गरेका हौ,’इस्मा गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष गनु प्रसाद अधिकारीले भने,‘टेण्डर प्रक्रियामै गाउँपालिका अल्झियो,‘केहि परिवारले आफै छाउन थाले ।’ मालिका गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलका अनुसार टेण्डर प्रक्रिया कै कारण अझै केहि समय टीन बाँडन सक्ने अवस्था छैन । ‘टेण्डर कसैले नहालेका कारण फेरी रि–टेण्डर ग¥यौ, उपभोक्ता समितिबाट काम गर्न पनि गाह्रो छ,’उनले भने,‘छलफलमै छौ कुनै न कुनै निकास निकाल्छौ ।’ मदाने गाउँपालिका वडा ६ का वडाअध्यक्ष तोकम कुुवंरले पनि गाउँपालिकामा बैठक बसिरहेकाले टेण्डर नपरे उपभोक्ता समिति मार्फत भएपनि टीन बाँड्ने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D