जिल्ला समाचार

बिद्यालय र खानेपानी योजना उद्घाटन

टोपलाल अर्याल
गुल्मी, २१ माघ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मंगलबार रेसुङ्गा नगरपालिका १० सिमिचौरको भगवति माविको १५ कोठे भवनको उद्घाटन गरे । भुकम्प पुर्निर्माण प्राधिकरणको ९८ लाख ७१ हजार, नगरपालिकाको ३१ लाख, बिद्यालयको १५ लाख र श्रमदान छ लाख २० हजार गरी एक करोड ५० लाख ९१ हजारको लागतका बिद्यालय निर्माण गरिएको वडाध्यक्ष पदम प्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै सिमीचौरकै जोरपानी लिफ्ट खानेपानी योजनाको पनि मन्त्री ज्ञवालीले उद्घाटन गरे । बिद्यालय र खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले जनताका आधारभुत आवश्यकता पुरा गर्ने चरणमा सरकार लागेको बताए । उनले घण्टौ पानी बोक्नुपर्ने बाध्यतामा रहेका सिमिचौरबासीको समस्या समाधान र पक्की स्कुलमा पढ्ने सपना बोकेका बिद्यार्थीहरुको समस्या एकैचौटी पुरा भएकोमा खुसी व्यक्त गरे । खानेपानी तथा सरसफाई विकास कार्यालय गुल्मीको दुई करोड ९२ लाख, नगरपालिकाको ३७ लाख ५० हजार, बिद्युत प्राधिकरणको १८ लाख र जनश्रमदान २७ लाख ५० हजार गरेर चार करोड ३३ लाख सात हजारको लागतका जोरपानी खानेपानी योजना संचालनमा आएको हो ।

यो योजनाबाट चार सय पाँच घर परिवारमा एक घर एक धारा पुराइएको खानेपानी तथा सरसफाई विकास कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले बताए । दुई स्टेप पम्पिङ्ग गरेर खानेपानी योजना संचालन गरिएको छ । बर्षौ कुवा र पधेँराबाट खानेपानी ल्याएर पिउँदै आएका स्थानीय योजना संचालनसंगै खुसी भएका छन् । नगरपालिकाका विभिन्न स्थानमा खानेपानीको संकट रहेको छ । जनताको खानेपानी संकट समाधान गर्न आफुहरु योजनावद्ध रुपमा लागेकाले धेरै स्थानमा खानेपानीको समस्या समाधान भइरहेको मेयर डिल्लीराज भुसालले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D