जिल्ला समाचार

बिजुलीको रकम उठाएर मिटर रिडर सम्पर्क विहिन

हुमाकान्त पोखरेल
गुल्मी, ०३ मंसिर । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीका नागरिकले विद्युत प्राधिकरणअन्तरगत रहने मिटर रिडरले बिजुलीको रकम उठाएर सम्पर्कबिहिन भएको गुनासो गरेका छन् । मंगलबार सिर्सेनीको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितले स्थानीय समेत रहेका मिटर रिडर बाबुराम अर्यालले बिजुलीको बिल आफुहरुसँगबाट उठाएको तर प्राधिकरणमा नबुझाएको गुनासो गरे ।

‘बाबुरामले बिजुलीको बिल र पैसा तत्कालै लगे, तर विद्युत प्राधिकरणमा बुझाएका रहेनछन् ।’ एक स्थानीय युवाले भने, ‘कुन दिन प्राधिकरणले लाईट काटिदिने हो, थाहै छैन । ’ त्यसका साथै बाबुरामले घरमा गएर काट्नुपर्ने बिल बाटोमै बसेर अनुमानको भरमा काटेको समेत स्थानीयले आरोप लगाए । गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोखरेलले रकम उठाउने काम मिटर रिडरको नभएको बताए । गाउँपालिकाको आयोजनामा भएको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई र्काक्रममा गाउँपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवा, सामाजिक गतिविधि तथा भइरहेका विकास निर्माणका काम लगायतको बारेमा प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममै स्थानीयले विद्युतको अनियमतताबारे जोडतोडका साथ उठाएका थिए । अर्का स्थानीय डिलहरी सेनले कतिपय घरमा विजुली नपुगेको, विद्युत कार्यालयले ठिकसँग काम नगरेको, गाउँपालिकाले योजना अनुगमन नगरेको जस्ता गुनासो राखे । त्यसका साथै उनले सिर्सेनी स्वास्थ्य चौकीमा बिजुली बत्तिको अवस्था राम्रो नभएको, विद्यालयमा दरबन्दी सिर्जना नभएको, मोटरबाटो सर्वे गर्दा स्थानीयलाई थाहै नदिएको, सामुदायिक भवन प्रयोगविहिन बनेको, बादरले सताएको लगायतका गुनासा राखे । स्थानीयको गुनासाको गाउँपालिका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारी, वडाध्यक्ष नारायण घर्ती लगायतले जवाफ दिएका थिए ।

प्रशासकिय अधिकृत भण्डारीले विद्युत प्राधिकरणले मात्र विद्युतसम्बन्धी काम गर्ने भएकोले जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा यो बिषय उठाउने बताए । अन्य विकासका कामहरुलाई पनि प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्ने, अनुगमनको पाटोलाई व्यवस्थित बनाउने जस्ता प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकाले जनताको गुनासो तथा प्रतिक्रिया बुझि त्यसैअनुसार कार्यशैलि अपनाउन प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमको पत्रकार हुमाकान्त पोखरेलले सहजिकरण गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D