जिल्ला समाचार

बागलुङ पहिरोमा हराएका मध्ये तीन जनाको शव गुल्मीमा भेटियो

रासस
गुल्मी, १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए ।

बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५÷४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ ।

बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D