जिल्ला समाचार

प्रभावकारी बन्दै सहायता कक्ष, नौ महिनामा झण्डै ४२ लाख बचत

टोपलाल अर्याल
गुल्मी, ७ जेठ । जिल्ला प्रशासन कार्यालय गुल्मीको सहायता कक्षा प्रभावकारी बन्दै गएको छ । गत १ भदौबाट सहायता कक्ष संचालनमा आएको थियो । नौ महिनाको अवधिमा सहायता कक्ष मार्फत भण्डै ४२ लाख रुपैयाँ नागरिकको बचत भएको प्रशासन कार्यालयको तथ्याङ्क रहेको छ । कार्यालयमा विचौलीयाको अन्त्य, कार्यालयबाटै हुलाक टिकटको व्यवस्था, नागरिकताको अभिलेख पठाउने र मगाउने कार्य सहायता कक्षबाटै भइरहेको छ ।

बाहिरी जिल्लाको कुनै पनि अभिलेख झिकाउनु परे नागरिकले थुप्रै हैरानी खेप्थे । फयाक्स मगाएकै करिव ६ देखि १२ सयसम्म व्यावसायीले नागरिकसंग असुल्थे । अहिले त्यो सवै काम नि:शुल्क रुपमा प्रशासनको सहायता कक्षबाटै हुन्छ । भदौ १ देखि बैशाख मसान्तसम्म सहायता कक्षा मार्फत ११ सय ९७ जनाले बाहिरी जिल्लाको अभिलेख मगाएका छन् । न्यूनतम ६ सयका दरले पनि सात लाख १८ हजार दुई सय रुपैयाँ नागरिकको बचत भएको सहायता कक्षका खरिदार चेत नारायण खनालले बताए ।

सहायता कक्षमा अहिले विभिन्न २१ प्रकारका निवेदनका ढाँचा रहेका छन् । अहिलेसम्म चार हजार निवेदन कार्यालयमा पेश भएका छन् । बिचौलियाले बाहिर एउटा निवेदन लेखे बापत पाँच सय लिने गरेका थिए । अहिले त्यो काम सहायता कक्षमा निशुल्क भएको छ । त्यसबाट पनि २० लाख रुपैयाँ नागरिकको बचत भएको खनालले बताए । त्यस्तै राहदानी निवेदन पाँच हजार पाँच सय जनाले पेश गरेका छन् । सर्वसाधरण नागरिकलाई राहादानी फाराम भरेको साढे चार सयदेखि छ सयसम्म व्यावसायीले लिने गरेका थिए । कार्यालयले त्यसलाई व्यवस्थित गरेको छ । अहिले एक जनाको तीन सय रुपैयाँभन्दा बढि लिन पाइदैन् । कागजपत्रसंगै फाराम बापत भुक्तानी गरेको बिलसंगै कार्यालयमा पेश गर्नुपर्ने व्यावस्था गरिएको सुचना अधिकृत लक्ष्मण पाण्डेयले बताए । सरदरमा दुई सय ५० रुपैयाँका दरले पनि नागरिकको १३ लाख ७५ हजार जोगिएको पाण्डेयले बताए ।

हरेक प्रकारका निवेदनमा टाँस गरिने टिकटको मुल्य बजारमा १५ रुपैयाँ पथ्र्यो । तर कार्यालयले टिकट सहायता कक्षबाट १० रुपैयाँमै उपलब्ध गराउने गरेको छ । त्यसबाट पनि ५१ हजार बचत भएको छ । राहादानी फाराम र टिकटको मुल्य व्यावस्थान, सहायत कक्ष मार्फत निशुल्क रुपबाट प्रदान गरिने सेवाबाट नागरिकको ४६ लाख बचत गर्नु सेवाग्राही र कार्यालय दुवैको लागि अत्यन्तै सुखद पक्ष भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सहायता कक्षमा कार्यालयका विभिन्न २१ प्रकारका निवेदनको ढाँचा राखिएको छ । ‘नागरिकसगै विभिन्न बाहानामा चर्को मुल्य असुल्ने बिचौलियाको धन्दा सकिएको छ,’उनले भने,‘ नौ महिनामा धेरै पैसा बचत ग¥यौ, सेवाग्राही र कार्यालय खुसी छौ ।’

जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र सेवा पनि सुरु गरेको छ । बिभिन्न सेवाका लागि कार्यालयमा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उदेश्यले डिजिटल नागरिक वडा पत्र सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । कार्यालयमा आएपछि कुन सेवा कहाँबाट लिने भन्नेमा सेवाग्राहि अन्यौलमा पर्ने गरेका थिए । सोहि समस्याको सहजताको लागि कार्यालयमा डिजिटल नागरिक वडापत्र सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । जसले सेवाग्राहीसंगै प्रशासनको कामलाई छिटो र छरितो बनाउन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । डिजिटल वडापत्रमा शाखाको काम, आवश्यक समय र कागज पत्रको बारेमा समेत जानकारी दिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । डिजिटल नागरिक वडापत्रमा जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रजिअ शाखा सहितका ११ वटा शाखाको कामहरुको बारेमा जानकारी राखिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा १ भदौबाट वाईफाई फ्रि समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यो बर्ष जिल्लाका चार स्थानीय तहमा एकिकृत घुम्ती शिविर सम्पन्न गरेको छ । जिल्लाका कालगण्डकी, चन्द्रकोट, मदाने र मालिका गाउँपालिमा भएका शिविर अत्यन्तै प्रभावकारी भएका छन् । शिविरहरुबाट १७ सय ७९ जना नागरिकले नागरिकता सहितका विभिन्न सेवाहरु घर छेउँमै सेवा पाएका छन् । जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर मार्फत करिव ९० लाख नागरिकको बचत भएको जनाएको छ । सरदर एक जनाको पाँच हजारका दरले १७ सय ८९ जनाबाट ८९ लाख ४५ हजार रुपैयाँ नागरिकको बचत भएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D