अनिल खत्री
१९ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड विच सहुलियतपूर्ण कर्जा सम्बन्धि सम्झौता पत्र (MOU) मा हस्ताक्षर भएको छ । नगरपालिकाले उद्यम गर्न चाहने नागरिकहरुलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाको लागि नेपाल बैंक संग सम्झौता गरेको हो ।

सम्झौता अनुसार नगरपालिकाले व्याज सहुलियतको लागि केहि रकम बैंकमा धरौंटीको रुपमा राख्नेछ भने बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेहरुलाई सहुलियत व्याजदर वा निशुल्क व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । धितो भएसम्म धितोको प्रक्रियालाई प्राथमिकता दिइने तर कसै संग उद्यम गर्न चाहना भएको तर धितो कै समस्याले कर्जा लिन नसक्नेहरुलाई नगरपालिकाले विना धितो समेत कर्जा प्रवाहमा सहयोग गर्ने भएको हो ।
उद्यम गर्न चाहनेहरुको लागि नेपाल सरकारका विभिन्न कार्यक्रम तथा नगरपालिकाको समेत सहयोगमा सहुलियत दरमा ऋण प्रवाह गरिन लागेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २० करोड ऋण रकम प्रवाह गर्ने योजना रहेको र प्रत्येक वडावाट छनौटमा पर्ने इच्छुक व्यक्तिहरुलाई नेपाल बैंक मार्फत ऋण प्रवाह गरिने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
बैंकले निव्र्याजी देखि ३.८८ प्रतिशत सम्म ऋण प्रवाह गर्ने र सो ऋणको वाँकी व्याज भुक्तानी नेपाल सरकार तथा मुसिकोट नगरपालिकाले गर्ने गरि सम्झौता गरिएको हो । बैंकले उद्यम गर्न चाहेको प्रकृति अनुसार प्रतिव्यक्ती १५ लाख वढि सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सक्ने र उद्यमीको लागि दिइने कर्जामा कुनैपनि सेवाशुल्क नलाग्ने नेपाल बैंक लिमिटेड वामीटक्सार शाखाका प्रमुख राजु अर्यालले जानकारी दिए ।
सम्झौतामा नगरपालिकाको तर्फवाट मेयर सोमनाथ सापकोटा र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटा सहित उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल लगाएत कृषि तथा पशुशाखाका प्रमुखहरु, नेपाल बैंकको तर्फवाट लुम्बिनी प्रदेश प्रमुख शेर्पा सहित वामीटक्सार, शान्तिपुर लगाएतका शाखाका शाखा प्रमुखहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।