जिल्ला समाचार

नेपाली कांग्रेस गुल्मीका सँस्थापक सभापती तथा पूर्वसांसद ज्ञवालीको निधन

गुल्मी, फागुन ०६ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको मङ्गलबार निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उहाँका निधन भएको हो। ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित हुनुहुन्थ्यो।

दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो। विसं २०४८ को आम चुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो। ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो।

पूर्व सांसद ज्ञवालीको निधनमा नेपाली कंग्रेस गुल्मीले शोक व्यक्त गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले पूर्व सांसद ज्ञवालीको निधनको खबरले स्तब्ध बनाएको बताउनुभएको छ। ज्ञवालीको निधनमा ७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने निर्णय समेत भएको उल्लेख गर्नुभयो।

साथै सात दिनसम्म पार्टीका कुनै पनि कार्यक्रमहरु नगर्ने, तेह्र दिनसम्म पार्टी कार्यालय बिपि स्मृति भवन तम्घासमा शोक पुस्तिका राख्ने, नेपाली काँग्रेस गुल्मी र मातहतका सबै कार्य समिति एवं भातृ सङ्गठनका कार्यालयहरुमा सात दिनसम्म आधा झण्डा झुकाउने उहाँले बताउनुभयो।

काङ्ग्रेस पार्टीका पालिका स्तरिय कार्यालयहरुमा पाँचौं दिन शोक सभा गर्ने निर्णय समेत भएको सभापति श्रेष्ठले बताउनुभयो। स्वर्गीय ज्ञवालीको जन्म वि.सं. २००१ साल कात्तिक १ गते गुल्मीको मानकोटमा भएको थियो। आत्मबोध माध्यमिक विद्यालय गुल्मीका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका ज्ञवाली सादा जीवन उच्च विचारका अनुयायी हुनुन्थ्यो।

प्रजातन्त्र प्राप्तीको लागि निरङ्कुश शासन विरुद्धको लडाईमा २०४२ साल फागुनमा प्रहरी हिरासतमा रहँनुभएको थियो। वि.सं. २०४८ सालमा तत्कालिन गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी भई आफ्नो संसदीय कार्यकालमा मानवअधिकार तथा परराष्ट्र समितिका सभापति समेत रहनु भएको थियो।

उहाँ पञ्चायती शासन व्यवस्थाको विरोध तथा लोकतन्त्रको पक्षमा निरन्तर लाग्नु भएको थियो। प्रतिबन्धित अवस्थामा समेत नेपाली काँग्रेसको सङ्गठन विस्तार लगायतका महत्वपूर्ण कार्यहरुमा उहाँको ठुलो योगदान रहेको छ। नेपाली काँग्रेस गुल्मीको साँगठनिक विकासका लागि लामो समय देखि क्रियाशिल रहदै आउनु भएका ज्ञवालीको निधनले गुल्मी काँग्रेस मात्र नभई प्रजातन्त्रलाई निकै ठुलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D